News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको कम्युनिस्ट आन्दोलनमा वामपन्थी मूल्यभन्दा पद, गुट र पहुँच हावी हुँदा राजनीतिक चरित्र खिइँदै गएको लेखमा औँल्याइएको छ।
- लेखले जबजको वास्तविक परीक्षा चुनाव जित्नुभन्दा जनताको पक्षमा राज्य न्यायपूर्ण ढङ्गले चलाउनु र भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्नेमाथि जोड दिएको छ।
- आगामी वामपन्थी राजनीतिले व्यक्ति होइन संस्था निर्माण, आन्तरिक लोकतन्त्र, आत्मसमीक्षा र जनमुखी शासनलाई आधार बनाउनुपर्ने निष्कर्ष निकालिएको छ।
नेपालको कम्युनिस्ट आन्दोलन लामो संघर्ष, त्याग र बलिदानको इतिहासमा अडिएको छ। तर, इतिहासको गौरव वर्तमानको प्रमाणपत्र बन्न सक्दैन। हिजो परिवर्तनका लागि लडेका कारण आजको नेतृत्व स्वतः परिवर्तनकारी हुन्छ भन्ने मान्यता अब सान्दर्भिक छैन।
आजको मुख्य प्रश्न हो— कम्युनिस्ट पार्टीको नेतृत्व गर्नेहरू स्वयं कति कम्युनिस्ट छन् ? जनताको जीवन बदल्ने राजनीति उनीहरूको व्यवहारमा कति झल्किन्छ ? अनि जबज (जनताको बहुदलीय जनवाद) भाषण सजाउने शब्द मात्रै हो कि शासन सञ्चालनको व्यावहारिक दर्शन ? यसको इमानदार उत्तर खोज्दा नेपालको कम्युनिस्ट राजनीतिभित्रको असहज सत्य उजागर हुन्छ।
वामपन्थी विचार कमजोर भएको होइन, त्यसलाई व्यवहारमा उतार्ने राजनीतिक चरित्र भने खिइँदै गएको छ। वामपन्थी चरित्र र मूल्यको कसी वामपन्थी हुनु भनेको दाह्री–जुँगा, रातो झण्डा, मार्क्स–लेनिनका उद्धरण वा मञ्चमा क्रान्तिकारी शब्द बोल्नु मात्र होइन।
वामपन्थी हुनुको वास्तविक अर्थ हो— सत्ता र स्रोतको न्यायपूर्ण वितरण गर्नु, श्रमको सम्मान र अवसरको समानता सुनिश्चित गर्नु, सार्वजनिक संस्थाको सुदृढीकरण र भ्रष्टाचार विरुद्ध कठोर बन्नु, कमजोर नागरिकको पक्षमा राज्यको शक्ति प्रयोग गर्नु। जसको राजनीति जनताको पसिनाबाट टाढिंदै जान्छ र बिचौलियाको नजिक पुग्छ, उसको पार्टीको नाम जतिसुकै कम्युनिस्ट भए पनि चरित्रमाथि प्रश्न उठ्छ।
आजको ठूलो चुनौती नै कम्युनिस्ट मूल्य र राजनीतिक अवसरवाद बीच दूरी घट्दै जानु हो। सत्ता, साधन र जबजको व्यावहारिक परीक्षा जब पार्टीभित्र विचारभन्दा पद, सिद्धान्तभन्दा समीकरण, सङ्गठनभन्दा गुट र जनताभन्दा बिचौलियाको पहुँच निर्णायक हुन्छ; त्यहाँ वामपन्थी धार अल्पमतमा पर्छ।
यस्तो अवस्थामा समस्या व्यक्तिको चरित्रमा मात्र सीमित नरहेर समग्र राजनीतिक संस्कारमै पुग्छ। नेतृत्वको मूल्याङ्कन उसले दिने भाषणबाट होइन, उसले नियन्त्रण गर्ने स्रोत र निर्माण गर्ने संस्थाबाट हुनुपर्छ। यदि नेता सत्तामा पुगेर राज्य संयन्त्रलाई निजी सम्बन्ध, नातागोता, पहुँच र आर्थिक स्वार्थको अखडा बनाउँछ भने त्यो वामपन्थी शासन हुन सक्दैन।
