News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीले लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेका २५ जनाको उद्धार सरकारले पाँच दिनपछि मात्र शुरू गरेको छ।
- आयोजनामा कार्यरत ६० मध्ये १९ जनाको उद्धार भएको र ४१ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।
- प्रवद्र्धक विजयमान भट्टराईले सरकार र सेनाले कम्पनीलाई उद्धारमा संलग्न हुन नदिँदा ढिलाइ भएको र जीवितै उद्धारको सम्भावना कमजोर हुँदै गएको बताएका छन्।
१४ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण २५ जना सुरुङमा फसिरहेका लाङटाङ जलविद्युत् आयोजनामा सरकारले पाँच दिनपछि बल्ल उद्दारको काम थालेको छ ।
गृह मन्त्रालयका अनुसार सो आयोजनाको सुरुङमा आइतबार साँझ रेकी गरिएको गृह मन्त्रालयले जनाएको छ । सो आयोजना प्रवर्द्धक विजयमान भट्टराईका अनुसार सरकारले एकद्वारबाट नेपाली सेनामार्फत उद्धारको कार्य गरिरहेको भन्दै कम्पनीलाई उद्धारको काम गर्न दिएन ।
न त सरकारले उद्धार गर्ने न कम्पनीलाई अनुमति नै दिने हुँदा पाँच दिन बितेका कारण फसेकाहरूको जीवितै उद्धार चुनौतीपूर्ण बन्दै गएको विज्ञहरू बताउँछन् । आयोजनामा फसेका आफ्ना कर्मचारी तथा श्रमिकहरूको उद्धारका लागि आफुहरूलाई जिम्मा नदिई सरकार आफैंले गर्दा ढिलाई भइरहेको प्रवद्र्धकहरूको बुझाइ छ ।
निज क्षेत्रबाट निर्माणाधिन अवस्थामा रहेको लाङटाङ खोला जलविद्युत् आयोजनामा अझै पनि ४१ जना सम्पर्कविहीन छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का सचिव समेत रहेका कम्पनीका प्रवद्र्धक विजयमान भट्टराईले आयोजनामा कार्यरत ६० जना मध्ये १९ जनाको उद्धार भएको बताए । सम्पर्कविहीन भएकाहरू पावरहाउस, क्याम्प र सुरुङ क्षेत्रमा कार्यरत थिए ।
‘हाम्रो ६० जना हराएका थिए । त्यसमध्ये १९ जना रेस्क्यु भयो, अब ४१ जना बाँकी हुनुहुन्छ,’ उनले भने, ‘पावरहाउसमा पनि थिए, क्याम्पमा पनि थिए, टनेलमा पनि थिए ।’
उद्धारका लागि नेपाली सेना र भारतीय पक्षको संयुक्त टोली परिचालन भएको र आइतबार आयोजनाको सुरुङ क्षेत्रमा खोजी तथा उद्धारको प्रयास गरिएको उनले बताए । उनका अनुसार करिब १२–१५ जनाको उद्धार टोलीले सुरुङभित्र जमेको पानी, माटो तथा लेदो हटाएर खोजी गर्ने प्रयास गरेको थियो ।
तर रात परेपछि उद्धार रोकिएको र सोमबार बिहान ७ बजेदेखि पुनः काम सुरु गर्ने तयारी रहेको उनले बताए । ‘टनेलभित्र पानी र माटोको मात्रा बढी छ । आज आर्मीले त्यहाँको सबै पन्छाउने काम गर्यो । रात पर्न लागेपछि रोकियो । भोलि बिहान ७ बजेदेखि फेरि सुरु गर्छौँ भनिएको छ,’ उनले भने ।
सुरुङभित्र फसेकाहरूको जीवितै उद्धार हुने सम्भावना भने दिन बित्दै जाँदा कमजोर हुँदै गएको उनको भनाइ छ । ‘पाँच दिन नै भइसक्यो । त्यहाँबाट रेस्क्यु गरेर जीवित मान्छे निकाल्न गाह्रो हुन्छ,’ उनले भने, ‘हामीलाई काम गर्न दिएको भए मान्छे बचाउन सकिन्थ्यो’ ।
भट्टराईले उद्धारको सुरुवाती चरणमै आयोजनाका प्रवद्र्धक तथा प्राविधिक जनशक्तिलाई परिचालन गर्न दिएको भए सुरुङभित्र रहेका मानिसलाई बचाउन सकिने दाबी गरे।
उनका अनुसार उद्धारका लागि आयोजना पक्षसँग आवश्यक जनशक्ति र आयोजनाको भौगोलिक अवस्थाबारे प्रत्यक्ष जानकारी थियो । तर सुरक्षाका नाममा आयोजनाका प्रवद्र्धकलाई उद्धार कार्यमा प्रत्यक्ष संलग्न हुन नदिइएको उनको आरोप छ ।
