+
+
Shares

रसुवा बाढी : जलविद्युत् आयोजनाबाट अझै ९१९ जना सम्पर्कविहीन

उपलब्ध तथ्यांकअनुसार प्रभावित आयोजनामा रहेका ९१९ जना अझै सम्पर्कमा नआएकाले उनीहरूको खोजी र उद्धार अहिले पनि मुख्य चुनौती बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते २०:३७

२१ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन भएकाहरूको खोजी कार्य जारी छ । बाढीबाट रसुवा र नुवाकोटका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

ती आयोजनामा कार्यरतमध्ये अझै ९१९ जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ ।

बाढीबाट प्रभावित १२ आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन छन् । यी आयोजनाको कुल उत्पादन क्षमता ६६९ मेगावाट छ ।

प्रभावित आयोजनामध्ये ११ वटा आयोजनामा मात्रै सम्पर्कविहीन व्यक्तिको विवरण संकलन गरिएको छ ।

सबैभन्दा ठूलो संख्यामा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट मानिस सम्पर्कविहीन छन् । २१६ मेगावाटको यो निर्माणाधीन आयोजनामा बाढी आउनुअघि एक हजार ४३३ जना कार्यरत थिए ।

त्यसमध्ये ८७८ जनाको उद्धार भइसकेको छ भने ५४८ जना सम्पर्कविहीन छन् । बाँकीको अवस्था खोजी भइरहेको छ । सम्पर्कविहीनमध्ये ९ जना कोरियन, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेको विवरण छ ।

आयोजनाको सुरुङ क्षेत्रमा सम्पर्कविहीनको खोजीका लागि नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियाली तथा शेर्पासहितको टोली परिचालन गरिएको छ । ड्रोनमार्फत समेत खोजी गरिएको छ, भने सुरुङभित्रको खोजीलाई तीव्र बनाउने काम भइरहेको इप्पानले जनाएको छ ।

यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना अझै सम्पर्कविहीन छन् । आयोजनाको विद्युत् गृहमा कर्मचारी फसेको हुनसक्ने आशंकामा गरिएको खोजीमा हालसम्म कोही भेटिएका छैनन् । विद्युत् गृहको चार तला र कन्ट्रोल रुमसम्म बाढीको माटो, हिलो र लेदो भरिएको पाइएको छ ।

रसुवागढी आयोजनाबाट सम्पर्कविहीनमध्ये केहीको खोजीका लागि विद्युत् गृहबाहिर पनि स्थल खोजी जारी राखिएको छ ।

सम्पर्कविहीन व्यक्तिका आफन्तको आग्रहमा ट्रेकिङ गाइड तथा शेर्पाको टोलीले समेत बट्टेखोलादेखि टिमुरेसम्मको क्षेत्रमा खोजी गरिरहेको छ ।

रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाबाट पनि ३ जना अझै सम्पर्कविहीन छन् । आयोजनाबाट हराएकामध्ये एक जनाको शव फेला परेको छ, भने दुई चिनियाँसहित तीन जनाको अवस्था अझै अज्ञात रहेको विवरणमा उल्लेख छ ।

यो आयोजनाका पाँच जना भने सुरक्षित स्थानमा पुगिसकेका छन् ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ३९ जना अझै सम्पर्कविहीन छन् । आयोजनाको सुरुङभित्र दुई जनाको शवसहित केही फेला परेको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरे पनि बाँकी व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन । सुरुङभित्रको खोजी कार्य भने सकिएको छ ।

थप मानिसहरू फसेको हुनसक्ने अवस्था नरहेको भन्दै सुरुङभित्रको खोजी कार्य राखिएको हो । फेला परेका दुई शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचानका लागि डीएनए परीक्षण गर्ने तयारी छ ।

यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् । फेवा कन्स्ट्रक्सनमा कार्यरत १४१ जना सम्पर्कविहीन रहेकोमा थप १३ जना सम्पर्कमा आएपछि उक्त कम्पनीबाट सम्पर्कविहीनको संख्या १२८ मा झरेको छ ।

तर, आयोजनासँग सम्बन्धित सबै पक्ष जोड्दा माथिल्लो त्रिशूली–३ ‘बी’ बाट अझै १७८ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । यसमा आयोजना कम्पनीका कर्मचारी, उनीहरूका परिवारका सदस्य, परामर्शदाता कम्पनीका कर्मचारी, सुरक्षा गार्ड तथा काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आएका इन्जिनियरिङ विद्यार्थीसमेत छन् ।

बाढीबाट पूर्ण रूपमा प्रभावित आयोजनाको सूचीमा त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट जलविद्युत् केन्द्र र माथिल्लो त्रिशूली–३ ‘ए’ समेत छन् । त्रिशूली जलविद्युत् केन्द्रबाट तीन जना र देवीघाटबाट एक जना सम्पर्कविहीन रहेको विवरण छ ।

माथिल्लो त्रिशूली–३ ‘ए’ बाट भने ३९ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।

बाढीले जलविद्युत् आयोजनाको उत्पादन तथा पूर्वाधारमा मात्रै क्षति पुर्‍याएको छैन, आयोजनास्थलमा कार्यरत ठूलो संख्याका श्रमिक तथा कर्मचारीको अवस्थासमेत अज्ञात बनाएको छ ।

उपलब्ध तथ्यांकअनुसार प्रभावित आयोजनामा रहेका ९१९ जना अझै सम्पर्कमा नआएकाले उनीहरूको खोजी र उद्धार अहिले पनि मुख्य चुनौती बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?