+
+
Shares

प्रदीप अधिकारीसँग जोडिएका नवीनराज बस्नेतको पनि सम्पत्ति छानबिन सुरु

नवीन बस्नेतका हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धानका लागि सिफारिस गरिएको थियो । अहिले यही विषयमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियारले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा दायर गरेको छ ।
  • ठेकेदार नवीनराज बस्नेतविरुद्ध अख्तियारले मुद्दा नदिई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सिफारिस गरेपछि विभागले अनुसन्धान सुरु गरेको छ ।
  • विभागले बस्नेत, परिवार र साझेदारको नाममा काठमाडौं उपत्यकामा ठूलो मात्रामा जग्गा, कम्पनी र सम्पत्तिको स्रोतबारे अध्ययन गरिरहेको छ ।

४ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गर्‍यो ।

भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनबमोजिम बिगो, जरिबाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भयो । अधिकारीसँगै नाम जोडिएर आएका ठेकेदार नवीनराज बस्नेतविरुद्ध भने अख्तियारले मुद्दा दर्ता गरेन ।

अख्तियार सम्बद्ध स्रोतका अनुसार उनका हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धानका लागि सिफारिस गरिएको थियो । अहिले यही विषयमा बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।

विभाग स्रोतका अनुसार बस्नेतसँग सम्बन्धित कागजातहरू मगाउने, संकलन गर्ने काम भइरहेको छ । ‘हामीले अनुसन्धान सुरु गरेका छौं । सम्पत्तिबारेका कागजातहरू उपलब्ध गराइदिन विभिन्न निकायमा भनेका छौं । सबै विवरण आएपछि विस्तृत अनुसन्धान हुन्छ,’ विभाग स्रोतले भन्यो ।

अहिले बस्नेत, उनको परिवार तथा उनीसँग जोडिएका साझेदारहरूको सम्पत्ति विवरणबारे विभागले अध्ययन गरिरहेको छ । यस क्रममा काठमाडौं उपत्यकामा ठूलो मात्रामा जग्गा भेटिएको विभाग स्रोतको दाबी छ ।

सामान्य आर्थिक परिवारका बस्नेतको अहिले आर्थिक अवस्था राम्रो मानिन्छ । उनी तथा परिवारको नाममा सान्दर्भिक निर्माण सेवा प्रालि, निलडेभिड इन्टरनेसनल युनिसेक्स सलोन, क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालि, ड्रिमटाउन डेभलपर्स प्रालि, क्षमादेवी इन्टेरियर, क्षमादेवी इन्टरनेसनल प्रालि जस्ता कम्पनी छन् ।

केही सम्पत्ति परिवारका सदस्यका नाममा र केही बस्नेत थरकै केही साझेदारका नाममा रहेको र तिनीहरूको सम्पत्ति स्रोतबारे अध्ययन भइरहेको विभाग स्रोतले बतायो ।

जग्गा पनि ठूलो मात्रामा पाइएको विभागको दाबी छ । ती जग्गाहरू बस्नेतको नाममा मात्रै नभएर परिवार, आफन्तको नाममा समेत राखेको आशंका गर्दै विभागले छानबिन सुरु गरेको हो ।

ड्रिम टाउन डेभलपर्सका साझेदारसँग मिलेर भक्तपुरको दुवाकोटमा मात्रै ७२ रोपनी जग्गा खरिद गरी प्लानिङ गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको एक अधिकारीले बताए ।

सिनामंगल, दुवाकोट, जोरपाटी, कोटेश्वर, ठिमी, बालकोट जस्ता ठाउँमा ठूलो मात्रामा जग्गा विभिन्न व्यक्तिको नाममा रहेको देखिएको र त्यसको स्रोत खोज्ने काम भइरहेको ती अधिकारीले बताए ।

‘बस्नेत आफ्नै नाममा भन्दा उनका साझेदार, नातेदार लगायतका नाममा जग्गाहरू देखिन्छ । सम्पत्तिको स्रोत पुष्टि नभएको अवस्थामा सबै जना अनुसन्धानको दायरामा आउँछन्,’ ती अधिकारीले अनलाइनखबरसँग भने ।

यसअघि एकै पटक दीपक भट्टसहित २६ जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको अहिले पनि ठूला प्रकृतिका यस्ता घटनामा अनुसन्धान गरिरहेको विभागले बताएको छ ।

यसअघि अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याएको कसुरमा क्यानका तत्कालीन डीजी प्रदीप अधिकारी सहितका व्यक्तिमाथि परिसर काठमाडौंले अनुसन्धान गरेको थियो । त्यो घटनामा बस्नेतको समेत कनेक्सन देखिए पनि थप बुझ्ने भन्दै मुद्दा दर्ता भएको थिएन ।

सोझो कनेक्सन देखिएर मुद्दा दर्ता नहुनेहरूमा ठेकेदार नवीनराज बस्नेत, जेनजी अभियन्ता दाबी गर्ने पटके कसुरदार अर्जुन शाही, पत्रकार प्रमोद सेढाईं, भारतीय तान्त्रिक गुरु भनिने जगदम्बे गुरु (सरया किन्नेरा), प्रदीप अधिकारीसँग पाँच लाख बुझ्ने रवि सिंघल, एक बैंककी कर्मचारी जेनु थापा, अधिकारीको अन्डरमा रहेर काम गर्ने क्यानकै कर्मचारी चाँदमाला श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको छैन ।

‘कोही कसैको हकमा प्रस्तुत मुद्दामा संलग्नता रहे/भएको तथ्य प्रमाणसहित खुल्न आएको बखत मुलुकी अपराध संहिताको दफा ३५ बमोजिम छुट्टै अनुसन्धान प्रतिवेदन पेस गरिने’ भनिएको थियो ।

बस्नेतले तीन वर्षअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको ट्याक्सी वे र एप्रोनको ठेक्का लिई काम गरेका थिए । यो ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीले पाएको थियो । बस्नेत त्यतिबेला क्षमादेवीमा आबद्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?