News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ देखि १४ गतेसम्म चलेको ‘नाडा अटो शो २०२६’ आइतबार २०० बढी स्टलसहित सम्पन्न भएको छ।
- नाडाले चारपांग्रेमा बीवाईडी, दुईपांग्रेमा यामाहा, कमर्सियल चारपांग्रेमा दिगो, अटो कम्पोनेन्टमा मिसेलिन टायर र बैंकतर्फ माछापुच्छ्रे बैंकलाई उत्कृष्ट स्टल घोषणा गरेको छ।
- प्रदर्शनीमा २५ प्यासेन्जर भेहिकल, १७ लाइट कमर्सियल भेहिकल, १३ दुईपांग्रे ब्रान्ड र १५ बैंक तथा वित्तीय संस्था सहभागी भएका थिए।
- अटो शो चलिरहेकै बेला भोटेकोशीको बाढी र पहिरोले जनधनको ठूलो क्षति भएपछि नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पीडाको अनुभूति भएको बताए।
१५ भदौ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा कुल २०० बढी स्टल थिए ।
नाडा अटो शोमा विभिन्न पाँच विधामा उत्कृष्ट स्टलको उपाधि प्रदान गरिएको छ । चारपांग्रे प्यासेन्जर कारतर्फ साइमेक्स इन्क प्रांलिको बीवाईडीले उत्कृष्ट स्टलको उपाधि पाएको छ।
त्यस्तै दुईपांग्रे सवारीसाधनतर्फ एमएडब्लू राइड्स प्रालिको यामाहा, कमर्सियल चारपांग्रेतर्फ एनईभी नेपाल प्रा.लिले बिक्री गर्दै आएको दिगोले उत्कृष्ट स्टलको उपाधि पाएको छ ।
अटो कम्पोनेन्टतर्फ सिप्रदी अटोपार्टस् प्रा.लिले राखेको मिसेलिन टायर र बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो ।
नाडाका अनुसार यस वर्षको प्रदर्शनीमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक तथा वित्तीय संस्था तथा बीमा सेवा प्रदायकको सहभागिता रहेको थियो।
विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थिति रहेको प्रदर्शनीमा नयाँ पुस्ताका ईभी, मोटरसाइकल र स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सामग्रीले समेत उपभोक्ताको ध्यान ताने ।
बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी, डङफेङलगायतका ब्रान्डका नयाँ मोडल शोका आकर्षण बनेका थिए ।
अटो शोमा सवारीसाधन बिक्रीसँगै बैंक तथा वित्तीय संस्थाबीच अटो कर्जामा प्रतिस्पर्धा देखियो । बैंकहरूले उपभोक्तालाई आकर्षित गर्न सस्तो ब्याजदर, सेवा शुल्क तथा ब्याजदरमा लाग्ने प्रिमियममा छुटलगायतका विभिन्न अफर सार्वजनिक गरेका थिए ।
अटो शो सञ्चालन भइरहेकै समयमा भोटेकोशीमा आएको बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति हुन पुग्यो ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिका कारण पीडाको अनुभूति भएको बताए । ‘विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ, तर, हाम्रो संकल्प कमजोर हुनु हुँदैन’ उनले भने ।
प्रतिक्रिया 4