+

साउदीमा हुने ईस्पोर्ट्स नेसन्स कप एक वर्ष सर्‍यो

२०८३ भदौ  २ गते १५:२६ २०८३ भदौ २ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउदी अरेबियाको रियादमा आयोजना हुने पहिलो संस्करणको इस्पोर्ट्स नेसन्स कप एक वर्ष पछाडि सरेको छ ।
  • नोभेम्बर २०२६ मा हुने तय भएको उक्त प्रतियोगिता अब नोभेम्बर २०२७ मा आयोजना हुने भएको छ ।
  • प्रतियोगितामा नेपालबाट मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ र पब्जी मोबाइलतर्फका टोलीले प्रतिस्पर्धा गर्ने तय भएको थियो ।

२ भदौ, काठमाडौं । साउदी अरेबियाको रियादमा आयोजना हुने भनिएको पहिलो संस्करणको इस्पोर्ट्स नेसन्स कप (ईएनसी) एक वर्ष पछाडि सरेको छ । नोभेम्बर २०२६ मा हुने तय भएको प्रतियोगिता अब नोभेम्बर २०२७ मा आयोजना हुने भएको हो ।

यो प्रतियोगितामा नेपालबाट मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी) र पब्जी मोबाइलतर्फ टोलीले प्रतिस्पर्धा गर्ने तय भएको थियो ।

इस्पोर्ट्स फाउन्डेसन (ईएफ) ले क्षेत्रीय अवस्थाको निरन्तर मूल्यांकन तथा सम्बन्धित सरोकारवालासँगको परामर्शपछि प्रतियोगिता सार्ने निर्णय गरेको जनाएको छ । प्रतियोगितामा १०० भन्दा बढी देश तथा क्षेत्रका टोली र सरोकारवालाको सहभागिता रहने भएकाले पर्याप्त स्थायित्व र निश्चितता सुनिश्चित गर्न मिति सारिएको फाउन्डेसनले जनाएको छ ।

ईएफका अनुसार प्रतियोगिता सारिए पनि ईएनसीप्रतिको आफ्नो प्रतिबद्धता परिवर्तन भएको छैन । राष्ट्रिय टोलीका साझेदार, खेल प्रकाशक, खेलाडी तथा समर्थकलाई प्रतियोगिता उपयुक्त वातावरणमा विश्वस्तरीय रूपमा आयोजना गर्नका लागि समय थपिएको फाउन्डेसनको भनाइ छ ।

ईएनसीका लागि यसअघि घोषणा गरिएका राष्ट्रिय टोली साझेदारलाई उपलब्ध गराइने विकास कोषसम्बन्धी प्रतिबद्धता भने यथावत् रहनेछ । फाउन्डेसनले राष्ट्रिय इस्पोर्ट्स संरचना विकास, खेल प्रकाशक तथा राष्ट्रिय टोली साझेदारसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

इस्पोर्ट्स फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत राल्फ राइखर्टले प्रतियोगिता सार्ने निर्णय सहज नभएको बताए । उनले राष्ट्रिय टोली साझेदार, प्रकाशक, खेलाडी र विश्वभरका समुदायबाट प्रतियोगिताप्रति ठूलो उत्साह देखिएकाले त्यसको अपेक्षाअनुसार सही परिस्थितिमा पहिलो संस्करण आयोजना गर्नुपर्ने बताएका छन् ।

ईएनसीमा विश्वका विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गराउँदै प्रतिस्पर्धा गराउने योजना छ । प्रतियोगिताले राष्ट्रिय इस्पोर्ट्सको विकास, खेलाडीका लागि नयाँ अवसर तथा देशको प्रतिनिधित्वमार्फत समर्थकसँग नयाँ प्रकारको सम्बन्ध निर्माण गर्ने लक्ष्य लिएको छ ।

ईस्पोर्ट्स नेसन्स कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय