News Summary
Generated by OK AI. Editorially reviewed.- ह्वाट्सएपले आईफोन प्रयोगकर्ताका लागि एउटै एपमा तीनवटासम्म अकाउन्ट थप्न र व्यवस्थापन गर्न मिल्ने सुविधा विकास गरिरहेको छ।
- नयाँ सुविधा आईओएस बिटा संस्करण २६.३७.१०.१५ मा देखिएको हो, र यसले लगआउट नगरी अकाउन्टबीच स्विच गर्न दिनेछ।
- ह्वाट्सएपले यो सुविधा औपचारिक रूपमा घोषणा गरेको छैन, र यसको सार्वजनिक वितरण मिति तय भइसकेको छैन।
२ असोज, काठमाडौं। मेटाको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले आईफोन प्रयोगकर्तालाई एउटै एपमा तीनवटासम्म अकाउन्ट थप्न र व्यवस्थापन गर्न मिल्ने सुविधा विकास गरिरहेको छ।
हाल आईफोनमा एउटै ह्वाट्सएप एपभित्र अधिकतम दुईवटा अकाउन्ट प्रयोग गर्न सकिन्छ। नयाँ सुविधा ह्वाट्सएपको आईओएस बिटा संस्करण २६.३७.१०.१५ मा देखिएको हो।
यो संस्करण टेस्टफ्लाइटमार्फत वितरण गरिएको छ। ह्वाट्सएपको नयाँ खाता व्यवस्थापन प्रणालीबारे जानकारी दिने वेबसाइट डब्ल्यूएबिटाइन्फोले उक्त सुविधा फेला पारेको हो।
सुविधा सार्वजनिक भएपछि दुईवटा अकाउन्ट पहिल्यै जोडिएका प्रयोगकर्ताले पनि एपभित्रै ‘एड अकाउन्ट’ विकल्पमार्फत तेस्रो खाता थप्न सक्नेछन्। प्रयोगकर्ताले लगआउट नगरी अकाउन्टहरूबीच सजिलै स्विच गर्न सक्नेछन्।
अकाउन्ट चयन गर्ने इन्टरफेसमा प्रत्येक प्रोफाइलको नाम, प्रोफाइल फोटो र फोन नम्बर देखिनेछ। सक्रिय खातामा हरियो चिन्ह देखाइनेछ। नयाँ प्रणालीमा प्रत्येक खाताको च्याट हिस्ट्री, नोटिफिकेसन, गोपनीयता सेटिङ, ब्याकअप र मिडिया छुट्टाछुट्टै रहनेछन्।
यो सुविधा व्यक्तिगत, व्यावसायिक र संस्थागत प्रयोजनका लागि फरकफरक ह्वाट्सएप नम्बर प्रयोग गर्नेहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। यसका लागि दोस्रो वा तेस्रो खाता चलाउन अलग्गै ह्वाट्सएप बिजनेस एप वा अर्को मोबाइल फोन प्रयोग गर्नुपर्ने आवश्यकता कम हुनेछ।
तर, ह्वाट्सएपले यो सुविधा औपचारिक रूपमा घोषणा गरेको छैन। हाल यो विकासकै चरणमा रहेको र बिटा परीक्षकका लागि समेत पूर्ण रूपमा उपलब्ध नभएको बताइएको छ। त्यसैले आईफोन प्रयोगकर्ताका लागि यसको सार्वजनिक वितरण मिति तय भइसकेको छैन।
यसअघि ह्वाट्सएपले आईफोनमा एउटै एपभित्र दुईवटाअकाउन्ट प्रयोग गर्न मिल्ने सुविधा विस्तार गरेको थियो। अब कम्पनीले उक्त सीमालाई बढाएर तीनवटा अकाउन्टसम्म पुर्याउने तयारी गरेको हो।
प्रतिक्रिया 4