News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले एलपी ग्यासको ढुवानी खर्चमा थपिएको १०५ रुपैयाँ ३८ पैसाको वैज्ञानिक आधारमाथि प्रश्न उठाए।
- सेजनको अन्तरक्रियामा उनले भोटेकोशी बाढी र कृष्णभीर पहिरोका कारण आपूर्ति समस्या देखाएर निगमले व्यवसायीलाई पोस्ने काम गरेको आरोप लगाए।
- उनले देशभर करिब १ करोड ७५ लाख ग्यास सिलिन्डर रहेको भन्दै बजार अभाव व्यवसायीले ग्यास लुकाएको वा स्टक राखेको हुनसक्ने शंका व्यक्त गरे।
२० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले खाना पकाउने एलपी ग्यासको ढुवानी खर्चमा गरिएको वृद्धिको वैज्ञानिक आधारमाथि प्रश्न उठाएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा राजधानीमा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृखंलामा परेको प्रभाव र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद भण्डारीले नेपाल आयल निगमले विपद्को बहानामा व्यवसायीहरूलाई पोस्ने काम गरेको आरोप लगाए ।
‘एक बुलेट ग्यासले करिब १२ सय ५० सिलिण्डर बोक्छ । बाटोको अवस्थाका कारण तीनवटा साना गाडीले सोही परिमाण बोक्नुपर्दा पनि ढुवानी खर्चमा यति ठूलो अन्तर कसरी आयो ? १०५ रुपैयाँ ३८ पैसा नै बढाइनुको वैज्ञानिक आधार के हो ?,’ सांसद भण्डारीको प्रश्न छ ।
उनका अनुसार निगमले गत भदौ १६ गते भोटेकोशी बाढी र कृष्णभीर पहिरोका कारण आपूर्ति शृखंलामा समस्या भएको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको थियो ।
तर त्यसको दुई दिनपछि नै साधारण सभाको अवसरमा व्यवसायीहरूलाई प्रतिसिलिण्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च थप गर्ने निर्णय गरिएको भन्दै उनको आपत्ति थियो ।
‘५० लाख सिलिन्डर पुरानै मौज्दात रहेको अवस्थामा प्रतिसिलिन्डर १०५ रुपैयाँ मूल्य बढ्दा करोडौं रुपैयाँको चलखेल भएको देखिन्छ । यस्तो बेलामा नियमनकारी निकाय टुलुटुलु हेरेर बस्न मिल्दैन,’ उनले भनेका छन् ।
पृथ्वी राजमार्ग अवरुद्ध भएका कारण ठूला बुलेट ल्याउन कठिन भएको र साना सवारीसाधन प्रयोग गर्नुपर्दा लागत बढेको तर्क निगमले अघि सारे पनि उक्त वृद्धिको अंक तर्कसंगत नभएको सांसद भण्डारीको भनाइ छ ।
देशभर करिव १ करोड ७५ लाख ग्यास सिलिण्डर रहेको तथ्यांक प्रश्तुत गर्दै उनले बजारमा अभाव देखिनुमा व्यवसायीहरूले ग्यास लुकाएको वा स्टक राखेको हुनसक्ने शंका व्यक्त गरे ।
प्रतिक्रिया 4