+
+
Shares

दर्शनटार-रातमाटेमा बेलिब्रिज राख्नुपर्ने स्थानीयको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशीको बाढीले त्रिशूली नदीमाथिका पुलमा क्षति पुर्‍याएपछि नुवाकोटको दर्शनटार–रातमाटेमा बेलिब्रिज निर्माणको माग स्थानीयले गरेका छन्।
  • दर्शनटारको १४३ मिटर पक्की पुल बग्दा दुवैतर्फका पिल्लर बाँकी रहेकाले सोही स्थानमा पुनःपुल बनाउन सकिनेबारे स्थानीयस्तरमा छलफल भइरहेको छ।
  • पुल बनेमा त्रिशूलीपारिका नुवाकोटका बस्ती, विद्यार्थी र दैनिक आवतजावत गर्ने नागरिकको आवागमन सहज हुने स्थानीयले बताएका छन्।

२२ भदौ, नुवाकोट । भोटेकोशीको बाढीले त्रिशूली नदीमाथिका पुलहरूमा क्षति पुर्‍याएपछि नुवाकोटमा वैकल्पिक सडक सञ्जाल विस्तारको खोजी भएको छ । तारकेश्वर गाउँपालिका–४ दर्शनटार र बेलकोटगढी नगरपालिका–७ रातमाटे जोड्ने स्थानमा बेलिब्रिज निर्माणका लागि स्थानीयले माग गरेका छन् ।

दर्शनटारमा रहेको १४३ मिटर लामो पक्की पुल बाढीले बगाए पनि दुवैतर्फका पिल्लर भने अझै देखिने अवस्थामा छन् । स्थानीयका अनुसार नदीको सतहबाट करिब ८–९ मिटर माथिसम्म पिल्लर देखिन्छन् ।

माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएका ठूला ढुंगा, स्ल्याब तथा पुलका अन्य संरचनाले बीचका पिल्लरमा ठक्कर दिएपछि पुल बगेको स्थानीयको भनाइ छ । पुरानो पुलको मुख्य संरचना बगे पनि दुवैतर्फका पिल्लर यथावत् रहेकाले त्यही स्थानमा अस्थायी वा नयाँ पुल निर्माण गर्न सकिने सम्भावनाबारे स्थानीयस्तरमा छलफल भइरहेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाका अनुसार दर्शनटार–रातमाटेको पुल आधुनिक पाइलिङ प्रणालीबाट निर्माण भएकाले बाढीले पिल्लरमा क्षति पुर्‍याए पनि जमिनमुनिको जगमा ठूलो क्षति नपुगेको हुनसक्छ ।

‘पाइलिङ क्यापभन्दा माथिको पिल्लर उखु भाँचिएजस्तै गरी भाँचिएको हो । जगको सतहमा क्षति नपुगेको अवस्थामा सोही पाइलिङ क्यापबाट पिल्लर पुनःजोडेर पुरानै स्थानमा पुल बनाउन सम्भव हुन्छ,’ थापाले भने ।

उनका अनुसार पाइलिङ प्रणालीबाट निर्माण गरिएको जग जमिनमुनि रहने भएकाले त्यसको वास्तविक अवस्था प्राविधिक अध्ययनबाट मात्रै यकिन गर्न सकिन्छ । जग सुरक्षित रहेको पुष्टि भएमा पुरानै संरचनालाई उपयोग गरेर पुल निर्माण गर्नु प्रभावकारी विकल्प हुनसक्ने उनको भनाइ छ ।

नुवाकोट क्षेत्र नम्बर २ का सांसद डा. अच्युतम लामिछाने र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले प्रस्तावित दर्शनटार–रातमाटे क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

स्थलगत निरीक्षणपछि उनीहरूले उक्त स्थानमा बेलिब्रिज निर्माणको सम्भावनाबारे आवश्यक प्रक्रिया अगाडि बढाउन पहल गर्ने जानकारी दिएको स्थानीयले बताएका छन् ।

