+
+
Shares

प्रश्नपत्र लिक प्रकरण : ७ जनाविरुद्ध मुद्दा, पक्राउ परेका पनि २ हजार तिरेर छुटे

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा साइबर ब्यूरो र सीआईबीको अनुसन्धानपछि सात जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
  • पक्राउ परेका संदिप सिंह, अतुल कुमार मिश्र र अब्दुल सानी हाकिमी काठमाडौं जिल्ला अदालतको आदेशपछि जनही २ हजार धरौटीमा रिहा भएका छन्।
  • ८ साउनमा परीक्षा सुरु हुनु अगावै ह्वाट्स एप समूहमार्फत बिहेबिहार विषयको प्रश्नपत्र आउट भएको प्रहरीले बताएको छ।

३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा सात जनाविरुद्ध मुद्दा चलाइएको छ ।

साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा सात जनाविरुद्ध मुद्दा चलेको हो ।

प्रतिवादी हुनेहरूमा केएमसी कलेज बागबजार र हिमालय कलेज कोटेश्वरमा व्यवस्थापन संकायतर्फ फाइनान्स पढाउने ३३ वर्षीय संदिप सिंह, रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र, बारा घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिमी, बाराकै ३० वर्षीय ऋषिकेश प्रसाद यादव, पर्साकी २५ वर्षीया खुश्बु गिरी, पर्साकै २५ वर्षीय देवनाथ महतो, पर्साकै २७ वर्षीया रन्जु कुमारी गिरी छन् ।

उनीहरूमध्ये पक्राउ परेका संदीप सिंह, अतलु कुमार र अब्दुल सानी धरौटीमा रिहा भएका हुन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनीहरूले जनही धरौटी बुझाएर रिहा भएको सीआईबीका एसएसपी अनुपम शमशेर राणाले बताए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले पक्राउ परेकाहरूलाई जनही २ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । सोही अनुसार उनीहरू मंगलबार रिहा भएका हुन् ।

बाँकी चार प्रतिवादी भने पक्राउ पर्न बाँकी नै थियो । उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो ।

प्रश्नपत्र लिक प्रकरणमा यीबाहेक अन्यको संलग्नता भने अहिलेसम्म नदेखिएको प्रहरीले बताएको छ । ८ साउनमा एमबीएस प्रथम सेमेस्टरको बिहेबिहर विषरको प्रश्नपत्र आउट भएको थियो । परीक्षा सुरु हुनु अगावै ह्वाट्स एपमा गु्रप बनाएर प्रश्नपत्र आउट गरिएको थियो ।

उक्त विषयलाई निकै गम्भीर रुपमा लिएर सीआईबीले अनुसन्धान गरे पनि पक्राउ परेकाहरू भने सामान्य धरौटीमै रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?