News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाले पृथ्वीको कक्षमा अन्तरिक्ष हतियार तैनाथ गरेको घोषणा गरेपछि सम्भावित अन्तरिक्ष युद्धबारे बहस चर्किएको छ ।
- विशेषज्ञहरूले यो हतियार इलेक्ट्रोनिक युद्ध, एन्टी–स्याटेलाइट वा उपग्रह नजिक पुगेर निरीक्षण गर्ने उपकरण हुन सक्ने बताएका छन् ।
- रूस र चीनले पनि अन्तरिक्षमा सैन्य क्षमता विकास गरिरहेका छन्, र हतियार प्रयोगले स्पेस डेब्रिस तथा सञ्चार, नेभिगेसन र नागरिक पूर्वाधारमा जोखिम बढ्ने देखिएको छ ।
५ असोज, काठमाडौं । अमेरिकाले पृथ्वीको कक्षमा अन्तरिक्ष हतियार तैनाथ गरेको घोषणा गरेपछि अन्तरिक्षमा बढ्दो सैन्य गतिविधि र सम्भावित अन्तरिक्ष युद्धबारे बहस चर्किएको छ ।
अमेरिकाले तैनाथ गरेको भनिएको हतियारबारे भने उसले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
अमेरिकी वायुसेनाका सचिव ट्रोय मिंकले कक्षमा तैनाथ उक्त हतियार अमेरिकी सेनालाई शत्रुको कारबाहीबाट जोगाउन आवश्यक रहेको बताएका छन् । तर उनले उक्त हतियारले वास्तवमा के काम गर्छ र कहिले अन्तरिक्षमा तैनाथ गरिएको हो भन्नेबारे केही खुलाएका छैनन् ।
त्यसैले अहिले मुख्य प्रश्न उठेको छ– अमेरिकाले कस्तो हतियार अन्तरिक्षमा पठाएको हो ? अन्तरिक्षमा यसअघि नै कस्ता सैन्य प्रविधि प्रयोग भइरहेका छन् ? र अमेरिका बाहेक रूस तथा चीनजस्ता शक्तिसँग पनि यस्ता हतियार छन् ?
अन्तरिक्षमा दशकौंदेखि सैन्य गतिविधि
अन्तरिक्षमा सैन्य गतिविधि नयाँ भने होइन । अन्तरिक्ष युगको सुरुवातदेखि नै शक्तिशाली मुलुकहरूले सैन्य प्रयोजनका लागि उपग्रह तथा अन्य प्रविधिको विकास गर्दै आएका छन् ।
सन् १९६० को दशकको अन्त्यतिर तत्कालीन सोभियत संघले अन्तरिक्षमै हतियार तैनाथ गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।
सोभियत संघको ‘इस्त्रेबितेल स्पुत्निकोभ’ अर्थात् ‘स्याटेलाइट फाइटर’ कार्यक्रमअन्तर्गत अर्को उपग्रहको कक्षमा पुगेर विस्फोट गर्न सक्ने उपग्रह विकास गरिएको थियो । यसको मुख्य उद्देश्य अमेरिकी उपग्रहलाई निशाना बनाउनु थियो ।
यस्ता उपकरण विस्फोट हुँदा निस्कने धातुका टुक्राले अर्को उपग्रहमा क्षति पुर्याउन सक्थे ।
आज विश्वका प्रमुख सैन्य शक्तिहरूले जासुसी, सुरक्षित सञ्चार, क्षेप्यास्त्र प्रक्षेपणको निगरानी तथा सैन्य लक्ष्यको अवस्थिति पत्ता लगाउन अन्तरिक्षमा उपग्रह प्रयोग गरिरहेका छन् ।
कुनै सैन्य अड्डा वा लक्ष्यको सटीक अवस्थिति पहिचान गर्न पनि उपग्रह महत्वपूर्ण मानिन्छ ।
युद्धमा प्रविधिको भूमिका बढ्दै जाँदा अन्तरिक्षमा सैन्य उपकरणको प्रयोग पनि बढ्ने अपेक्षा गरिएको छ ।
अमेरिकाले कस्तो हतियार तैनाथ गरेको हुन सक्छ ?