छोटो दूरीमा देवीघाट र त्रिशूली बजार जोडिने

दर्शनटार–रातमाटेमा बेलिब्रिज निर्माण भए त्रिशूली नदीपारिका नुवाकोटका धेरै भूभागलाई सडक सञ्जालमा जोड्न सहज हुने स्थानीयको भनाइ छ ।

अहिले नै अधिकांश क्षेत्रमा साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुनसक्ने सडक रहेकाले नयाँ ट्र्याक खोल्नुभन्दा विद्यमान सडकलाई आवश्यक स्थानमा स्तरोन्नति गरेर पुलसँग जोड्नु व्यवहारिक हुने नुवाकोट तारकेश्वर गाउँपालिका–४ दर्शनटारका स्थानीय तुलसी ढुंगानाले बताए ।

पुल निर्माण भए दर्शनटार, मैरिटार, कुमलटार, सिर्खाली, देवीघाट, पुसुन्टार र बुहुनीबेँसी हुँदै त्रिशूली बजारसम्मको सडक सञ्जाललाई प्रत्यक्ष रूपमा जोड्न सकिने ढुंगानाको भनाइ छ ।

दर्शनटार गल्छी र देवीघाटबीचको महत्वपूर्ण कडीको रूपमा रहेको ढुंगानाको भनाइ छ । काठमाडौं हुँदै गल्छीसम्म ठूला मालबाहक गाडी तथा १८ चक्केसम्मका ट्रेलर पुग्न सक्ने भएकाले बेलिब्रिज निर्माणका लागि आवश्यक संरचना तथा सामग्री ढुवानी गर्नसमेत यो सडक उपयोगी हुनसक्ने उनको भनाइ छ ।

स्थानीयका अनुसार अहिले गल्छी हुँदै देवीघाट पुग्न करिब दुई घण्टा लाग्ने गरेको छ । दर्शनटार–रातमाटेमा पुल बनेमा यही दूरी करिब २०–२५ मिनेटमा पार गर्न सकिनेछ भने त्रिशूली बजारसम्म करिब ४५–५० मिनेटमा पुग्न सकिनेछ ।

बाढीले पुल बगाएपछि धादिङको गल्छी तथा नुवाकोटको बट्टारतर्फ विद्यालय जाने करिब चार सय विद्यार्थीको आवागमनसमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।

पुल निर्माण भए विद्यार्थी, स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने नागरिकलाई सहज हुने उनीहरूको भनाइ छ ।

तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष हरि पौडेलले पुरानो पुलको १४३ मिटर लम्बाइ, बाढीपछि पनि देखिएका दुवैतर्फका पिल्लर, विद्यमान सडक सञ्जाल र गल्छीसम्म ठूला सवारीसाधन पुग्न सक्ने पहुँचका कारण दर्शनटार–रातमाटे बेलिब्रिज निर्माणका लागि उपयुक्त स्थान हुनसक्ने बताए ।

‘पुरानो पुलकै संरचना र विद्यमान सडक सञ्जाललाई आधार बनाएर काम गर्न सकिने अवस्था छ । त्यसैले दर्शनटार–रातमाटेलाई बेलिब्रिज निर्माणको सम्भावित स्थानका रूपमा तत्काल प्राविधिक अध्ययन गर्न आवश्यक छ,’ पौडेलले भने ।

स्थानीयले अब लामो बहसभन्दा पनि तत्काल प्राविधिक तथा भूगर्भीय अध्ययन गरेर पुल निर्माणको सम्भाव्यता टुंग्याउन माग गरेका छन् ।

दर्शनटार–रातमाटेमा बेलिब्रिज निर्माण हुन सके बाढीपछि टुटेको आवागमन पुनःस्थापित हुनुका साथै त्रिशूलीपारिका नुवाकोटका विभिन्न भूभागलाई छोटो र वैकल्पिक सडक सञ्जालमार्फत जोड्न सकिने स्थानीयको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?