३ भदौ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले धर्नामा बसेकाहरूको स्वास्थ्य, खानपान, बसोबास र सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गरेको छ ।
बैंक, लघुवित्त, सहकारी, मिटरब्याज प्रभावित तथा भूमिहीन सुकुमवासीहरूले विभिन्न माग राखीे विगत पाँच दिनदेखि राष्ट्रिय मानवअधिकार आयोगको पुल्चोकस्थित कार्यालयअगाडि सडकपेटीमा धर्ना दिइरहेका छन् ।
यो अवस्थाको राष्ट्रिय मानवअधिकार आयोगले निरन्तर अनुगमन गर्नुका साथै उनीहरूका समस्यालाई नजिकबाट नियालिरहेको जनाएको छ ।
समस्याको समाधानका लागि नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालको तर्फबाट वार्ता टोली गठन भएकोलाई आयोगले सकारात्मक रूपमा लिएको छ ।
लामो समय सडकपेटीमा धर्ना बस्दा धर्नामा बसेका महिला, बालबालिका, अशक्त र जेष्ठ नागरिकहरुको स्वास्थमा समस्याआउन सक्ने भनेर आयोगले सरकारको ध्यानाकर्षण गरेको हो ।
धर्नामा बसेकाहरूको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्नसक्ने हुँदा प्रदर्शनरतहरूको सुरक्षार्थ निजहरूलाई उचित स्थानमा स्थानान्तर गर्न र स्वास्थ्योपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको हो ।
साथै, हरेक समस्याको समाधान वार्ता र संवादबाटै संभव भएकाले दुवै तर्फका वार्ता समितिहरूले वार्तालाई निरन्तरता दिई वार्ताकै टेबलबाट समस्याको समाधान निकाल्न समेत आयोग अनुरोध गरिएको छ ।
प्रतिक्रिया 4