४ भदौ, काठमाडौं । इलाका प्रहरी कार्यालय सिमरा, बाराका इन्चार्ज प्रहरी नायब उपरीक्षक(डीएसपी) दिलीप क्षेत्रीको जिम्मेवारी खोसिएको छ ।
क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा अर्का डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ । भट्ट यसअघि प्रधान कार्यालयमै कार्यरत अधिकृत हुन् ।
प्रहरी प्रधान कार्यालयले सिमराका डीएसपी क्षेत्री सहित इन्सपेक्टर प्रकाश थापालाई पनि जिम्मेवारीबाट हटाएको छ ।
तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर आक्रोशित जितपुर–सिमरा उपमहानगरपालिका स्थानीयबासीले आन्दोलित भएका थिए । स्थानीयबासीले प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै बुधबारदेखिको आन्दोलन गरिहेका थिए ।
गरिमाको खोजीमा इलाका प्रहरी कार्यालयले गम्भीर लापरबाही गरेको स्थानीयको आरोप छ । गरिमा हराएको बारेमा उनको बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको भए पनि खोजीमा गम्भीरता नदेखाएको उनीहरूको आरोप छ ।
स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए । सोही क्रममा बिहीबार त्यहाँका सडकहरूमा आवत–जावत ठप्प पारिएको थियो । यस्तै, उपमहानगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालय पनि बन्द गरिएको थियो ।
यही कारण प्रहरी प्रधान कार्यालय कार्यालयले क्षेत्रीलाई केन्द्रमा तानेको हो । यता, गरिमा हत्याको विरोधमा बिहीबार काठमाडौंमा समेत प्रदर्शन भएको थियो ।
प्रतिक्रिया 4