+
+
Shares

गत भदौ २४ को विध्वंस रहस्यमय छ, गम्भीर अनुसन्धान गर्नुपर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले भदौ २४ गतेको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताउँदै वास्तविक दोषी पहिचान गरेर कारबाही गर्न माग गरे।
  • उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनतर्फ नबढेको र एक वर्षमा सत्यतथ्य बाहिर ल्याउने काम अपेक्षित रूपमा अघि नबढेको दाबी गरे।
  • प्रचण्डले भदौ २४ को घटनामा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय आयाम रहेको भन्दै वर्तमान भूराजनीतिक सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन–अनुसन्धान आवश्यक रहेको बताए।

२४ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

भदौ २४ गतेलाई नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र भयानक विध्वंसको दिनका रूपमा उल्लेख गर्दै उनले विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

‘आजको दिनलाई सम्झिदा मैले नेपालको राष्ट्रिय स्वाधीन जनतामाथि यो स्तरको हमला, नेपाली जनताको लोकतान्त्रिक आन्दोलन र आकांक्षामाथि यो स्तरको प्रहार र केही घण्टा भित्रै भएको यो विध्वंस साच्चै नै रहस्यमय पनि छ,’ भिडियो सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘र यसले के माग गर्छ भने गहिरो अध्ययन अनुसन्धान गरेर यो विध्वंश मचाउने तत्व को हुन् ? वास्तविक दोषी को छन् ? यसको सत्य तथ्य अनुसन्धान गर्ने कुरा र दोषीलाई कारबाही गर्ने कुरा असाध्यै महत्वपूर्ण ठान्दछु म ।’

उनले गएको एक वर्षमा घटनाको सत्यतथ्य बाहिर ल्याउने दिशामा अपेक्षित काम हुन नसकेको पनि दाबी गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनतर्फ अघि नबढेको भन्दै प्रचण्डले आपत्ति जनाएका छन् । ‘गएको एक वर्षमा त्यतातिर घटनाक्रम गएको छैन । मानव अधिकार आयोग द्वारा तयार पारिएको प्रतिवेदन पनि कार्यान्वयन तिर अगाडि बढेको छैन । बरु दराजमा थन्कउने काम भएको छ,’ उनले भनेका छन् ।

गत भदौ २३ गते युवाहरूले उठाएको सुशासन र पारदर्शिताको मागलाई भदौ २४ गतेको घटनाले सम्बोधन नगरेको संयोजक प्रचण्डको दाबी छ । भदौ २४ को घटनाले जेनजी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गरेको उनले जिकिर गरेका छन् ।

‘युवाहरूले भाद्र २३ गते जुन आकांक्षाको साथ सुशासनको कुरा गरेका थिए, पारदर्शिताको कुरा गरेका थिए, ती आकांक्षाहरू भाद्र २४ ले प्रतिनिधित्व गरेको छ त भन्दा भाद्र २४ ले ती भावना र आकांक्षालाई होइन, बरु जेनजी युवाहरुको भावना र आकांक्षा माथि प्रहार गर्ने र २३ को आन्दोलनलाई अपहरण गर्ने र त्यसलाई कब्जा गर्नेहरूकै हालिमहाली भएको देखिन्छ,’ भिडियो सन्देशमा भनिएको छ ।

प्रचण्डले भदौ २४ को घटनाका राष्ट्रियसँगै अन्तर्राष्ट्रिय आयामसमेत रहेको दाबी गरेका छन् । वर्तमान भूराजनीतिक अवस्थालाई समेत ध्यानमा राखेर घटनाको अन्तर्राष्ट्रिय स्तरबाट अध्ययन–अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

‘मैले यसलाई रहस्यमय छ र अझ गम्भीर अनुसन्धानको दायरामा ल्याउनै पर्छ भन्ने किन पनि भन्न चाहन्छु भने यसको राष्ट्रिय आयामहरु छन् । यसको अन्तराष्ट्रिय आयामहरु पनि छन्,’ प्रचण्डले भनेका छन्, ‘त्यसकारण अन्तराष्ट्रिय स्तरबाट पनि आजको भूराजनीतिको सन्दर्भमा पनि यसको अध्ययन अनुसन्धान हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?