News Summary
Generated by OK AI. Editorially reviewed.- कान्समा जुरी च्वाइस विधामा पुरस्कृत फिल्म ‘तिनीहरू’ लैंगिक अल्पसंख्यकको मात्र कथा नभई आमा र छोरीको सम्बन्धको कथा भएको निर्माता अनुप पौडेलले बताएका छन्।
- अनुपले पिरती नामकी किन्नर समुदायकी महिलाले समुदाय, छोरी र चाहेको जीवनबीच संघर्ष गर्ने कथालाई फिल्मको केन्द्रमा राखिएको बताएका छन्।
- अविनाशविक्रम शाह निर्देशित यो फिल्म नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको हो।
काठमाडौं । कान्स फिल्म फेस्टिभलमा पुरस्कृत फिल्म ‘तिनीहरू’ लैंगिक अल्पसंख्यकको कथामा मात्र आधारित नरहेको यसका निर्माताले बताएका छन् । प्रवर्धन सामग्रीमा एलजीबीटीआईक्यू समुदायका पात्र मात्र देखिएपनि, त्यो उनीहरूकै मात्र कथा नरहेको निर्माताको भनाइ छ ।
निर्माता अनुप पौडेलले भने, ‘यो फिल्म किन्नर समुदायभित्र रहेका पात्रको कथा हो, तर तेस्रोलिंगी पात्रहरू धेरै भएको फिल्म भनेर बुझ्यौं भने फिल्मको कथा र अर्थ अलि साँघुरो भइदिन्छ ।’
उनले अघि भने, ‘केन्द्रमा पिरती छिन्, जो किन्नर समुदायकी एक महिला हुन् । उनी आफ्नो समुदाय, आफ्नी छोरी र आफूले चाहेको जीवनबीच संघर्ष गरिरहेकी छिन् ।’
तेस्रो लिंगीको मात्र कथा हो भनेर अर्थ लगाए अरु पात्र, संघर्ष र जीवन ओझेलमा पर्ने उनको भनाइ छ ।
‘हो, किन्नर समुदायको हुनु, अथवा लैंगिक अल्पसंख्यक समुदायको हुनु, पिरतीको पहिचानको एउटा ठूलो पाटो हो । तर हामीले पिरती, हाम्रा बाँकी पात्र र कलाकारको अनुभव र जीवनलाई त्यतिमै सीमित राख्न खोज्यौं भने हाम्रो फिल्मले भन्न खोजेको कुरा नै हराउँछ,’ अनुप अगाडि थप्छन्, ‘मूलतः हाम्रो फिल्म एउटी आमा र छोरीको सम्बन्धको कथा हो । एउटी आमाले आफ्नी हराएकी छोरीलाई खोज्न के गर्छिन्, कहाँ–कहाँसम्म पुग्न सक्छिन् भन्ने कथा हो ।’
यो फिल्म वास्तविक अर्थमा परिवारको कथा भएको उनी बताउँछन् । फिल्मले नाता र सम्बन्ध केलाउने र समाजले बनाएका सीमाहरू प्रेम र मातृत्वको कुरा गर्ने उनले प्रस्ट पारेका छन् ।
आमाको भावना, सम्बन्ध र संघर्ष कुनै एउटा लैंगिक समुदायमा मात्र सीमित नहुनेमा सबैलाई प्रस्ट हुन उनको आग्रह छ ।
‘किन्नर समुदाय फिल्मको अत्यन्त महत्वपूर्ण हिस्सा हो, तर कथा त्यतिमै सीमित छैन,’ उनी प्रस्ट पार्दै भन्छन्, ‘हाम्रा मुख्य पात्रहरू उक्त समुदायबाट हुनुहुन्छ, तर फिल्ममा अन्य समुदाय र पृष्ठभूमिका कलाकारहरू पनि प्रशस्त हुनुहुन्छ ।’
कान्सको अन सर्टेन रिगार्ड विधामा प्रतिस्पर्धा गरेर जुरी च्वाइस विधामा पुरस्कृत भएको यो फिल्मलाई अविनाशविक्रम शाहले निर्देशन गरेका हुन् । अविनाशको अघिल्लो छोटो फिल्म ‘लोरी’ पनि कान्समा पुरस्कृत भएको थियो ।
फिल्ममा पुष्पा थिङ लामा, गौरी मल्ल, माओत्से गुरुङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ । यो फिल्म नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।
फिल्मको निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल छन् ।
चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् । अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माताआदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।
प्रतिक्रिया 4