News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारबाट कुनै राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारको कुनै आग्रह–पूर्वाग्रह नरहेको र कानुनले दिएको अधिकार सदुपयोग गर्ने बताए ।
- लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्तमान नेतृत्व अघिल्ला सरकारको पालामा नियुक्त भएको र सरकारबाट दबाब नहुने बताए ।
४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनैपनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह–पूर्वाग्रह नराख्ने स्पष्ट पारे ।
उनले प्रचलित कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै सुशासन प्रवर्द्धन गर्ने कार्यमा सरकार दृढ रहेको बताए ।
‘म सत्तारूढ दलको सभापतिको हैसियतले स्पष्ट भन्न चाहन्छु, सरकारको कुनै आग्रहपूर्वाग्रह छैन । कानुनले दिएको अधिकारको सदुपयोग गर्दै सुशासन कायम गर्ने काममा सरकारबाट कुनै किसिमको राजनीतिक हस्तक्षेप हुने छैन,’ उनले भने ।
बैठकमा सभापति लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्तमान नेतृत्व अघिल्ला सरकारहरूको पालामा नियुक्त भएको स्मरण गराए ।
वर्तमान सरकार गठन भएपछि अख्तियारको नेतृत्वमा कोही पनि नयाँ नियुक्त नभएको र उनीहरू पूर्ववर्ती सरकारहरूको सिफारिस र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेरै आएको बताए ।
‘अख्तियारको वर्तमान नेतृत्व सरकार गठन भएपछि नियुक्त भएको होइन । पूर्ववर्ती सरकारहरूले संवैधानिक प्रक्रिया, सिफारिस र संसदीय सुनुवाइका आधारमा उहाँहरू नियुक्त हुनुभएको हो,’ उनले भने, ‘त्यसैले आयोगले आफ्नो संवैधानिक जिम्मेवारी स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्न सरकारबाट कुनै दबाब वा हस्तक्षेप हुँदैन । मेरो उपस्थितिले आयोग र माननीयज्यूहरूलाई आफ्ना कामकारबाही अघि बढाउन थप सहज हुन्छ भने त्यसमा म खुशी नै हुनेछु ।’
प्रतिक्रिया 4