News Summary
Generated by OK AI. Editorially reviewed.- ह्वाइट हाउसले ट्रम्प टिभी लन्च गर्ने घोषणा गरेको छ, जसले ट्रम्प प्रशासनसम्बन्धी सामग्री २४ सै घण्टा प्रसारण गर्नेछ।
- ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएपछि अमेरिकी टीभी नेटवर्कहरूले ह्वाइट हाउसको साझा कभरेज रोकेका छन्।
- सीएनएन, एमएस नाउ र पोलिटिकोले ट्रम्प प्रशासनविरुद्ध अमेरिकी सङ्घीय अदालतमा मुद्दा दायर गर्दै पहुँच पुनर्बहाली र शीघ्र सुनुवाइ माग गरेका छन्।
६ असोज, काठमाडौं । अमेरिकी ह्वाइट हाउसले सोमबार ट्रम्प टिभी लन्च गर्ने घोषणा गरेको छ। यो डिजिटल नेटवर्कले २४ सै घण्टा ट्रम्प प्रशासनसँग जोडिएका सामग्री प्रसारण गर्नेछ। ट्रम्प र अमेरिकी सञ्चारमाध्यमबीच विवाद उत्कर्षमा पुगेको समयमा यो नयाँ च्यानल लन्च गरिएको हो।
सेप्टेम्बर १८ मा ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएका थिए। उनले यी सञ्चारमाध्यममाथि झुटा समाचार फैलाएको आरोप लगाउँदै अन्य मिडिया हाउसमाथि पनि कारबाही गर्ने चेतावनी दिएका थिए।
यो प्रतिबन्धको विरोधमा अमेरिकी टीभी नेटवर्कहरूले ट्रम्पको प्रत्यक्ष प्रसारण रोकिदिएका छन्। हालै भएको ह्वाइट हाउसको नयाँ हेलिप्याड उद्घाटनको पनि लाइभ कभरेज गरिएन।
यसका साथै, आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले दिने भाषणको पनि लाइभ कभरेज नहुने भएको छ।
हेलिप्याड उद्घाटनको भिडियो ह्वाइट हाउसबाटै
सोमबार ह्वाइट हाउसमा नयाँ हेलिप्याडको उद्घाटन भयो। सामान्यतया यस्ता कार्यक्रमहरूको भिडियो कभरेज टीभी नेटवर्कहरूले गर्ने गर्थे, तर यसपटक उनीहरूले साझा कभरेज रोकेका कारण ह्वाइट हाउस आफैँले कार्यक्रमको भिडियो जारी गर्नुपर्यो।
कार्यक्रममा टीभी नेटवर्कका क्यामेरा र माइक्रोफोनहरू थिएनन्। जसका कारण ट्रम्पको आवाज प्रस्ट सुनिएको थिएन भने मरिन वान हेलिकप्टरको आवाजले पनि बाधा पुर्याएको थियो।
अब यस्ता कार्यक्रमहरूको कभरेजका लागि ह्वाइट हाउससँग आफ्नै डिजिटल प्लेटफर्म तयार भएको छ, जसलाई ट्रम्प टिभीमा प्रसारण गर्न सकिनेछ।
न्युयोर्क टाइम्सद्वारा तस्बिर छाप्न अस्वीकार, प्रेसिडेन्सियल पुलको बहिष्कार
अमेरिकी अखबार न्युयोर्क टाइम्सले पनि सोमबार ह्वाइट हाउसको फोटो पुलबाट प्राप्त तस्बिरहरू प्रकाशन र सेयर नगर्ने निर्णय गरेको छ। अखबारले ह्वाइट हाउसबाट निकालिएका पत्रकारहरूको समर्थनमा यस्तो कदम चालिएको जनाएको छ।
यद्यपि, सरकारको कामकारबाहीमाथि स्वतन्त्र मिडियाको निगरानी आवश्यक रहेको भन्दै ट्रम्पको न्युयोर्क भ्रमणको स्वतन्त्र कभरेज भने जारी राख्ने पत्रिकाले स्पष्ट पारेको छ।
अमेरिकामा राष्ट्रपतिका हरेक कार्यक्रममा सबै टीभी च्यानलका क्यामेरा पुग्न सम्भव हुँदैन। त्यसैले एबीसी, सीबीएस, सीएनएन, फक्स न्युज र एनबीसीले एउटा साझा व्यवस्था बनाएका छन्, जसलाई प्रेसिडेन्सियल टेलिभिजन पुल भनिन्छ।
यसमा नेटवर्कहरूले पालैपालो राष्ट्रपतिको कार्यक्रमको भिडियो रेकर्ड गर्छन् र फुटेज अन्य मिडियालाई उपलब्ध गराउँछन्।
यसपटक कभरेज गर्ने पालो सीएनएनको थियो, तर ह्वाइट हाउसले उसका पत्रकारमाथि प्रतिबन्ध लगायो। त्यसपछि अन्य नेटवर्कहरूले सीएनएनको सट्टा कभरेज गर्नुको साटो साझा टीभी पुलको काम नै रोकिदिए।
प्रतिबन्धविरुद्ध तीनवटै मिडिया अदालतमा
सीएनएन, एमएस नाउ र पोलिटिकोले ट्रम्प प्रशासनविरुद्ध अमेरिकी सङ्घीय अदालतमा मुद्दा दायर गरेका छन्। तीनवटै मिडिया हाउसले ह्वाइट हाउसमा आफ्नो पहुँच पुनर्बहाली गर्न माग गरेका छन्।
एसोसिएटेड प्रेसका अनुसार, उनीहरूले प्रशासनमाथि अमेरिकी संविधानको पहिलो र पाँचौँ संशोधनले दिएको अधिकार उल्लङ्घन गरेको आरोप लगाएका छन् र यस विषयमा शीघ्र सुनुवाइको माग गरेका छन्।
ट्रम्पले सन् २०१६ देखि नै सीएनएनका समाचारहरूलाई ‘फेक न्युज’ भन्दै आएका छन्। उनको पहिलो कार्यकालमा पनि सीएनएनका पत्रकारहरूको ह्वाइट हाउस पासलाई लिएर विवाद भएको थियो।
उनले न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नल जस्ता ठूला अखबारहरूमाथि पनि आफूविरुद्ध पक्षपातपूर्ण समाचार लेखेको आरोप लगाउँदै आएका छन्।
ट्रम्पले यी सञ्चारमाध्यमले जानाजानी आफ्नो छवि बिगार्ने समाचार लेख्ने गरेको दाबी गर्दै कतिपय अवस्थामा मानहानिको मुद्दासमेत हालेका छन्।
यसअघि, जनवरी २०२१ मा ट्रम्पलाई सामाजिक सञ्जाल एक्सबाट प्रतिबन्ध लगाइएको थियो। त्यसपछि उनले २१ फेब्रुअरी २०२२ मा आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल लन्च गरेका थिए। हाल यस प्लेटफर्मका करिब ६० लाख सक्रिय प्रयोगकर्ता छन् भने ट्रम्पको आफ्नै खातामा करिब १ करोड २९ लाख फलोअर्स रहेका छन्।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4