अमेरिकाले सार्वजनिक गरेको सूचनाका आधारमा उसले कस्तो हतियार तैनाथ गरेको हो भन्ने यकिन गर्न सकिँदैन ।
रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (आरयूएसआई) का सैन्य विज्ञान विभागका एसोसिएट फेलो तथा डरहम विश्वविद्यालयका अन्तरिक्ष राजनीति विषयका एसोसिएट प्रोफेसर डा. ब्लेडिन बोवेनले पनि उपलब्ध सूचनाका आधारमा अनुमान मात्रै गर्न सकिने बताएका छन् ।
बीबीसी रेडियो–४ को ‘टुडे’ कार्यक्रममा उनले यो इलेक्ट्रोनिक युद्धसँग सम्बन्धित प्रणाली वा रेडियो सिग्नल जाम गर्ने उपकरण हुन सक्ने बताएका छन् ।
यस्तो उपकरणले अर्को उपग्रहसँगको सञ्चार अवरुद्ध गर्न सक्छ । उपग्रहसँग सञ्चार सम्पर्क नै काटिएमा त्यसको सैन्य उपयोगिता निकै घट्न सक्छ ।
अर्को सम्भावना भनेको ‘एन्टी–स्याटेलाइट’ अर्थात् उपग्रहलाई नष्ट नगरी काम गर्न नसक्ने बनाउने हतियार हो ।
तर विज्ञहरूले अझ बढी क्षति पुर्याउन सक्ने हतियारको सम्भावनालाई पनि पूर्ण रूपमा अस्वीकार गरेका छैनन् ।
त्यस्तो हतियार प्रयोग गर्दा अन्तरिक्षमा ठूलो मात्रामा भग्नावशेष अर्थात् ‘स्पेस डेब्रिस’ उत्पन्न हुन सक्छ ।
यद्यपि, बोवेनका अनुसार अर्को उपग्रहसँग ठोक्किएर त्यसलाई नष्ट गर्ने किसिमको वाहन हुने सम्भावना कम देखिन्छ ।
अर्को सम्भावना भनेको कुनै उपग्रहको नजिक पुगेर त्यसको निरीक्षण गर्ने, समात्ने वा त्यसको कक्ष परिवर्तन गर्ने क्षमता भएको उपकरण पनि हुन सक्छ ।

रूस र चीनसँग पनि यस्ता क्षमता छन् ?
अमेरिकाका प्रतिद्वन्द्वी रूस र चीनले पनि अन्तरिक्षमा कस्ता हतियार तैनाथ गरेका छन् भन्ने पूर्ण रूपमा सार्वजनिक छैन ।
जर्मन इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड सेक्युरिटी अफेयर्सकी अनुसन्धानकर्ता जुलियाना जूसका अनुसार चीन र रूस दुवैले अन्तरिक्षमा सैन्य प्रयोजनमा प्रयोग हुन सक्ने गतिविधि गरिरहेका छन् ।
उनका अनुसार रूसले एउटै कक्षमा ‘एन्टी–स्याटेलाइट’ हतियारको परीक्षणजस्तो देखिने गतिविधि गरेको छ । यसको अर्थ रूसले सम्भावित रूपमा कुनै हतियार वा क्षेप्यास्त्र परीक्षणका लागि अन्तरिक्षमा पठाएको हुन सक्छ ।
तर अमेरिकी हतियारबारे पर्याप्त जानकारी सार्वजनिक नभएकाले अमेरिका, रूस र चीनका क्षमताबीच सीधा तुलना गर्न कठिन छ ।
अमेरिका, रूस, चीन र भारतले विभिन्न प्रकारका एन्टी–स्याटेलाइट वा ‘काउन्टर–स्पेस’ प्रविधि विकास गरेका छन् ।
यीमध्ये केही प्रविधि पृथ्वीबाट प्रक्षेपण गरेर अन्तरिक्षमा रहेका उपग्रहलाई निशाना बनाउन सकिने खालका छन् ।
उपग्रहको ‘पीछा’ गर्ने प्रविधि
पछिल्लो एक दशकमा रूस र चीनले अन्तरिक्षमा ‘रेन्डेभु एन्ड प्रोक्सिमिटी अपरेसन’ (आरपीओ) भनिने गतिविधि बढाएका छन् ।
यसमा एउटा उपग्रह अर्को उपग्रहको नजिक पुगेर उसको वरिपरि निश्चित गतिविधि गर्छ ।
रूस र चीनका उपग्रहहरू पश्चिमी मुलुकका उपग्रहको नजिक पुगेर तिनलाई पछ्याएको समेत देखिएको छ ।
