+
+
Shares

एमाले पुनर्गठन कार्यदल बैठक : बादल-शंकर सवालजवाफ

बादलले भने- अध्यक्षलाई हटाउन भनेर विद्या भण्डारी लाग्नुभयो । उहाँ पाखा लागेपछि फेरि ईश्वर पोखरेल आउनुभयो । अहिले यो प्रतिवेदन मार्फत त्यो उद्देश्य पूरा गर्न खोजिँदैछ ।

सइन्द्र राई सइन्द्र राई
२०८३ भदौ २६ गते २१:१२

२५ भदौ, काठमाडौं । गत २१ फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठनबारे नेकपा एमालेको शीर्ष तहमै आजबाट छलफल सुरू भएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक पराजय बेहोर्नु परेपछि लामै समय अलमलमा परेको एमालेले गत ३० जेठदेखि १९ असारसम्म प्रदेश स्तरीय सुझाव संकलन गरेको थियो ।

सचिवालय बैठकबाट उपाध्यक्ष रामबहादुर थापा संयोजक र महासचिव शंकर पोखरेल सदस्य सचिव रहनेगरी कार्यदल गठन गरी सुझाव संकलन गरिएको थियो ।

तर संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने क्रममा नेताहरूले फरक–फरक अडान लिए । महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनप्रति संयोजक थापा सहमत भएनन् ।

अन्ततः थापाले ३९ पृष्ठको अलग्गै प्रतिवेदन तयार पारेपछि आज (शुक्रबार) कार्यदलको बैठक बस्यो । अध्यक्ष केपी शर्मा ओलीको कुर्सी खाली राखेर च्यासलमा शुरू कार्यदलको बैठकमा पहिलो दिन नै नेताहरूबीच आ–आफ्ना अडान सहित प्रस्तुत भएका छन् ।

पोखरेलले भने- सर्वसम्मत निर्णय गरेर हामी अगाडि बढेको हो । यो प्रतिवेदन समग्र पार्टी निर्माणमा केन्द्रित छ । आफू अनुकूल व्याख्या नगरौं ।

‘संयोजक र महासचिवले प्रस्तुत गर्नुभएको छ । त्यही प्रतिवेदनलाई आधार मानेर केही नेताहरुले कुरा पनि सुरु गर्नुभयो,’ कार्यदलका एक सदस्य भन्छन्, ‘धेरै कुरा गर्न बाँकी नै छ, अहिले नेताहरूलाई प्रतिवेदन अध्ययन गर्ने समय दिइएको छ ।’

सवाल-जवाफबाट सुरु

नेताहरुका अनुसार, उपाध्यक्ष थापा र महासचिव पोखरेलबीच बैठकको सुरूमै सवाल–जवाफ चल्यो । ‘संयोजकले आफ्नो प्रतिवेदनबारे बताउँदा नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हटाउन महासचिव मरिमेटेर लागेको भन्नुभयो,’ बैठक स्रोत भन्छ, ‘त्यही कुरालाई लिएर महासचिवले जवाफ दिँदा मतभेद जस्तो देखियो ।’

महासचिव पोखरेलको प्रतिवेदनले ओलीलाई हटाउने निष्कर्ष राखेकाले यसको छिनोफानो गर्नुपर्ने थापाको सर्त थियो ।

‘अध्यक्षलाई हटाउनु भनेर विद्या भण्डारी लाग्नुभयो । उहाँ पाखा लागेपछि फेरि ईश्वर पोखरेल आउनुभुयो,’ थापाले बैठक अगाडि बढाउँदै भनेका थिए, ‘फेरि अहिले यो प्रतिवेदन मार्फत त्यो उद्देश्य पुरा गर्न खोजिँदैछ । यसको छिनोफानो गरेर जानुपर्छ ।’

आफ्नो प्रतिवेदन नेतृत्वको रक्षाका निम्ति तयार भएको व्याख्या थापाले गरेका थिए । थापाको भनाइ लगतै महासचिव पोखरेलले पनि जवाफ दिएका थिए ।

‘तपाईँले लेखेको प्रतिवेदन नै भएन । यो त मेरो प्रतिवेदनको एउटा अंशको खण्डन भयो,’ महासचिव पोखरेलले उल्टै मतभेद बढाउने काम नगर्न आग्रह गरेका थिए । एक पदाधिकारी अनुसार, महासचिव पोखरेलले ओलीलाई हटाउन मात्रै प्रतिवेदन तयार नभएको जवाफ दिएका थिए ।

‘पार्टीभित्र सर्वसम्मत निर्णय गरेर हामी अगाडि बढेको हो । कार्यदल गठन, कार्यदललाई टीओआर दिने कुरा र पछि सुझाव संकलनमा पनि सर्वसम्मतिका साथ सँगसँगै हिडेका छौं,’ पोखरेलले भने, ‘यो प्रतिवेदन समग्र पार्टी निर्माणमा केन्द्रित छ । आफू अनुकूल व्याख्या नगरौं ।’

महासचिव पोखरेलको तर्कमा उपाध्यक्ष थापा सहमत भएनन् । प्रतिवादमा थापाले भने, ‘तपाईँले जे भनेपनि कुरा त्यही हो, नेतृत्वमाथि हमला हो ।’

बैठक स्रोतका अनुसार नेतृत्वमा अरु समाहित भएर जाने कुरा थापाले गरेका थिए । तर महासचिव पोखरेलले कसैको व्यक्तिगत रक्षा भन्दा पनि पार्टी संकट समाधानबारे केन्द्रीत भएर छलफल अगाडि बढाउन आग्रह गरेका थिए ।

