News Summary
Generated by OK AI. Editorially reviewed.- लन्डनको केम्पटन पार्क रेस कोर्समा आइतबार सम्पन्न लन्डन नेपाली मेलामा झण्डै १० हजार सहभागी भए।
- तमुधिं यूकेले नेपालका बाढी पीडितका लागि आर्थिक संकलन सुरु भएको र थप रकम नेपाल पठाउने जनाएको छ।
- १७ औं मेलामा ४२ संघसंस्थाले झाँकी र नृत्य प्रस्तुत गरे, जसमा पासा पुच गुथि यूकेले एम्बासडर कप र एनआरएनए कप जित्यो।
लन्डन । नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ ।
लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए ।
तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र संकलितबाहेक संस्थाले थपेर छिट्टै नेपाल पठाउने जनाएको छ ।
१७ औं नेपाली मेलामा ४२ नेपाली संघसंस्थाले विभिन्न जातजातीका मौलिक कला संस्कृति, भेषभूषा, परम्परा, रहनसहन झल्कने झाँकी प्रस्तुत गरे । तीमध्ये ११ संघसंस्थाले झाँकी प्रतिस्पर्धामा भाग लिए ।
त्यस्तै, २१ संघसंस्थाले नृत्यमा भाग लिए, जसमा १३ संस्था प्रतिस्पर्धी थिए । लाखे, मारुनी, ट्होंटे लगायत मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिले दर्शकको मन जितेको थियो ।
मेलामा खाना तथा अन्य व्यापारिक र च्यारिटीका ७५ स्टल एवं हेल्थ क्याम्प समेत राखिएको थियो ।

मेलामा बोल्दै बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली कला संस्कृति, संस्कार, परम्परा जगेर्नाका लागि तमुधिं यूकेले वर्षेनी मेला आयोजना गरेकोप्रति प्रशंसा गरे । उनले यस खालको प्रयासबाट पुस्तान्तरणमा ठूलो मद्दत पुग्ने पनि बताए ।
कार्यवाहक राजदूत दुवाडीले नेपालमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएकामा दुःख व्यक्त गर्दै पीडितलाई राहत र पुनस्र्थापनामा सघाउन बेलायतवासी सबै नेपालीलाई अपिल गरे ।
विशेष अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सांसद एवं पूर्वउपसभामुख इन्दिरा राना मगरले नेपाली मेला अवलोकनपछि यूकेमा सानो नेपाल रहेको महसुस भएको बताइन् ।
नेपालमा बस्ने नेपालीले बिर्सिसकेको कला संस्कृति र सभ्यतालाई बेलायतका नेपालीले जोगाएको भन्दै रानामगरले धन्यवाद समेत दिइन् ।
तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले सबैप्रति आभार व्यक्त गर्दै मेलाले नेपाली कला, संस्कृति र सामाजिक सद्भाव प्रदर्शन गर्नुका साथै मानवीय सहयोगको अनुपम उदाहरणसमेत प्रस्तुत गरेको बताए ।
उनले नेपालमा विपत्ति पर्दा तमुधिं यूकेका सदस्यले विगतमा देखाएको माया र सद्भावको प्रशंसा गर्दै यसपटक पनि सहयोगको अपेक्षा व्यक्त गरे ।
मेला संयोजक उपाध्यक्ष कमल कोने गुरुङले देश विपत्तिमा परेका बेला मेलामा आएर बाढी पीडितलाई सहयोग गर्ने उत्साह देखाएकामा सबैप्रति आभार व्यक्त गरे ।

झाँकी र नृत्यमा प्रतिष्पर्धा
मेलामा विभिन्न संघसंस्थाले झाँकी र नृत्य प्रतिष्पर्धा गरे । सो क्रममा झाँकी र नृत्यमा उत्कृष्ट प्रदर्शन गर्दै पासा पुच गुथि यूकेले ‘एम्बासडर कप’ र ‘एनआरएनए कप’ दुवै उपाधि जित्न सफल भयो । एम्बासडर कपमा मगर संघ यूके द्वितीय र किरात राई यायोख्खा यूके तृतीय भए ।
यस्तै नृत्य प्रतियोगितातर्फ तनहुँ समाज यूके प्रथम, पासा पुच गुथि यूके द्वितीय तथा किरात राई यायोख्खा यूके तृतीय भए ।
झाँकी प्रतियोगितातर्फ पासा पुच गुथि यूके प्रथम, मगर संघ यूके द्वितीय र बर्नटोक समाज यूके तृतीय भए ।
झांकी र नृत्य प्रतियोगितामा विजेता टिमलाई १५०० पाउण्ड, ट्रफी र सर्टिफिकेटसहित एम्बासडर कप दिइएको थियो भने फष्ट र सेकेन्ड रनरअपले क्रमशः ७ सय र ५ सय पाउण्ड पाए ।
त्यस्तै, एनआरएनए कप विजेताले ५०० पाउण्ड प्राप्त गरेको छ ।
झाँकीतर्फ दीप कोके गुरुङ, ओमप्रसाद गुरुङ, पशुपति राई, सिर्जना सुब्बा र राजु गुरुङ तथा नृत्यतर्फ अभिनेत्रीद्वय रजनी गुरुङ (मंगली) र लक्ष्मी गुरुङ, नृत्यांगना एवं कोरियोग्राफर कविता घर्ती मगर गुरुङ तथा कर्मा पहाडी शेर्पाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । झाँकी तथा नृत्य समन्वय एकेन्द्र गुरुङले गरेका थिए ।
कार्यक्रममा सांसद एवं विश्वविख्यात पर्वतारोही मिङ्मा डेभिड शेर्पा, लन्डनस्थित सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह, विभिन्न काउन्सिलरहरू, कूटनीतिज्ञ, मंगोलियन हार्टका गायक राजु लामा, योगेश्वर अमात्य लगायत अन्तर्राष्ट्रिय मिडियाको उपस्थिति थियो ।
सो अवसरमा पूर्वमेयर नीना गुरुङ, नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेने, पत्रकार डा. दूत पुन तथा ग्रान्डमास्टर तुलसी कुमार गुरुङलाई ‘वर्षको प्रेरणादायी व्यक्ति’ अवार्डबाट सम्मान गरियो ।
तमुधिं यूके महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा विश्वविख्यात पर्वतारोही स्वर्गीय निर्मल पुर्जा र नेपालमा बाढीबाट दिवगंतको स्मृतिमा दुई मिनेट मौनधारण गरिएको थियो ।

प्रतिक्रिया 4