News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले पाँच वर्षपछि बैतडीको सुर्नयामा गौरा पर्वमा सहभागी हुँदा पहिलेभन्दा अवस्था धेरै फरक भएको पाए ।
- बसाइँसराइ, नयाँ पुस्ताको बदलिँदो जीवनशैली र मौसमको प्रभावले गाउँको सामूहिक जीवन र मौलिक पर्वको रौनक कमजोर बन्दै गएको उनले बताए।
यसपालि ५ वर्ष पछि गौरा पर्वमा सहभागी हुन आफ्नै गाउँ बैतडीको सुर्नया पुगेँ । गाउँ नगएको भने पाँच वर्ष भएको होइन । बीचमा अरू विभिन्न काम र अवसरमा गाउँ गइरहेकै थिएँ । गाउँका बाटाघाटा, घरआँगन, आफन्त र गाउँको दैनिकीसँग मेरो सम्बन्ध टुटेको थिएन । तर गौरा पर्वमै सहभागी भएर त्यसको रौनक नजिकबाट अनुभव गरेको भने करिब पाँच वर्षपछि हो ।
त्यसैले यसपालिको गौरा मेरा लागि सामान्य पर्वभन्दा अलि फरक थियो । मनमा पाँच वर्षअघिको गौरा र बाल्यकालमा देखेको गौरा दुवैको सम्झना थियो । त्यही सम्झना बोकेर यसपालि गौरा हेर्न पुगेँ ।

गाउँ पुगेपछि पहिलोपटक त आफ्नै गाउँको माटोमा फेरि गौरा आएको खुसी लाग्यो । तर पर्वमा सहभागी हुँदै जाँदा त्यो खुसीसँगै एउटा अनौठो खालीपन पनि महसुस हुन थाल्यो । मैले पाँच वर्षअघि देखेको गौरा र यसपालि देखेको गौराबीच निकै ठूलो फरक पाएँ । बाल्यकालमा देखेको गौरा त झन् धेरै टाढाको कुरा भइसक्यो ।
पहिले गौरा आउँदा गाउँमा जुन चहलपहल हुन्थ्यो, जुन उत्साह हुन्थ्यो, जुन संख्यामा मानिसहरू भेला हुन्थे, त्यसको झल्को यसपालि कमै देखियो । पहिलेको तुलनामा गौरामा सहभागी हुनेको संख्या चानचुन ३०–४० प्रतिशतमा सीमित भएको जस्तो लाग्यो ।
त्यो घटेको भीडले मलाई केवल मानिसको संख्या घटेको अनुभूति गराएन, बरु गाउँमा आएको ठूलो परिवर्तन देखाइदियो ।
पहिले गौरा भनेपछि गाउँमा छुट्टै माहोल बन्थ्यो । टाढाटाढा रहेका आफन्तहरू घर फर्किन्थे । घरहरू भरिन्थे । आँगन, बाटाघाटा र चौतारा मानिसहरूको चहलपहलले भरिन्थे । बालबालिकादेखि वृद्धवृद्धासम्म पर्वको कुनै न कुनै पक्षमा जोडिन्थे ।
युवाहरूमा छुट्टै उत्साह हुन्थ्यो । गौरा केवल एउटा पर्व थिएन, केही दिनका लागि भए पनि गाउँलाई एउटै ठाउँमा जोड्ने अवसर थियो । एकअर्कासँग भेटघाट हुन्थ्यो, आफन्तसँग दुःखसुख साटिन्थ्यो र पुस्तौँदेखि चलिआएको संस्कृति व्यवहारमै बाँचेको देखिन्थ्यो ।
यसपालि भने त्यही ठाउँमा उभिँदा पुरानो दृश्यसँग अहिलेको दृश्य तुलना गर्न मन लागिरह्यो । पर्व उही थियो, परम्परा उही थियो, गाउँ उही थियो, तर मानिसको सहभागिता र त्यसमा देखिने उत्साह भने उस्तै रहेनछ ।
सायद समस्या गौरा पर्वमा मात्रै आएको होइन, गाउँको संरचनामै ठूलो परिवर्तन आइसकेको रहेछ ।
सुदूरपश्चिमका पहाडी गाउँबस्ती पछिल्ला वर्षमा क्रमशः रित्तिँदै गएका छन् । शिक्षा, रोजगारी, स्वास्थ्य, सुविधा र अवसरको खोजीमा मानिसहरू शहर, तराई र विदेशतर्फ लागेका छन् । कतिपय घरहरू आज पनि उस्तै छन्, तर घरमा बस्ने मानिसको संख्या घटेको छ ।