पौडेल र सुब्बाले थापालाई भने- एमालेको इतिहास पढ्नुहोस्

उपाध्यक्ष थापा र महासचिव पोखरेलबीच सवाल-जवाफ पछि कार्यदलका अरु नेताहरुले आफ्ना कुरा राखेका थिए । ‘अध्यक्षको रक्षा गर्छु भनेर जसरी संयोजकले मत राख्नुभयो, त्यसैकारण एक्लिने स्थिति देखियो,’ अर्का एक पदाधिकारी भन्छन् ।

उनका अनुसार उपाध्यक्ष थापाले पक्षमा सचिवहरू महेश बस्नेत र शेरधन राईबाट थोरै साथ पाए । तर नेतृत्व रक्षा भनेर थापाले जसरी बोले, त्यसैगरी त कसैले पनि नबोलेको उनी बताउँछन् ।

कोशी प्रदेशका इन्चार्ज रहेका राईले दुवै प्रतिवेदन खारेजीको प्रस्ताव राखेका थिए । उनले यो कार्यदलकै औचित्यमाथि प्रश्न उठाएका थिए ।

‘दुवै नेताको भूमिका ठीक भएन । यो कार्यदलले ल्याएको प्रतिवेदन पनि सर्वसम्मत हुन सकेन,’ राईको प्रस्ताव छ, ‘दुवै प्रतिवेदन खारेज गरेर अर्को प्रतिवेदन लेखौं ।’

प्रतिवेदन लेख्नै एक महिना खर्चिएर तयार पारिएको निष्कर्षलाई खारेज गर्ने राईको प्रस्तावमा कोही पनि बोलेनन् । स्वयं थापाले पनि साथ दिएनन् । ‘कसैले प्रतिक्रिया नदिएपछि यो कुरा त्यही थाती रह्यो,’ स्रोत भन्छ ।

बागमती इन्चार्ज बस्नेतले सर्वसम्मत प्रतिवेदन तयार पार्नेतिर लाग्न जोड दिएका थिए । ‘अलगअलग प्रतिवेदन आउँदा पार्टीभित्र अनावश्यक शंका भयो,’ बस्नेतको प्रस्ताव छ, ‘एउटै बनाएर जाऔं, एकताबद्ध भएर जाऔं ।’ पार्टीको आकर्षण बढिरहेको र एकताबद्ध भएर जानुपर्ने आवश्यकता रहेको उनको जोड थियो ।

तर थापालाई काउण्टर दिनेगरी अरु नेताहरू लामै बोलेका थिए । उपाध्यक्ष बिष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङले त थापालाई एमालेको इतिहास पढ्न नै सुझाव दिएका थिए ।

बैठक स्रोतका अनुसार उपाध्यक्ष गुरुङको थापाले संयोजकको हैसियतमा कामै नगर्न नसकेको तर्क गरेका थिए । ‘तपाईंले ल्याएको यो कुरा प्रतिवेदन होइन, अभिमत हो,’ गुरुङले भने, ‘आफ्नो मत त हामीले पनि राखिरहेका छौं । तपाईँको लिखित हो, हाम्रो मौखिक हो ।’

एमाले पुनर्गठनको प्रस्तावका रुपमा थापाको प्रतिवेदन नआएकाले त्यसलाई व्यक्तिगत अभिमतका रुपमा लिनुपर्ने गुरुङको तर्क थियो ।

अर्का उपाध्यक्ष पौडेलले थापालाई बुँदागत सुझाव नै दिएका थिए । पौडेलको पहिलो सुझाव थियो– संयोजकको भूमिका कस्तो हुन्छ ?

‘संयोजकको भूमिका सबैलाई समेट्ने हुनुपर्छ, सबैको अभिमतलाई मिलाएर ल्याउनुपर्छ,’ पौडेलको प्रश्न थियो, ‘तपाईंले ल्याएको दस्तावेजले सबैको भावना समेट्छ ? सबै पक्षको कुरा अटेको छ ?’

पौडेलको अर्को सुझाव थियो– आफूले बैठक राखेर निर्णय लेखेपछि त्यसको अपनत्व लिन सक्नुपर्छ ।

ओली गिरफतारीमा परेपछि थापा आफैं कार्यबाहक अध्यक्ष भएर एमालेले गरेको निर्णयप्रति असन्तुष्टि जनाएर प्रतिवेदन तयार पारेका छन् ।

प्रधानमन्त्री बालेनलाई बधाई दिने २० चैतको सचिवालय निर्णय र १० जेठको कार्यदल गठन गर्ने निर्णयप्रति थापाले असन्तुष्टि जनाएका छन् ।

उपाध्यक्ष पौडेलले भने आफ्नै नेतृत्वमा बसेको बैठकको निर्णयप्रति अपनत्व लिन सक्नुपर्ने सुझाव दिएका थिए ।

पौडेलले थापालाई एमालेको स्कूलिङ पढ्न समेत आग्रह गरे । ‘तपाईं जुन स्कूलिङबाट आउनुभयो, त्यससँग एमालेको स्कूलिङ नमिल्न सक्छ । एमालेको आफ्नै इतिहास र परम्परा छ,’ पौडेलले भने, ‘तपाईंले एमालेको इतिहास पढ्नुहोस् ।’ अरु नेताहरूले पनि आजको वस्तुगत स्थितिलाई विश्लेषण गरेर पार्टी पुनर्गठनमा जानुपर्ने तर्क गरेका छन् ।

‘तर आजै कुनै निष्कर्षमा पुग्न सकिने स्थिति थिएन । महासचिवले अध्ययन गरेर लामै छलफलमा बस्नुपर्ने प्रस्ताव राख्नुभयो, त्यसैअनुसार बैठक टुंगियो,’ एक पदाधिकारी भन्छन् ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?