‘टनेलमा हामीलाई काम गर्न दिएको भएदेखि मान्छे बाँच्न सक्थ्यो,’ उनले भने, ‘हामीसँग भएका मान्छेले नै टनेलभित्र कसरी जाने, कहाँबाट जाने भन्ने सबै थाहा थियो । उनीहरूलाई लिएर उद्धार गरिदिएको भए अहिले टनेलभित्रका मान्छेलाई बचाउन सकिन्थ्यो ।’
सरकारले उद्धार गरिएका १९ जनालाई हेलिकप्टरबाट अन्यत्र लगिएको थियो । तर, कम्पनीका अनुसार उनीहरूलाई नै अन्यको उद्धारका लागि खटाउन सकिने थियो ।
ती श्रमिकलाई आयोजनाकै व्यवस्थापनले त्यसअघि सुरक्षित राखेको थियो । उद्धारका नाममा उनीहरूलाई हेलिकप्टरबाट बाहिर लगेपछि आयोजनास्थलमा बाँकी श्रमिकको खोज तथा उद्धारमा थप समस्या भएको कम्पनीको दाबी छ ।
‘सेनालाई दियो, डेभलपरलाई छुनै दिएन’
भट्टराईका अनुसार उद्धारको नेतृत्व नेपाली सेनालाई दिएपछि आयोजना विकासकर्ता पक्षलाई आयोजनास्थलमा प्रत्यक्ष काम गर्न रोक लगाइएको थियो । ‘आर्मीलाई दिइयो । डेभलपरलाई ट्याक्कै छुनै दिएन साइट चाहिँ,’ उनले भने, ‘त्यसपछि हाम्रो केही चलेन ।’
उनका अनुसार आयोजनास्थलमा अहिले आयोजना पक्षका कुनै पनि कर्मचारी छैनन् । करोडौँ/अर्बौँ रुपैयाँ लगानी भएको आयोजना नै बाढी र पहिरोका कारण तहसनहस भएको अवस्थामा उद्धारमा समेत आफ्नो टोलीलाई परिचालन गर्न नदिइएको उनको गुनासो छ ।
उद्धारका लागि हेलिकप्टर र सुरक्षाकर्मी उपलब्ध गराएर आयोजना पक्षलाई नै प्राविधिक तथा स्थानीय ज्ञानका आधारमा उद्धार गर्न दिएको भए प्रभावकारी हुन सक्ने उनको भनाइ छ ।
‘हामीलाई एउटा साइटमा दुई–चार जना आर्मी दिएर, हेलिकप्टर दिएर काम गर्नुस् भनेको भए हामीले सोलुसन निकाल्थ्यौँ,’ उनले भने, ‘सबै त्यहीँका मान्छे थिए । १८–१९ जना मान्छे थिए । उनीहरूले निकाल्थे ।’
सुरुङभित्र अक्सिजनको अवस्था चिन्ताजनक
भट्टराईका अनुसार बाढी–पहिरोपछि आयोजनाका संरचना र विद्युत् आपूर्ति प्रणालीमा क्षति पुगेकाले सुरुङभित्र फसेकाको अवस्थाबारे थप चिन्ता बढेको छ । उनले सुरुङको पोर्टल लेदो तथा पहिरोले पुरिएको अवस्थामा अक्सिजनको आपूर्ति समेत प्रभावित हुने बताए ।
‘अक्सिजन त त्यसले पुरिसक्या छ नि । त्यसको पोर्टल पुरिसक्या छ । अक्सिजन पास हुँदैन,’ उनले भने ।
आयोजनाको विद्युत् प्रणाली नै बन्द भएकाले सुरुङभित्रको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउनसमेत समस्या भएको उनले बताए । सुरुङको केही भाग खुला रहेको अवस्थामा मात्रै बाहिरबाट हावा प्रवेश गर्न सक्ने र मानिस जीवित रहने सम्भावना हुने उनको भनाइ छ ।
‘कतै अलिकति खुला छ भने अलिअलि हावा भएर बाँच्न सक्ने चान्स हुन्छ,’ उनले भने, ‘तर पूरै थुनिएको छ भने गाह्रो हुन्छ । लामो समय भयो, लेदो जमेको छ भने झन् गाह्रो हुन्छ।’ चार दिनसम्म खाना र पानीबिना सुरुङभित्र फसेका व्यक्तिको अवस्था निकै गम्भीर भइसकेको उनको अनुमान छ ।
भट्टराईका अनुसार लाङटाङ खोला मात्रै नभई बाढी प्रभावित अन्य जलविद्युत् आयोजनामा पनि उद्धारको अवस्था उस्तै रहेको छ । उनले स्थानीय भूगोल, आयोजनाको संरचना र सुरुङबारे जानकारी भएका आयोजनाकै जनशक्तिलाई सुरक्षा संयन्त्रसँग समन्वय गरेर तत्काल परिचालन गर्ने व्यवस्था आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4