लन्डनस्थित किङ्स कलेजका रूसको सुरक्षा तथा रक्षा मामिलाका लेक्चरर डा. रड थर्नटनका अनुसार आरपीओ प्रविधिलाई सैद्धान्तिक रूपमा अर्को उपग्रहको ‘शिकार’ गर्ने हतियारमा रूपान्तरण गर्न सकिन्छ ।
त्यस्ता उपग्रहले अर्को उपग्रहसँग ठोक्किन वा त्यसलाई धकेलेर उसको कक्ष परिवर्तन गर्न सक्छन् ।
चीनले ‘स्पेस टग’ अर्थात् एउटा उपग्रहलाई समातेर अर्को कक्षमा लैजान सक्ने प्रविधि पनि प्रदर्शन गरेको बताइन्छ ।
यो प्रविधिको गैरसैनिक प्रयोग पनि हुन सक्छ । उदाहरणका लागि अन्तरिक्षमा रहेका भग्नावशेष हटाउन वा काम गरिरहेका उपग्रहलाई अर्को स्थानमा सार्न यसको प्रयोग गर्न सकिन्छ ।
तर यही प्रविधि सैन्य प्रयोजनमा प्रयोग भएमा अर्को देशको उपग्रहलाई नियन्त्रण गर्ने वा निष्क्रिय पार्ने माध्यम बन्न सक्छ ।
अन्तरिक्षमा बढ्दो ‘स्पेस डेब्रिस’को खतरा
अन्तरिक्षमा हतियार प्रयोग गर्दा अर्को ठूलो समस्या ‘स्पेस डेब्रिस’ अर्थात् अन्तरिक्षमा फैलिने भग्नावशेष हो ।
किङ्स कलेजका अन्तरिक्ष सुरक्षा तथा हतियार विशेषज्ञ डा. मार्क हिलबोर्नका अनुसार सन् २००७ मा चीनले पृथ्वीबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्रमार्फत अन्तरिक्षमा रहेको आफ्नै एउटा उपग्रह नष्ट गरेको थियो ।
उक्त परीक्षणबाट ठूलो मात्रामा भग्नावशेष उत्पन्न भएको थियो । तीमध्ये धेरै वस्तु अझै पृथ्वीको कक्षमा रहेका छन् ।
जुलियाना जूसका अनुसार अन्तरिक्षमा क्षति पुर्याउन ठूलो वस्तु नै आवश्यक हुँदैन ।
पृथ्वीको कक्षमा वस्तुहरू अत्यन्त तीव्र गतिमा घुम्ने भएकाले सानो टुक्राले समेत उपग्रहमा ठूलो क्षति पुर्याउन सक्छ ।
यसैले एउटा उपग्रह नष्ट गर्दा त्यसबाट निस्कने हजारौं टुक्राले अन्य उपग्रहलाई समेत जोखिममा पार्न सक्छन् ।
परमाणु हतियारको जोखिम
अन्तरिक्ष युद्धको सबैभन्दा गम्भीर सम्भावनाका रूपमा परमाणु हतियारको प्रयोगलाई पनि हेरिन्छ ।
डा. थर्नटनका अनुसार रूससँग अमेरिका र चीनको तुलनामा कम सैन्य उपग्रह भए पनि उससँग पृथ्वीबाट प्रहार गर्न सकिने शक्तिशाली क्षेप्यास्त्र क्षमता छ ।
रूससँग पृथ्वीको तल्लो कक्षमा रहेका उपग्रहलाई निशाना बनाउन सक्ने क्षमताका साथै विमानबाट उच्च उचाइमा लगेर प्रहार गर्न सकिने एन्टी–स्याटेलाइट क्षेप्यास्त्र पनि रहेको बताइन्छ ।
उनका अनुसार रूसले नेटोसँग ठूलो संख्यामा र तुलनात्मक रूपमा उन्नत उपग्रह रहेको ठान्ने भएकाले उपग्रहविरोधी हतियारलाई रणनीतिक महत्व दिएको छ ।
अन्तरिक्षमा परमाणु हतियार प्रयोग भएमा त्यसबाट उत्पन्न विद्युत्–चुम्बकीय प्रभाव अर्थात् ईएमपीले ठूलो क्षेत्रमा रहेका सुरक्षा व्यवस्था नगरिएका उपग्रहलाई क्षति पुर्याउन सक्छ ।
तर यस्तो अवस्था पृथ्वीमा चलिरहेको ठूलो सैन्य द्वन्द्वसँग जोडिएर मात्र उत्पन्न हुने सम्भावना विज्ञहरूले औंल्याएका छन् ।
बोवेनका अनुसार अन्तरिक्षमा हुने घटना पृथ्वीमा भइरहेका घटनाबाट अलग हुँदैनन् ।
त्यसैले अन्तरिक्षमा हतियार प्रयोगको सम्भावनालाई पृथ्वीमा हुने सैन्य तथा राजनीतिक घटनाक्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ ।
अमेरिकाले अहिले किन घोषणा गर्यो ?
