News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले विपद्को समयमा सरकारका हरेक प्रयासमा पूर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
- कांग्रेसले भ्रामक सूचना, मिथ्या र अफवाहको पछि नलाग्न र उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा केन्द्रित हुन आफ्ना सदस्यलाई आग्रह गरेको छ।
- कांग्रेसले रसुवा बाढी व्यवस्थापन समन्वय समिति गठन गर्दै ११ भदौका पूर्वनिर्धारित कार्यक्रम एक साताका लागि स्थगित गरेको छ।
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले विपद्को समयमा सरकारले गर्ने प्रयासमा पूर्णसाथ र सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यस्तो प्रतिवद्धता जनाएको हो ।
कांग्रेसले नागरिकको जीवन संकटमा परेको घडीमा सरकार, प्रतिपक्षी राजनीतिक दलहरू, संघ–संस्था, निजी क्षेत्र, नागरिक समुदाय सबैको एकमात्र साझा कर्तव्य उद्धार र राहत भएको बताएको छ ।
‘अतः अन्य कुरा थाति राखेर सम्पूर्ण ध्यान विपद् व्यवस्थापनमा केन्द्रीत गर्न सरकारलाई आग्रह गर्दै यो बैठक विपद्को यो घडीमा सरकारको हरेक प्रयासमा नेपाली कांग्रेस पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछ’ बैठकको निर्णयमा भनिएको छ ।
कांग्रेसले विपद्को अवस्थामा पार्टीका सदस्यहरूलाई भ्रामक सूचना, मिथ्या र अफवाहको पछि नलाग्न, आरोप प्रत्यारोप नगर्न र उद्धार–राहत तथा व्यवस्थापन कार्यमा मात्र लाग्न आग्रह पनि गरेको छ ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं प्रभावित भू–गोलका सदस्यहरू अन्य कार्यक्रममा सहभागी नरहेर वाढीबाट उत्पन्न संकटमा उद्धार, राहत र पुनर्स्थापना कार्यमा सम्पूर्ण रुपले केन्द्रित रहने निर्णय पनि बैठकले गरेको छ ।
कांग्रेसले रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति पनि गठन गरेको छ । केन्द्रीय सदस्य एवं रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा बाढी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरबाट केन्द्रीय कार्यसमितिमा रहेका नेताहरू समितिमा रहेका छन् ।
यस्तै ती जिल्लाबाट प्रतिनिधिसभा रहेका सदस्यहरू, बागमती प्रदेश कार्यसमितिका सोही भूगोलका नेताहरू, सम्बन्धित जिल्लाका पार्टी सभापतिहरू, प्रदेशसभा सदस्यहरू र कांग्रेसबाट निर्वाचित स्थानीय सरकारका प्रमुख–उपप्रमुखहरू पनि समितिमा रहने छन् ।
समितिको सदस्य सचिवमा पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा रहने कांग्रेसले जनाएको छ । समिति अन्तर्गत केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क रहने र कांग्रेसका तर्फबाट हुने सबैखाले सहयोग समितिको समन्वयमा हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकले ११ भदौका लागि निर्धारित महिला उद्यमशीलता सम्मेलन, ग्रीन टेबललगायत पूर्वनिर्धारित कार्यक्रम र पार्टी केन्द्रीय कार्यालयमा हुने छलफलका विचार श्रृङ्खलाहरू एक साताका लागि स्थगित गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया 4