+
+
Shares

बालेनलाई विद्युत् प्राधिकरणका कर्मचारीको पत्र- अब पर्खने समय छैन

प्रधानमन्त्रीलाई भावुक सामुहिक पत्र लेख्दै प्राधिकरणका कर्मचारीले भने- कृपया अहिले नै कदम चाल्नुहोस्, अब पर्खने समय छैन । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले रसुवा बाढीपछि सुरुङमा फसेका सहकर्मी र अन्य आयोजनाका कामदारको उद्धार ढिलाइ भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई छद्म नाममा पत्र लेखेका छन्।
  • उनीहरूले विदेशी उद्धारकर्मीलाई अनुमति र समन्वयमा ढिलाइ भएको भन्दै सबै स्थानमा एकैसाथ उद्धार सञ्चालन गर्न प्रधानमन्त्रीको तत्काल हस्तक्षेप माग गरेका छन्।
  • बाढीले प्राधिकरणका र अन्य आयोजनामा क्षति पुर्‍याउँदै सयौं कर्मचारी सम्पर्कविहीन बनाएको छ, तर सेनाले अहिलेसम्म चिलिमेबाट दुई शव निकालेर उद्धार सीमित गरेको छ।

१५ भदौ, काठमाडौं । नेपाल  विद्युत् प्राधिकरणका कर्मचारीले प्रधानममन्त्री बालेन्द्र शाहलाई विन्तीपत्र लेखेर सरकारले समयमा उद्धार गर्न नसकेका कारण सुरुङमा फसेका आफ्ना सहकर्मी तथा अन्य आयोजनाका धेरै कर्मचारीको ज्यान जोखिममा परेको बताएका छन् ।

आफ्नो परिचय खुलाउँदा सरकारको कोपभाजनमा परिने डरले उनीहरूले छद्म नाममा प्रधानमन्त्रीलाई पत्र लेख्दै सुरुङभित्रका मानिसको जीवन बचाउन हरेक मिनेट महत्त्वपूर्ण रहेको तर सरकारले भने उद्धारमा ढिलाइ गरिरहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

विश्वस्त स्रोतबाट अनलाइनखबरलाई प्राप्त पत्रमा सहयोगका लागि तयार रहेका विदेशी उद्धारकर्मी तथा शुभेच्छुकहरूलाई किन समयमै अनुमति र आवश्यक समन्वय गर्न सकिरहेका छैनौँ ? एउटा स्थानको उद्धार कार्य पूरा भएपछि मात्रै अर्को स्थानमा उद्धार सुरु गर्नुपर्ने अवस्था किन सिर्जना भइरहेको छ ? आवश्यक सबै स्थानमा उद्धार कार्य समानान्तर रूपमा सञ्चालन गर्न किन सकिरहेका छैनौँ ?’ भन्ने प्रश्न गरेका छन् ।

सुरुङको उद्धारमा धेरै ढिला भइसकेको र प्रत्येक क्षण अत्यन्तै महत्त्वपूर्ण बन्दै गएको उनीहरूको भनाइ छ । ‘जारी उद्धार कार्यलाई तत्काल तीव्रता दिन आवश्यक कदम चालिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं,’ प्राधिकरणका कर्मचारीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।

अहिले अत्यन्तै गम्भीर घडी रहेको भन्दै उनीहरूले लामो प्रशासनिक प्रक्रिया वा विस्तृत औपचारिकताका लागि समय नरहेको उल्लेख गरेका छन् । ‘अहिलेको प्राथमिकता केवल जीवन बचाउनु हो । प्रत्येक मिनेटको ढिलाइले कसैको बाँच्ने सम्भावना गुम्न सक्छ,’ प्रधानमन्त्रीलाई लेखिएको सामूहिक पत्रमा उनीहरुले उल्लेख गरेका छन् ।

अनावश्यक प्रशासनिक ढिलासुस्ती हटाउन, सहयोग गर्न इच्छुक र सक्षम राष्ट्रिय–अन्तर्राष्ट्रिय सबै उद्धार टोलीलाई तत्काल अनुमति दिन तथा अत्यावश्यक सबै स्थानमा एकैसाथ आवश्यक स्रोतसाधन परिचालन गर्न प्रधानमन्त्रीको तत्काल हस्तक्षेपका लागि उनीहरूले अनुरोध गरेका छन् ।

‘कृपया अहिले नै कदम चाल्नुहोस् । अब पर्खने समय छैन,’ उनीहरूले लेखेका छन् । रसुवा बाढीका कारण नेपाल विद्युत् प्राधिकरण तथा यसका सहायक कम्पनीका विभिन्न आयोजनामा काम गरिरहेका सयौंको संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् । अपर त्रिशूली ३ ए, अपर त्रिशूली थ्री बी, सरुवागढी, चिलिमे, त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली थ्रीबीलगायत नेपाल विद्युत् प्राधिकरणका आयोजनामा बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

तर, नेपाली सेनाले चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई वटा शव निकाल्नेबाहेक अन्य उद्धार हुन सकेको छैन । रसुवागढी आयोजनाको सुरुङमा प्रवेश गरे पनि भित्र मानिस नभेटिएको भन्दै नेपाली सेनाको टोली फर्केको छ । तर, त्यस दिन पावरहाउस सञ्चालनमा रहेकाले त्यहाँ कम्तीमा पनि तीनजना मानिसहरू काम गरिरहेकोमा सेना त्यहाँ नपुगी फर्किएको विद्युत् प्राधिकरण स्रोतले बतायो ।

विद्युत् प्राधिकरणबाहेकका पनि अपर त्रिशूली–१, लाङटाङ, मैलुङ खोला, रसुवाभोटेकोशी, मिडल त्रिशूलीलगायत आयोजनामा पनि सयौं मानिस सम्पर्कविहीन छन् । तर, उद्धारमा सरकारले ढिलाइ गरिरहेको भन्दै सम्पर्कविहीनका परिवार र सरोकारवालाले आक्रोश व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?