News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि, वन तथा पर्यावरण मन्त्रालयले रसुवा, भोटेकोशी र त्रिशूली तटीय बाढीपीडितका लागि खाद्यान्न र राहत सामग्री तत्काल परिचालन गर्न गैरसरकारी संस्थालाई आह्वान गरेको छ।
- मन्त्रालयले चीनको स्वशासित क्षेत्रबाट सुरु भएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै खाद्य सुरक्षा क्लस्टरका साझेदारलाई उच्च सतर्क रहन निर्देशन दिएको छ।
- सहसचिव जगन्नाथ तिवारीले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक राहत सामग्री परिचालनमा जुट्न सम्पूर्ण साझेदार संस्थालाई विशेष आग्रह गरेका छन्।
१० भदौ, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले रसुवा, भोटेकोशी र त्रिशूली नदी तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि तत्काल खाद्यान्न र राहत सामाग्री परिचालन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई आह्वान गरेको छ ।
मन्त्रालय अन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले सूचना जारी गर्दै खाद्य सुरक्षा क्लस्टरमा आबद्ध सबै साझेदार संस्थालाई यस्तो आग्रह गरेको हो ।
चीनको स्वशासित क्षेत्रबाट सुरु भई आएको बाढीले उक्त क्षेत्रमा ठूलो जनधनको क्षति गरेको उल्लेख गर्दै मन्त्रालयले विपद्को यस चुनौतीपूर्ण घडीमा प्रभावित तथा जोखिममा रहेका नागरिकलाई पर्याप्त खाद्य सामग्री र अन्य अत्यावश्यक सहयोगको पहुँच सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी रहेको जनाएको छ ।
खाद्य सुरक्षा क्लस्टरको नेतृत्वदायी निकायको हैसियतले मन्त्रालयले क्लस्टरका सबै सहअगुवा तथा सदस्यलाई ‘उच्च सतर्क अवस्थामा’ रहन निर्देशन दिएको छ ।
साथै, प्रभावित क्षेत्रमा देखापर्ने खाद्य सुरक्षाका तत्कालीन आवश्यकता सम्बोधन गर्न पूर्ण सहयोग र समन्वयका लागि अपिल गरिएको छ ।
सहसचिव जगन्नाथ तिवारीले विशेषगरी खाद्य तथा अन्य अत्यावश्यक राहत सामाग्री परिचालनमा जुट्न सम्पूर्ण साझेदार संस्थालाई विशेष आग्रह गरेका छन् ।
प्रतिक्रिया 4