खेतबारी उस्तै छन्, तर खेती गर्ने हात घटेका छन् । गाउँका बाटाघाटा उस्तै छन्, तर ती बाटामा हिँड्ने मानिस कम भएका छन् । यस्तो अवस्थामा गाउँका सामूहिक चाडपर्वको रौनक पहिलेको जस्तो रहनु पनि कठिन हुन्छ ।
पहिले चाडपर्वका लागि मानिस गाउँ फर्किन्थे । अहिले धेरै मानिसका लागि गाउँ फर्किनु सहज छैन । रोजगारी, पढाइ, विदेशको काम, शहरको व्यस्तता र लामो दूरीका कारण कतिपय मानिस चाहेर पनि पर्वमा सहभागी हुन सक्दैनन् । यसरी बसाइँसराइले गाउँको जनसंख्या मात्र घटाएको छैन, गाउँको सामूहिक जीवनलाई पनि कमजोर बनाउँदै लगेको छ । गाउँ रित्तिँदै जाँदा त्यसको प्रत्यक्ष असर हाम्रा मौलिक चाडपर्वमा देखिन थालेको छ ।
यससँगै मलाई नयाँ पुस्ताको विषयले पनि झस्कायो । हामी सानो हुँदा गौरा पर्व हाम्रो जीवनको स्वाभाविक हिस्सा थियो । गौरा आउनु भनेको उत्सव आउनु थियो । घरपरिवार र समाजबाटै पर्वको अर्थ, विधि र परम्परा सिकिन्थ्यो । अहिले समय बदलिएको छ ।
नयाँ पुस्ताको जीवनशैली, रुचि र प्राथमिकता फरक छन् । उनीहरूको संसार मोबाइल, सामाजिक सञ्जाल, नयाँ प्रविधि, अध्ययन र रोजगारीका नयाँ अवसरसँग जोडिएको छ । यस्तो अवस्थामा उनीहरूलाई आफ्नै मौलिक चाडपर्वसँग कसरी जोडिराख्ने भन्ने प्रश्न अझ गम्भीर बनेको छ ।
नयाँ पुस्ता आफ्नो संस्कृति मनाउन चाहँदैन भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन । बरु हामीले उनीहरूलाई आफ्नो संस्कृति बुझ्ने र त्यसमा अपनत्व महसुस गर्ने वातावरण कति दिएका छौँ भन्ने प्रश्न गर्नुपर्छ । संस्कृति कसैलाई आदेश दिएर पुस्तान्तरण हुँदैन । त्यो परिवार, समाज र व्यवहारबाट सिकिन्छ ।
अग्रजले परम्पराको कथा सुनाउँदा, अभिभावकले पर्वको महत्व बुझाउँदा र युवालाई पर्वको आयोजनामै सहभागी गराउँदा संस्कृति जीवित रहन्छ । तर पुस्ताबीचको सम्बन्ध कमजोर हुँदै गयो भने पर्वको नाम र औपचारिकता बाँकी रहन सक्छ, त्यसको मौलिक आत्मा भने क्रमशः हराउन सक्छ ।
अर्कोतर्फ, प्रकृतिको बदलिँदो स्वरूपले पनि हाम्रा चाडपर्वलाई प्रभाव पारिरहेको छ । गौरा पर्वको समय आसपास वर्षा भइरहने, बाटाघाटा बिग्रने र पहाडी क्षेत्रमा आवतजावत कठिन हुने अवस्थाले पनि मानिसहरूको सहभागितामा असर पारिरहेको छ ।
मनसुन ढिलो भित्रिने र ढिलो बाहिरिने अवस्थाले पर्वको समयमा मौसम प्रतिकूल बनि दिँदा चाडपर्वको वातावरण नै खल्लो भइरहेको छ । प्रकृति, कृषि र ग्रामीण जीवनसँग गहिरो सम्बन्ध राख्ने हाम्रा मौलिक पर्वका लागि मौसमको परिवर्तन पनि अब बेवास्ता गर्न नसकिने विषय बनेको छ ।
तर यसपालि गौरा हेर्दा यी सबैभन्दा ठूलो चिन्ता अर्को कुराले पैदा गर्यो –कतै हामी पर्व मनाउँदै त जानेछैनौँ, तर पर्वभित्रको मौलिकता भने हराउँदै जाने त होइन ?
