News Summary
Generated by OK AI. Editorially reviewed.- माथिल्लो त्रिशुली थ्री–ए जलविद्युत परियोजनाको सुरुङभित्र १० दिनदेखि फसेका सञ्जय साह र कविर महर्जनलाई नेपाली उद्धारकर्ताले सकुशल उद्धार गरेका छन् ।
- सुरुङभित्र बाट ‘हेलो’ र ‘हजुर’ आवाज सुनेपछि सेनासहितको टोलीले ढुंगा, लेदो र चट्टान हटाउँदै ब्लास्ट गरेर बाटो फराकिलो पारेको थियो ।
- रसुवागढी हाइड्रोपावरमा ९३ जना अझै सम्पर्कविहीन छन्, भने त्रिशूली–३ बी सुरुङमा उद्धारकर्मी ४२६ मिटर भित्र पुगेका छन् ।
१९ भदौ रसुवा–नुवाकोट । ‘हेलो’, ‘हजुर’ दुईवटा सामान्य सम्बोधन हुन् । तर, १० दिनसम्म माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् परियोजनाको सुरुङभित्र हराइरहेका मानिसहरुका लागि ती केवल उच्चारणका शब्द थिएनन् । सुरुङको बाहिरबाट दुई सय मिटर अगाडि बढिरहेका उद्धारकर्ताहरुलाई पनि त्यस्तै भयो, जब भित्रबाट कसैले ‘हेलो’ को जवाफ ‘हजुर’ मा फर्काइदियो ।
‘हजुर’ आवाज सुनिएसँगै उद्धारकर्ताहरुका आँखा अँध्यारोमै रसाए ।
नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी, अनि विद्युत प्राधिकरणको विज्ञ उद्धार टोलीले लाइट बालेर एकअर्कालाई हेरे ।
अनि उद्धारमा हस्याङफस्याङ गर्दै अघि बढ्न खोजे । तर उनीहरूका लागि बाधा बनेको थियो, सुरुङमै अप्ठेरो गरी खसेका ढुंगाका टुक्राहरूसहितको लेदो ।
तत्कालै उनीहरूले सल्लाह गरे– त्यसरी नै ड्रिल गर्ने, जसरी सुरुङको बाहिरी मुख पत्ता लगाउनका लागि ठाउँ ठाउँमा ड्रिल गरिएको थियो । त्यतिले नपुगे ब्लास्ट नै हान्दिने । ठूला खालका चट्टान फुटाउन, अनि मान्छे छिरेर अर्को साइडमा जानका लागि प्वाल फराकिलो पार्न उनीहरूले विस्फोटक पदार्थ र रक ड्रिलिङ मेसिन मगाए ।
तर एउटा खतरा थियो– त्यसरी ब्लास्ट हान्दा कतै सुरुङमा फसेका मध्ये कोही शिकार बन्ने त होइनन् ?

बाढी आएलगत्तै खटिएको नेपाली सेनाको ‘स्पेशल फोर्स‘, कम्ब्याट इन्जिनियर र ‘कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु‘ टोलीले दिएको जानकारी अनुसार उनीहरूले त्यस्तो स्थिति नआओस् भन्नका लागि केही घण्टा यकिन गर्नु परेको थियो ।
यसरी हेलो र हजुरको आवाजले जोडिए पनि उद्धारकर्ता र फसेका मानिसहरू एक आपसमा तुरुन्तै भेट्न पाएनन् । समय धेरै थिएन, विलम्ब गर्दै जाँदा जे पनि हुन सक्थ्यो ।
छेकिरहेका ढुंगाका भागहरू सुरक्षित ब्लास्ट गराएको यकिन गरेपछि अब उनीहरु फेरि एकपल्ट कराए– हेलो ।
फेरि जवाफ आयो, हजुर ।
अब रेस्क्यु टिम अघि बढ्नलाई कुनै बाधा थिएन । सुरुङभित्र सिलिन्डर पठाएर अक्सिजन त दिइरहेकै थिए । ग्याजग्याजे हिलोभित्रै लाइट थप बाल्न थाले । हिलोमा दबिएर उद्धारकर्ता नै नफसुन् भन्ने भय त्यत्तिकै थियो । एउटा डोरी पनि यस्तो बेला ठूलो सहारा बन्न गएको थियो ।
जब सन्जय साह सुरक्षित भेटिए । त्यसपछि उनीहरूले पालैपालो बाहिर निकाल्न उद्धारका सामानहरू एकत्रित पारे । सन्चार सेटबाट बाहिर खबर दिए । शुक्रबार बिहान अनलाइनखबरको टिम त्रिशूली थ्री एको सुरुङनेर पुग्दा नेपाली उद्धारकर्ताहरूसँग संसारलाई सुनाउन लायक चामत्कारिक सफलता अनि आशाको खबर थियो ।
उताबाट फेरि झिनो आवाजमा ‘हेलो’ सुनियो । ती रहेछन्– आयोजनाका सुपरभाइजर कविर महर्जन । केही समय लगत्तै कविर महर्जनको पनि उद्धार सम्भव भयो ।