निर्णय प्रक्रियामा नीति र आवश्यकताको साटो पहुँचले प्राथमिकता पाउँछ भने त्यो जबजको अभ्यास होइन। जबजको वास्तविक परीक्षा चुनाव जित्नु मात्र होइन; चुनाव जितेपछि राज्यलाई जनताको पक्षमा कति न्यायपूर्ण ढङ्गले चलाइन्छ भन्नेमा हुन्छ। आन्दोलनमा वामपन्थी देखिन र प्रतिपक्षमा हुँदा सरकारका कमजोरी गन्न सजिलो छ।
तर, सत्तामा पुगेपछि आफ्नै मान्छे, समर्थक, गुट र स्वार्थमाथि पनि कानूनको समान डण्डा चलाउन सक्नु नै वास्तविक वामपन्थीको परीक्षण हो। स्थानीय तहदेखि संघीय सरकारसम्म नयाँ राजनीतिक संस्कार आवश्यक छ। हामीले नेतृत्व गरेका कारण राज्य हाम्रो होइन, हामीले नेतृत्व गरेका कारण राज्य अझ बढी जनताको हुनुपर्छ।
नारा र भाषण होइन, परिणाममुखी राजनीति आमनागरिकले ठूला क्रान्तिकारी भाषणभन्दा सस्तो र गुणस्तरीय शिक्षा, नाराभन्दा रोजगारी, भाषणभन्दा अस्पताल र घोषणाभन्दा निष्पक्ष सेवा खोजेका छन्। नेता कति घण्टा पार्टी कार्यालयमा बसे, कुन ओहोदाका हुन् भन्नेभन्दा आफ्ना छोराछोरीले देशमै भविष्य देख्न पाए कि पाएनन् भन्ने चिन्ता जनतालाई छ। त्यसैले अबको वामपन्थी राजनीति जनतालाई के भनियो भन्दा पनि जनताले के पाए भन्ने प्रश्नबाट मापन हुनुपर्छ।
बिचौलियाकरण र नैतिक सङ्कट राजनीति जनताको प्रतिनिधित्व गर्ने माध्यम हुनुपर्नेमा यदि यो निजी आर्थिक स्वार्थको भर्याङ बन्छ भने यसले विचारलाई खोक्रो बनाउँछ। बिचौलियाले पार्टीलाई चन्दा दिन वा नेतासँग फोटो खिच्न सक्छ, तर उसले विचारको प्रतिनिधित्व गर्दैन। विडम्बना तब हुन्छ, जब बिचौलियाको आर्थिक शक्तिले राजनीतिक निर्णयहरू प्रभावित हुन थाल्छन्।
पैसाले पार्टीको ढोका खोल्न सक्छ, तर विचारको ढोका खोल्न पाउनुहुँदैन। कम्युनिस्ट आन्दोलनको नैतिक सङ्कट त्यतिबेला शुरु हुन्छ, जब जनताको प्रतिनिधि र आर्थिक स्वार्थको प्रतिनिधि बीच सीमा धमिलिन्छ। नेतृत्वको वरिपरि नीतिमार्ग भन्दा पहुँचकर्ता, कार्यकर्ताभन्दा कारोबारी र विचारकभन्दा व्यवस्थापक हावी हुन थालेपछि पार्टीको कार्यालय मात्र बाँकी रहन्छ। आन्दोलनको आत्मा हराउँछ।
आन्तरिक लोकतन्त्र र आत्मसमीक्षाको आवश्यकता वामपन्थी धारले आफ्नो भविष्य सुरक्षित गर्न अरूलाई दोष दिएर पुग्दैन, आफूभित्रै कठोर प्रश्नहरू सोध्नुपर्छ:
के सङ्गठनभित्र विचारको स्वतन्त्र बहस छ ?,
के नेतृत्व परिवर्तनलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया मानिन्छ ?,
के असहमति राख्ने कार्यकर्तालाई असल नियत राखिन्छ ?,
के योग्यता र योगदानभन्दा निकटता महत्त्वपूर्ण भएको छ ?,
के नेतृत्वको आलोचना गर्नेलाई अनुशासनहीन र प्रशंसा गर्नेलाई योग्य ठान्ने संस्कार बसेको छ ?
