News Summary
Generated by OK AI. Editorially reviewed.- सम्पत्ति छानबिन आयोगसम्बन्धी विवादमा अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन पेस गरेका छन् ।
- अधिवक्ता सिलवालले मुद्दा संवैधानिक इजलासमा पठाउने प्रधानन्यायाधीशको प्रशासनिक निर्णय विरुद्ध रिट निवेदन दर्ता गराएका हुन् ।
- उनले संवैधानिक इजलास गठन गर्दा वरिष्ठता वा गोला प्रक्रिया अपनाउनुपर्ने मागसमेत गरेका छन् ।
२ भदौ, काठमाडौं । सम्पत्ति छानबिन आयोगसँग जोडिएका विवादसँग सम्बन्धित विषयमा सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन पेस भएका छन् ।
अधिवक्ता डा. प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग विरुद्धका रिट निवेदनहरू संवैधानिक इजलासमा पठाउने सर्वोच्च अदालत प्रशासन र प्रधानन्यायाधीशको प्रशासनिक निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् ।
गत असारमा सर्वोच्च अदालतको संयुक्त इजलासले नै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पठाउन आदेश गरेकोमा त्यसविपरीत अदालत प्रशासनले मुद्दालाई संवैधानिक इजलासमा पठाउनु गलत भएको उनको जिकिर हो । उनी पनि सम्पत्ति छानबिन आयोग विरुद्धको रिट निवेदक मध्येका एक हुन् ।
अधिवक्ता सिलवालले वरिष्ठता वा गोला प्रक्रियाका आधारमा संवैधानिक इजलास गठन गर्नुपर्ने माग सहित अर्को रिट निवेदन समेत पेस गरेका छन् । केही सातायता प्रधानन्यायाधीश डा. मनोज शर्माले आफूखुसी संवैधानिक इजलासमा रहने चार न्यायाधीश चयन गरेको भन्दै उनले वरिष्ठता वा गोला प्रक्रियाबाट मात्रै संवैधानिक इजलास गठन गर्न माग गरेका हुन् ।
अधिवक्ता सिलवालले आफूले पेस गरेका निवेदनहरू अदालत प्रशासनले यत्तिकै थाँती राखेको बताए ।
उनले दर्ता नहुने भए दुवै निवेदनहरू दरपिठ (दर्ता गर्न अस्विकार गर्ने आदेश) गर्न अनुरोध गर्दा पनि स्वीकार नभएको बताए ।
प्रतिक्रिया 4