+
+
Shares

नेकपाको विवादले विश्वासको मत रोकिन्न, सबै सांसदले दिन्छन् : शालिकराम जम्कट्टेल

‘दलबाट निर्वाचित उहाँहरूको काम सरकार बनाउने, मन्त्री बनाउने र आफू पनि मन्त्री बन्ने हो,’ जम्कट्टेलले भने, ‘साथीहरूका आफ्ना केही कुराहरू हुन सक्छन्, त्यो अन्यथा भएन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १८:२६

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने तयारी गरिरहँदा सत्तासाझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केही सांसद अनुपस्थित हुने चर्चा भइरहेका बेला नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सबै सांसद प्रदेशसभाको बैठकमा उपस्थित हुने बताएका छन् ।

पत्रकारहरूसँग प्रतिक्रिया दिँदै जम्कट्टेलले बैठकमा अनुपस्थित भनिएका सांसदहरू हेटौंडामै रहेको र पार्टीले बैठकमा उपस्थित हुन निर्देशन दिइसकेको बताए । पार्टीको निर्देशनअनुसार उनीहरू बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने उनको भनाइ छ ।

‘दलबाट निर्वाचित उहाँहरूको काम सरकार बनाउने, मन्त्री बनाउने र आफू पनि मन्त्री बन्ने हो,’ जम्कट्टेलले भने, ‘साथीहरूका आफ्ना केही कुराहरू हुन सक्छन्, त्यो अन्यथा भएन ।’

यसअघि नेकपाका गंगानारायण श्रेष्ठ, उर्मिला लामा, रुकु चौलागाईं, कृष्ण खनाल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाईंलगायत सांसद प्रदेशसभा बैठकमा अनुपस्थित हुने चर्चा चलेको थियो ।

उनीहरू मन्त्रिपरिषद् विस्तार र सरकारमा सहभागी गराउने विषयमा पार्टीभित्र पर्याप्त छलफल नभएको भन्दै असन्तुष्ट रहेको बताइएको थियो । तर, जम्कट्टेलले उनीहरू हेटौंडामै रहेको र पार्टीको निर्देशनअनुसार बैठकमा उपस्थित हुने स्पष्ट पारे ।

यता, मुख्यमन्त्री नियुक्तिविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा परेको रिटका कारण विश्वासको मत लिने प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा पनि दलहरूबीच छलफल भइरहेको जम्कट्टेलले बताए ।

अदालतले रिटमा कारण देखाउ आदेश जारी गर्दै १० भदौमा छलफलका लागि सरकार र रिट निवेदक पक्षलाई बोलाएको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा कानुनी छलफल गरेर दलहरूबीच सहमति कायम गरिने उनको भनाइ छ ।

‘अदालतमा मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा छलफलका लागि बोलाइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने कानुनी छलफल पनि गरौं, दलहरूबीच सहमति गरेर जाऔं भन्ने कुरा भएको छ,’ जम्कट्टेलले भने, ‘सहमतिअनुसार हामी अगाडि बढ्छौं र थापाले विश्वासको मत पनि लिनुहुन्छ ।’

यसैबीच, प्रदेशसभा बैठक सञ्चालनको विषयमा सभामुख अप्सरा चापागाईंले सोमबार सर्वदलीय बैठक बोलाएकी थिइन् । सत्तापक्षीय सांसदहरूको उपस्थितिसँगै अदालतमा विचाराधीन रिट र प्रतिपक्षी दलको असहमतिको विषयमा समेत सर्वदलीय बैठकमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?