कुनै संस्कृति एकैदिन हराउँदैन । पहिले त्यसप्रतिको आकर्षण घट्छ, त्यसपछि सहभागिता घट्छ, अभ्यास कमजोर हुन्छ र विस्तारै नयाँ पुस्ताले त्यसलाई आफ्नो संस्कृतिका रूपमा चिन्न छोड्न सक्छ । त्यसैले अहिले गौरा पर्वमा देखिएको घट्दो सहभागितालाई केवल यस वर्षको संयोग भनेर छोडिदिने हो भने भोलिको अवस्था अझ फरक हुन सक्छ ।
संस्कृति हराउनु भनेको एउटा चाड हराउनु मात्र होइन । त्यससँगै एउटा समाजको सामूहिक स्मृति हराउँछ । हाम्रा पुर्खाले कसरी जीवन बिताए, के विश्वास गरे, कसरी सामाजिक सम्बन्ध बनाए र कुन परम्परालाई पुस्तौँसम्म जोगाएर ल्याए भन्ने इतिहास पनि यिनै संस्कार र चाडपर्वभित्र बाँचेको हुन्छ । त्यसैले मौलिकता हराउँदै जानु भनेको कुनै न कुनै रूपमा इतिहासको एउटा अंश हराउँदै जानु पनि हो ।
त्यसैले अब हाम्रा मौलिक चाडपर्वलाई केवल ‘मनाउने’ होइन, बुझ्ने, जोगाउने र पुस्तान्तरण गर्ने बेला आएको छ । नयाँ पुस्तालाई दोष दिएर संस्कृति जोगिँदैन । बरू उनीहरूलाई संस्कृति बुझ्ने अवसर दिनुपर्छ । विद्यालय, परिवार, स्थानीय समुदाय, युवा पुस्ता र स्थानीय सरकारले मिलेर मौलिक पर्वको अभिलेखीकरण गर्नुपर्छ । गाउँबाट बाहिरिएका मानिसलाई पनि यस्ता अवसरमा आफ्नो गाउँसँग जोड्ने वातावरण बनाउनुपर्छ । प्रविधिलाई संस्कृतिको प्रतिस्पर्धी होइन, संस्कृतिको दस्तावेजीकरण र प्रचारको माध्यम बनाउन सकिन्छ ।
यसपालि पाँच वर्षपछि गौरा पर्वमा सहभागी हुँदा मैले एउटा महत्वपूर्ण कुरा महसुस गरेँ– गाउँसँग मेरो सम्बन्ध टुटेको थिएन, तर गाउँको सामूहिक जीवनमा आएको परिवर्तन भने पाँच वर्षको अन्तरालमा आँखाले देख्ने गरी बदलिएको रहेछ । अरू समयमा गाउँ गइरहेकाले गाउँको परिवर्तन क्रमशः देख्दै आएको भए पनि गौरा पर्वको अवसरमा ठूलो जमघटको अपेक्षा लिएर पुग्दा आएको फरक झन् प्रस्ट देखियो । मैले गाउँलाई मात्र होइन, गाउँको एउटा पुरानो सांस्कृतिक तस्वीरलाई समेत बदलिएको अवस्थामा पाएँ ।
गौरा अझै छ । परम्परा अझै छ । पर्व अझै मनाइन्छ । तर पहिलेको त्यो भीड, त्यो सामूहिकता र त्यो रौनक क्रमशः घट्दै गएको अनुभूति भने यसपालि पहिलोपटक यति गहिरोसँग भयो ।
त्यसैले यो अनुभव मेरो लागि केवल एउटा पर्वको संस्मरण बनेर रहेन । यसले एउटा ठूलो प्रश्न छोडेर गयो– भोलि हाम्रा सन्तानले पनि हामीले बाल्यकालमा देखेको त्यही गौरा देख्न पाउलान् ?
यदि हामीले आजैदेखि गाउँ, संस्कृति र नयाँ पुस्ताबीचको सम्बन्ध बलियो बनाउन सकेनौँ भने कुनै दिन हामीसँग गौरा पर्वको कथा त बाँकी रहला, तर त्यो कथा बाँचिरहेको गाउँ नहुन सक्छ ।
गाउँबाट टाढा हुनु बाध्यता हुन सक्छ, समयसँगै जीवनशैली बदलिनु स्वाभाविक हुन सक्छ; तर आफ्नो मौलिक संस्कृति र इतिहासबाट टाढा हुनु हाम्रो बाध्यता हुनु हुँदैन ।
यसपालि सुर्नयामा गौरा हेरेर फर्किँदा मनमा यही कुरा गडिरह्यो– गौरा हराएको छैन, तर गौरा मनाउने गाउँ बिस्तारै बदलिँदैछ । अब हामीले पर्व मात्र जोगाउने होइन, त्यसलाई जीवन्त बनाउने गाउँ, पुस्ता र सामूहिकता पनि जोगाउनुपर्नेछ ।
प्रतिक्रिया 4