+
+
Shares

लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन र चैनपुराको १३२/३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ।
  • सबस्टेसनमा ८४ एमभीए क्षमता छ र स्थानीय वितरणका लागि ३३ केभीका ५ तथा ११ केभीका ६ फिडर निकालिएका छन्।
  • प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ।

६ असोज, काठमाडौं । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसन समेत सञ्चालनमा आएको छ ।

सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुईवटा तथा ३३/११ केभी, २४ एमभीए क्षमताको एक पावर ट्रान्सफर्मर जडान गरिएको छ । यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभीए रहेको छ । स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका ६ वटा फिडर निकालिएका छन् ।

प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीको मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया, बरहथवालगायतका क्षेत्रमा विद्युत आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ । यसबाट विद्युत चुहावट घट्नुका साथै न्यून भोल्टेज, बारम्बार हुने विद्युत् विच्छेद (ट्रिपिङ) लगायत समस्या न्यूनीकरण हुनेछन् । साथै, स्थानीय क्षेत्रमा विद्युतको बढ्दो माग व्यवस्थापन गर्न तथा आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विषयलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताए । उनले विद्युतको प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणका कामलाई योजनाबद्ध रूपमा अघि बढाइएको उल्लेख गरे ।

करिब २० किलोमिटर प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २०७९ चैतमा १ अर्ब १२ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०८० वैशाखदेखि कार्यान्वयनमा आएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा आयोजना निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?