८ भदौ, स्याङ्जा । स्याङ्जामा भएको जिप दुर्घटनाका दुई जना मृतकको पहिचान खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गल्याङ नगरपालिका–८ की करिब २५ वर्षीया निशा पचभैया र गल्याङ नगरपालिका–९ का करिब ६० वर्षीय यमबहादुर बिक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा १७ जना घाइते भएको डीएसपी अवस्थीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये १५ जनाको नगर अस्पताल गल्याङमा उपचार भइरहेको छ । जसमध्ये केही सामान्य अवस्था रहेकाहरू उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
यस्तै, गम्भीर घाइते रहेका दुई जनालाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4