२१ भदौ, खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ । बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्ने क्रममा आज साँझ विस्फोटक पदार्थ फेला पारेका हुन् ।
स्थानीयले भेटेको विस्फोटक पदार्थलाई सोमबार बिहान मात्रै निष्कृय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीले जानकारी दिए ।
द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले विस्फोटक पदार्थ राखेको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।
बेवारिसे अवस्थामा भेटिएको विस्फोटक पदार्थ निष्किृय पार्ने समय नभएपछि आसपासका क्षेत्रमा नजान र सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ ।
बेसक्याम्प आसपासमा यसअघि पनि पटक–पटक विस्फोटक पदार्थ फेला पर्ने गरेको थियो । सशस्त्र द्वन्द्वको समयमा सो बेसक्याम्पमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त फौज राखिएको थियो ।
व्यक्तिको जग्गामा राखिएको बेसक्याम्प अन्यत्र सारेपछि स्थानीयले खेतीपातीको काम गर्दा विस्फोटक पदार्थ फेला पार्ने गरेका छन् ।
प्रतिक्रिया 4