८ भदौ, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।
गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप साँझ करिब पौने ६ बजे उकालोमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार चालकसहित १० जना घाइते छन् । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
जिपमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी अवस्थीले जानकारी दिए । विभिन्न अस्पतालमा पुगेर घाइतेहरूको विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।
प्रतिक्रिया 4