अन्तरिक्षमा सैन्य प्रविधि र हतियार लामो समयदेखि प्रयोग हुँदै आएका छन् । त्यसो भए अमेरिकाले अहिले आफूले अन्तरिक्षमा हतियार तैनाथ गरेको घोषणा किन गर्यो ?
विशेषज्ञहरूका अनुसार यो घोषणा नयाँ प्रविधिको प्रदर्शनभन्दा पनि रणनीतिक र राजनीतिक सन्देश हुन सक्छ ।
डा. बोवेनले यसलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको प्रतिक्रियाका रूपमा हेर्न सकिने बताएका छन् ।
पछिल्लो तीन दशकमा चीनले आफ्नो सैन्य क्षमता तीव्र रूपमा आधुनिकीकरण गरेको छ । चीनले अन्तरिक्षमा पनि ठूलो संख्यामा सैन्य उपग्रह तैनाथ गरेको छ ।
यसले सम्भावित द्वन्द्वको अवस्थामा अमेरिकाका लागि चीनका सैन्य उपग्रहलाई महत्वपूर्ण लक्ष्य बनाएको छ ।
तर अमेरिकाको अन्तरिक्षमा निर्भरता पनि उच्च छ । त्यसैले चीनले पनि अमेरिकी उपग्रह तथा अन्तरिक्ष पूर्वाधारलाई लक्ष्य बनाउन सक्ने जोखिम रहन्छ ।
यही कारण अमेरिका र चीनबीच अन्तरिक्ष क्षमताको प्रतिस्पर्धा बढिरहेको विज्ञहरूको विश्लेषण छ ।
अन्तरिक्ष युद्धमा रूसको भूमिका कस्तो हुन सक्छ ?
अमेरिका र चीनको तुलनामा रूससँग सैन्य उपग्रहको संख्या कम रहेको बताइन्छ ।
तर रूससँग पृथ्वीबाट अन्तरिक्षमा रहेका लक्ष्यलाई निशाना बनाउन सक्ने क्षेप्यास्त्र तथा अन्य एन्टी–स्याटेलाइट क्षमता छन् ।
अन्तरिक्षमा रहेका उपग्रहको नजिक पुगेर तिनलाई धकेल्ने, कक्ष परिवर्तन गर्ने वा सम्भावित रूपमा नष्ट गर्न सक्ने प्रविधि पनि अन्तरिक्ष युद्धको अर्को सम्भावित माध्यम हो ।
त्यसैगरी पृथ्वीबाट प्रयोग गर्न सकिने लेजर प्रणालीलाई पनि उपग्रहको सेन्सर वा अन्य संवेदनशील उपकरणमा असर पुर्याउने सम्भावित प्रविधिका रूपमा हेरिएको छ ।
यसले अन्तरिक्षलाई अब केवल वैज्ञानिक अनुसन्धान वा सञ्चारको क्षेत्र मात्र नभई प्रमुख सैन्य प्रतिस्पर्धाको क्षेत्रसमेत बनाउँदै लगेको देखाउँछ ।
अन्तरिक्षमा हतियारको प्रयोग बढ्दै जाँदा त्यसले सम्बन्धित देशका सैन्य क्षमतामा मात्र होइन, सञ्चार, नेभिगेसन, मौसम पूर्वानुमान र नागरिक पूर्वाधारमा निर्भर विश्वव्यापी प्रणालीमा समेत असर पार्न सक्ने जोखिम छ ।
त्यसैले अन्तरिक्षमा सैन्य गतिविधि बढिरहेको अवस्थामा हतियारको विकाससँगै अन्तरिक्षको दिगोपन, भग्नावशेष नियन्त्रण र अन्तर्राष्ट्रिय नियमको विषय पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ ।
–बीबीसी हिन्दीको सहयोगमा
प्रतिक्रिया 4