यदि यी प्रश्नको उत्तर असहज छ भने समस्या बाहिर होइन, घरभित्रै छ।
वास्तविक वामपन्थी नेतृत्वसँग आफ्ना सुविधामाथि प्रश्न गर्न सक्ने नैतिक साहस हुनुपर्छ। जनतालाई मितव्ययिताको पाठ पढाउने नेता आफैं विलासितामा रमाउँछ र पारदर्शिताको भाषण गर्ने नेतृत्वले आफ्नै आर्थिक–राजनीतिक सम्बन्ध पारदर्शी राख्दैन भने विचारको विश्वसनीयता समाप्त हुन्छ।
भविष्यको बाटो व्यक्ति होइन, संस्था निर्माण आगामी वामपन्थी राजनीति ‘ठूला नेता’ उत्पादन गर्नेभन्दा ‘ठूला संस्था’ निर्माण गर्ने दिशामा लक्षित हुनुपर्छ; जहाँ नेता बदलिंदा नीति नबदलियोस्, व्यक्तिको प्रभावभन्दा विधिको प्रभाव ठूलो होस्, स्थानीय सरकारमा भ्रष्टाचारको ठाउँ नहोस् र जनप्रतिनिधि पाँच वर्षपछि जनतासामु हिसाब दिन तयार होस्।
कम्युनिस्ट आन्दोलनलाई जोगाउन निम्न कुरामा आधारित चरित्र निर्माण अनिवार्य छ— सरकार चलाउँदा अब्बल र जनमुखी, प्रतिपक्षमा हुँदा जिम्मेवार र पहरेदार, आन्दोलनमा हुँदा अनुशासित र सङ्गठित।
पूर्ण लोकतान्त्रिक निष्कर्ष वामपन्थी हुनुको कुनै प्रमाणपत्र होइन, यो दैनिक व्यवहारबाट प्रमाणित गर्ने राजनीतिक चरित्र हो। जब पार्टीले श्रमको सम्मान गर्छ, राज्यको स्रोतलाई निजी सम्पत्ति बन्न दिंदैन, अवसरहरू आवश्यकताका आधारमा वितरण गर्छ, भ्रष्टाचारमा आफ्नैलाई पनि उन्मुक्ति दिंदैन, आलोचनालाई सुधारको अवसर मान्छ र नेतृत्वलाई जिम्मेवारीका रूपमा बुझ्छ; त्यतिबेला मात्र जबज कागजबाट व्यवहारमा प्रवेश गर्छ।
त्यस दिन नागरिकले छुट्टै घोषणा सुन्नुपर्ने छैन, उनीहरू आफैं भन्नेछन्— ‘कम्युनिस्ट हुनु भनेको भाषण गर्नु होइन, शासन गर्न जान्नु रहेछ।’ नेपालको कम्युनिस्ट आन्दोलनको आगामी अध्याय रातो झण्डा कति ठूलो छ भन्ने प्रश्नबाट होइन, त्यस झण्डामुनि उभिएको नेतृत्वको चरित्र कति सफा, जनमुखी र जवाफदेही छ भन्ने कुराबाट तय हुनेछ।
वामपन्थी धारको भविष्य पद जोगाएर होइन मूल्य जोगाएर, गुट बढाएर होइन जनता जोडेर र बिचौलियाको पैसा गनेर होइन श्रमिकको पसिना बुझेर मात्र निर्माण गर्न सकिन्छ। जनताको जीवनमा परिवर्तन ल्याउन नसक्ने क्रान्तिकारी भाषण इतिहासको फुटनोट मात्र बन्न सक्छ, तर जनताको जीवन बदल्ने इमानदार शासन नै कुनै पनि विचारधाराको सबैभन्दा बलियो प्रमाणपत्र हो।
प्रतिक्रिया 4