+
+
Shares

३५ लाख ९९ हजारमा नामी भिगो ई–२, ‘फुल एसयूभी’ को रूपमा नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते २२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएडब्लू मोटर्सले ललितपुरको पुल्चोकमा डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई–२’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
  • कम्पनीले भिगो ई–२ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ र भदौ ९ गतेसम्म बुकिङ खुला राखेको छ।
  • कम्पनीका म्यानेजिङ डाइरेक्टर विष्णु कुमार अग्रवालले यो गाडी पारिवारिक प्रयोगका लागि उपयुक्त ‘फुल एसयूभी’ भएको र ४३० किलोमिटर रेन्ज दिने दाबी गरेका छन्।

३ भदौ, काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई–२’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू मोटर्सले आज ललितपुरको पुल्चोकस्थित द प्लाजामा कार्यक्रम आयोजना गरी भिगो ई–२ सार्वजनिक गरेको हो ।

कम्पनीका म्यानेजिङ डाईरेक्टर विष्णु कुमार अग्रवालले भिगो ई–२ लाई कम्प्याक्ट कारभन्दा माथि र पारिवारिक प्रयोगका लागि उपयुक्त हुने गरी ‘फुल एसयूभी’ को रूपमा बजारमा ल्याइएको बताए । यसको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । उक्त मुल्यमा आगामी भदौ ९ गतेदेखि हुन गइरहेको नाडा अटो शोसम्ममा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा एमडी अग्रवालले नयाँ बजेटमार्फत सरकारले ड्युटी संरचनामा हेरफेर गरेपनि कम्पनीले त्यसको लाभ सिधै ग्राहकलाई पुर्‍याउने उद्देश्यले ‘विशेष मूल्य’ निर्धारण गरेको बताए ।

‘हाम्रो टोलीबीच ड्युटी हेरफेरबाट आएको भिन्नतालाई कम्पनीको नाफामा राख्ने कि ग्राहकलाई हस्तान्तरण गर्ने भन्ने छलफल भएको थियो । तर हाम्रा मूल्य मान्यता अनुसार हामीले सधैँ ग्राहकलाई नै प्राथमिकता दियौँ र विशेष मूल्यमा यो गाडी बजारमा ल्याएका हौं,’ अग्रवालले भने ।

नामी भिगो ई–टु ले नेपालको चुनौतीपूर्ण भूगोलमा आफ्नो सक्षमता प्रमाणित गरिसकेको अग्रवालले दाबी गरे । मनाङ, मुस्ताङ, सोलुखुम्बु र शुक्लाफाँटा जस्ता विकट क्षेत्रमा यो गाडी पुगिसकेको जानकारी दिँदै उनले एक ग्राहकले २ वर्षको छोटो अवधिमै ८० हजार किलोमिटरभन्दा बढी गाडी चलाएर यसको मजबुती र विश्वसनीयता पुष्टि गरेको उदाहरण प्रस्तुत गरे ।

अध्यक्ष अग्रवालका अनुसार नेपाली अटोमोबाइल बजारमा अहिले ठूलो परिवर्तन आइरहेको छ । केही वर्षअघिसम्म ह्याचब्याक गाडीहरू लोकप्रिय रहे पनि अहिले ग्राहकको आकर्षण एसयूभी तर्फ बढेको छ । ‘जसरी पहिले पेट्रोल गाडीमा ह्याचब्याकबाट एसयूभीमा शिफ्ट भयो, अब ईभी सेग्मेन्टमा पनि सोही परिवर्तन देखिँदैछ,’ उनले भने, ‘नामी भिगो इ–टु ले नेपालको ईभी ट्रान्सफर्मेसनमा नेतृत्वदायी भूमिका खेल्नेमा हामी विश्वस्त छौँ ।’

सन् १९६४ मा विराटनगरको एउटा सानो वर्कसपबाट सुरु भएको एमएडब्लुको यात्रा अहिले नेपालको सबैभन्दा ठुलो अटोमोबाइल समूह बन्न सफल भएको छ । डोङ्फेङ नामी अहिले नेपालमा दोस्रो ठुलो चिनियाँ इभी आयातकर्ता ब्रान्ड बनेको छ, जसका देशभर २,००० भन्दा बढी सन्तुष्ट ग्राहक छन् ।

