२ असोज, रसुवा । भोटेकोशी बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेलापरेका छन् ।
खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज थप १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उक्त क्षेत्रमा बिहीबार पनि छ जना मजदुरको शव फेलापरेका थिए । त्यसपछि खोज तथा उद्धारकार्यलाई निरन्तरता दिँदा थप शव फेला परेका हुन् ।
आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र सुरूङमा शव फेला परेको अपर त्रिशूली–१ का सामाजिक विज्ञ हर्क तामाङले जानकारी दिए ।
खोज उद्धारका लागि नेपाली सेना र जलविद्युत् कम्पनीका कर्मचारी रहेको तामाङले बताए ।
बाढीका समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने एकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ ।
फेलापरेका शवको पहिचान तथा सनाखत गर्ने कार्य बाँकी रहेको प्रहरीको भनाइ छ ।
बाढीका कारण आयोजनाको निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी तथा उद्धारकार्य जारी राखिएको थियो ।
२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो ।
सुरुङभित्र बेपत्ता मजदुरको खोजीका क्रममा शव फेला पर्न थालेपछि आफन्त तथा आयोजनासँग सम्बन्धित पक्षमा शोकमा डुबेका छन् ।
निर्माता कम्पनीले कुन–कुन नामका कति कामदार पठाएको भन्ने कुनै तथ्याङ्क राख्न नसक्दा शव पहिचानको लागि गाह्रो परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4