उद्धारका फ्रन्टलाइनरमध्ये एक नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल गंगा बरालले अनलाइनखबरसँग दिएको जानकारी अनुसार विपद उद्धारकहरु बीच निरन्तर र प्रभावशाली समन्वयबाट यो नतिजा हात लागेको हो । ‘नतिजा आउन केही समय लागे पनि अन्ततः हामी दुई जनाको सकुशल उद्धार गर्न सफल भयौं’ लेफ्टिनेन्ट कर्नेल बरालले भने,’असम्भव मानिएको विपद उद्धारमा नेपालीले गर्न सक्छ र चामत्कारिक सफलता निकाल्न सक्छ भन्ने प्रमाणित गर्यौं ।’
बरालले भने झैं यो खबर चामत्कारिक नहोस् पनि किन ! सुरुङमा फसेकामध्ये ४२ जनाको खोजखबर १० दिनसम्म प्राप्त हुन सकेको थिएन । तर अति जोखिमपूर्ण मात्रै होइन, कतिपयले असम्भवप्रायः ठानेको उद्धारकार्यमा नेपाली उद्धारकर्ताहरूले ठूलो सफलता पाएका थिए । सेनाको इन्जिनियर युनिटमा रहेका केशव ढकाल बाढीको भोलिपल्ट अर्थात् ११ भदौदेखि यहीँ छन् । उनले कठिनभन्दा पनि कठिन मानिएको यो उध्दारले पाएको सफलताका लागि आफ्नो सिंगो टिमलाई जस दिए ।
हामीलाई यी सफलता संसारसामू सुनाउन जति व्यग्रता थियो, स्वयं यी उध्दारकहरू भने बाँकी फसेकाहरूको सुरक्षित उध्दारबाहेक अरु केही नसोची दत्तचित्त देखिन्थे । गृहमन्त्री सुधन गुरुङ यहीँ आएर केही समय बसेका थिए । उध्दार टोलीले निरन्तर काम गरिरहँदा उनी नजिकैको टेन्टमा थिए । २०० मिटरजति भित्रबाट दुईजनाको सफल उध्दारको खबरपछि उनी सुरुङको मुखनेर आएर अक्सिजन पाइप बोकेका थिए ।
उद्धार र टोलीलाई निरन्तर हौसला र प्रोत्साहन तथा बाहिर व्यवस्थापनसँगै चुस्त निर्णयहरूको नतिजा चाहिन्छ । सरकारको माथिल्लो तहमा रहेका जिम्मेवार व्यक्तिहरूले खास काममा समय कम दिएको भनी आलोचना भइरहेको छ । तर गृहमन्त्री गुरुङले भने आफू यसअघिका पात्रहरुभन्दा फरक ढंगले काम गर्न चाहेको सन्देश दिएका छन् ।

