१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीमा घाइते भएकाहरूको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले आवश्यक तयारी थालेको छ। हालसम्म रसुवाबाट कुनै पनि घाइते अस्पतालमा आइपुगेका छैनन् ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि अस्पतालले दुई जना चिकित्सक र एक जना प्यारामेडिकसहित तीन जनाको टोली उद्धार कार्यका लागि पठाएको छ। हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले आवश्यक जनशक्ति परिचालन गरिएको उनले बताए ।
‘मन्त्रालयले डाक्टरहरू पठाइदिन आग्रह गरेपछि हामीले दुई जना डाक्टर र एक जना प्यारामेडिक पठाएका छौँ,’ सेढाईंले भने ।
अस्पतालले विपद्को सम्भावित अवस्थालाई ध्यानमा राख्दै ‘डिजास्टर कोड’ समेत सक्रिय गरेको छ। विपद्का घाइते ठूलो संख्यामा आए तत्काल उपचार व्यवस्थापन गर्न सकियोस् भनेर अस्पतालका स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ ।
अस्पतालले आकस्मिक कक्षमा रहेका बिरामीमध्ये भर्ना गर्नुपर्नेलाई भर्ना गर्ने र डिस्चार्ज गर्न मिल्ने बिरामीलाई डिस्चार्ज गर्ने नियमित प्रक्रिया अघि बढाएको छ। यसबाट आकस्मिक उपचारका लागि थप स्थान व्यवस्थापन गर्ने प्रयास भइरहेको अस्पतालले जनाएको छ ।
डा. सेढाईंका अनुसार विपद्को अवस्थामा एकै पटक करिब १०० जना बिरामी व्यवस्थापन गर्न सक्ने गरी अस्पतालको विपद् व्यवस्थापन योजना रहेको छ । त्यसअनुसार आवश्यक सामग्री तथा अन्य स्रोतसाधन तयारी अवस्थामा राखिएका छन् ।
प्रतिक्रिया 4