विश्वभर ब्याट्रीको अभाव र उच्च मागका कारण गाडी आपूर्तिमा केही समस्या रहे पनि नेपालमा ईभीको प्रयोग ८५ प्रतिशत पुगिसकेको अग्रवालले जानकारी दिए । हाल नामी भिगोका लागि ४५ दिनभन्दा बढीको बुकिङ रहेको र दशैँसम्म माग अझै बढ्ने देखिएकाले इच्छुक ग्राहकलाई बेलैमा बुकिङ गर्न उनले आग्रह समेत गरे ।

कार्यक्रममा डोङ्फेङ मोटर्सका क्षेत्रीय प्रबन्धक मिस नाओमी लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, इन्फ्लुएन्सर र मिडियाकर्मीहरूको उपस्थिति रहेको थियो ।

ई–२ का विशेषताहरू :

नामी भिगोको डिजाइनमा कम्पनीले ‘रुबिक्स क्युब’ अवधारणा प्रयोग गरेको छ । अगाडिदेखि पछाडिसम्म गाडीमा ज्यामितीय डिजाइन प्रयोग गरिएको छ । यसमा त्रिकोणीय क्रिस्टल टावर टेललाइट, जियोमेट्रिक डिजाइनका रियरभ्यु मिरर, सेमी–हिडन डोर ह्यान्डल तथा विशेष डिजाइनको ह्विल प्रयोग गरिएको छ ।

भिगो ई–२ मा ९५ किलोवाटको इलेक्ट्रिक मोटर, ५२.३ किलोवाट आवरको ब्याट्री र ४३० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले शहरी सडकसँगै उकालो–ओरालो र लामो दूरीको यात्रालाई ध्यानमा राखेर भिगोको पावरट्रेन विकास गरिएको जनाएको छ । विद्युतीय मोटर भएकाले तत्काल टर्क उपलब्ध हुने र त्यसले गाडीको एक्सेलेरेसनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

भिगोको प्रमुख आकर्षणमध्ये यसको फास्ट चार्जिङ क्षमता पनि हो । यसले ३सी फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने र उपयुक्त डीसी फास्ट चार्जरमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १८ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । मनाङ, मुस्ताङ, शुक्लाफाँटा, कालिञ्चोक, सोलुखुम्बु लगायतका चुनौतीपूर्ण गन्तव्यहरूमा पनि यो गाडी पुगिसकेको छ । जसले गर्दा उक्त गाडीले लामो दूरीमा यात्रा गर्ने विद्युतीय गाडी प्रयोगकर्ताका लागि छोटो समयमा ब्याट्रीमा पर्याप्त ऊर्जा थप्न सकिने सुविधा उपयोगी हुने कम्पनीको दाबी छ । १८५–१९० एमएमको ग्राउण्ड क्लियरेन्सले गर्दा जुनसुकै कच्ची बाटोमा पनि यसलाई सहज अगाडि बढाउन सकिन्छ ।

भिगो ई–२ को इन्टेरियरलाई पनि कम्पनीले प्रिमियम अनुभव दिने गरी तयार गरेको छ । यसमा १२.८ इन्चको सेन्ट्रल टचस्क्रिन तथा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । केबिनमा आरामदायी सिट, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जिङ तथा मल्टिमिडिया सुविधाहरू उपलब्ध छन् । एम्बियन्ट लाइटिङलाई म्युजिकसँग सिंक गर्न सकिने सुविधा पनि भिगोमा दिइएको छ ।

भिगोमा अगाडिका सिटहरू इलेक्ट्रिक एडजस्टमेन्ट तथा भेन्टिलेसन सुविधासहित उपलब्ध हुने विवरण सार्वजनिक गरिएको छ । यसले लामो यात्रामा चालक तथा यात्रुको आरामलाई प्राथमिकता दिएको देखिन्छ ।

भिगोको बाहिरी डिजाइन यस गाडीको अर्को प्रमुख विशेषता हो । सामान्य ह्याचब्याक वा क्रसओभरभन्दा फरक देखिने गरी कम्पनीले यसको बडी डिजाइन गरेको छ । अगाडिको भागमा आधुनिक हेडलाइट डिजाइन, छेउमा सेमी–रिसेस्ड डोर ह्यान्डल तथा पछाडितर्फ विशेष किसिमको टेललाइट डिजाइन दिइएको छ । कम्पनीले यसलाई ‘रुबिक्स क्युब’ डिजाइन अवधारणामा आधारित रहेको बताएको छ ।

भिगोमा एबीएस, ईबीडी, र्ट्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल–स्टार्ट असिस्ट, रियर पार्किङ सेन्सर तथा रियर क्यामेरा जस्ता सुरक्षा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?