भोटेकोशी क्षेत्रबाट सुरु हिमाली सुनामीको १० दिन काट्दासम्म संसारभरिका मिडियाको मुख्य वा सहायक खबरबाट नेपाल तल झरेकै छैन । त्रिशूली थ्री ए लगायत यस क्षेत्रका हिमबाढीग्रस्त जलविद्युत परियोजनाका सुरुङतर्फ यति बेला संसारले सास रोकेर हेरिरहेको छ । विश्वभरका मुख्य मिडियाहरु यही क्षेत्रमा आएर सुखद खबरको प्रतीक्षामा बसेका देखिन्छन् ।
सुरक्षाकर्मीहरूले भने असम्बन्धित पात्रहरूको भिडभाड नहोस् भनी आग्रह गरेका छन् । विपद् प्राधिकरणका पूर्वसीइओ अनिल पोखरेलको भनाइमा, भोटेकोशी र त्रिशुली क्षेत्रमा सिर्जित महासंकट नेपालको मात्रै होइन, सिंगो विश्व अनि शक्तिराष्ट्रहरुको असफलता बन्न गएको छ ।
र ती सम्बन्धित राष्ट्रहरु नेपालको उत्तरी भेगमा आफूसमेत असफल दरिन चाहँदैनथे । त्रिशूली थ्री एको पावरहाउस लगायत मुख्य संरचनाहरू धेरैजसो नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ५ मा पर्छन् । ड्यामचाहिं रसुवाको उत्तरगया गाउँपालिकामा पर्छ ।
सुरुङमा उद्धार गरिएकामध्ये यी पंक्ति लेख्दासम्म एक जनाको भने शव प्राप्त भएको छ । अरु उद्धारकार्य समेत छिटोभन्दा छिटो अघि बढोस् भन्ने विपद प्रतिकार्य संयन्त्रको चाहना छ ।
उद्धारकार्यलाई नेतृत्व गर्नेमध्येका एक सशस्त्र प्रहरीका डीएसपी अमृत थापाले भनेका छन्, ‘हामीले भेट्दा उहाँहरू आँखा खोलेर हेर्न सक्ने अवस्थामा नै हुनुहुन्थ्यो । उहाँहरूले चिच्याएको हामीले सुनेर थप सक्रियताका साथ सजग भएर उद्धारमा खटियौं ।’

त्यहाँ अरू पनि सुरक्षित होलान् भन्ने आशसहित अक्सिजन सिलिन्डर भित्र पसाउने कोशिश भइरहेको सशस्त्रका डीएसपी थापाले भने ।
सुरूङको मुखमा पहाडै आएर खसेकाले त्यसलाई छिचोल्दै उद्धारकहरू प्रवेश गर्नु आफैंमा कठिन छ । तर त्यसलाई समेत उद्धारकहरूले काटेर फालिदिएका छन् ।
‘हाम्रो विशेष योगदान चाहिँ फलाम काट्न, कंक्रिट फाल्न रह्यो । अहिले त्यो सबै पहाड काटेर फालेर भित्र पसिसकेकाले पहिले जस्तो जोखिम छैन,’ डिएसपी थापाले भने, ‘हाम्रो सशस्त्रको टिमले तीन सिफ्टमा ६र६ जनाको दरले रात दिन नभनी काम गर्यो । कमान्डरको काम भने चौबिसै घण्टा हुन्थ्यो । काम सकिएपछि हामी दुई किलोमिटर पर गएर सेनासँग बस्छौं ।’
त्रिशुली थ्री ए को प्रारम्भिक उद्धार सफलतासँगै अरु सुरुङमा समेत उद्धारकर्मीलाई प्रोत्साहन मिलेको छ ।

नुवाकोटको सिम्ले नजिकै निर्माणाधीन त्रिशूली–३ बी को सुरुङमा उद्धारकर्मीहरू ४२६ मिटर भित्र छिर्न सकेका छन् । भोटेकोशीको बाढीका कारण सुरुङ फसेकाहरूको खोजी गर्न उद्धारकर्मी ४२६ मिटर भित्रसम्म पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका ९३ जना भने अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजीकार्यका लागि प्रयास जारी रहे पनि खराब मौसमका कारण कठिन भइरहेको परियोजनाले जानकारी दिएको छ ।
कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार सम्पर्कविहीन हुनेमा नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना र तीनवटा ठेकेदार कम्पनीका ३९ जना छन् ।
चिलिमे जलविद्युतमा पनि सेना सहितको टोली १५० मिटरभन्दा अगाडि प्रवेश गर्ने क्रममा छ । लाङटाङ हाइड्रोको सुरुङभित्र विभिन्न स्थालमा प्वाल छेडेर ८ फिट लम्बाई र ३ फिट चौडाईको बाटो खाल्ने काम सकिएको छ । उद्धारका लागि थप पहल चलिरहेको छ ।
रसुवागढी हाइड्रोमा सेनाको टोली झन्डै ३ सय मिटर भित्र सुरुङमा प्रवेश गरिसकेको छ ।
भिडियो र तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4