+
+
Shares

राष्ट्रिय सभा अध्यक्षसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सेवा सञ्चालनबारे कुराकानी

राजदूत साइमनले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १६:५२

८ भदौ, काठमाडौं ।  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गरेका छन् ।

राजदूत साइमनले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशको सम्बन्ध, आपसी हित, सहकार्य र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सेवा सञ्चालन सम्बन्धी निर्णय कार्यान्वयनका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए ।

साथै, नेपाल र अस्ट्रेलियाबीचको लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ र मजबुत हुने विश्वास व्यक्त गरे ।

कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र अस्ट्रेलियाबीच सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रिय स्तरमा कुनै असमझदारीका विषय नरहेको बताए । उनले गत वर्ष भएको व्यापार तथा लगानीसम्बन्धी सम्झौताले दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ गति दिने विश्वास पनि व्यक्त गरे ।

संघीय संसदले नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह स्थापना गरेको जानकारी दिँदै अध्यक्ष दाहालले संसदीय अनुभव आदानप्रदान, नियमित अन्तरक्रिया तथा द्विपक्षीय भ्रमणले दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

अन्तर–व्यवस्थापिका संघ (आईपीयू) का विभिन्न सम्मेलनका क्रममा अस्ट्रेलियाली संसद्का सभामुखसँग भएका भेटघाटले संसदीय सम्बन्ध विस्तारमा थप सहयोग पुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि संसदीय कूटनीतिमार्फत् दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउनु पर्ने उल्लेख गरे ।

उनले जनस्तरमा विकसित भएको सम्बन्ध नेपाल–अस्ट्रेलिया सम्बन्धको महत्वपूर्ण आधार रहेको बताउँदै उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य बनेको उल्लेख गरे ।

यस्तै, हजारौँ नेपाली विद्यार्थी अष्ट्रेलियामा उच्च शिक्षा हासिल गरिरहेको तथा ठूलो संख्यामा नेपालीले त्यहाँ रोजगारी र विभिन्न पेसामा आबद्ध भई दुई देशका जनताबीचको सम्बन्धलाई थप नजिक बनाएको उनले स्मरण गरेका थिए ।

भेटमा राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो नेपाल बसाइँमा दुई देशबीचको सम्बन्धलाई अझ निकट र बलियो बनाउन कोशिस गरिरहने बताए ।

दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै जनस्तरमा पनि बलियो सम्बन्ध रहेको राजदूत साइमनले बताए । उनले अहिले ६० हजारभन्दा बढी नेपाली विद्यार्थी अस्ट्रेलियामा रहेको उल्लेख गर्दै समग्रमा दुई लाख बढी नेपाली रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?