७ असोज, काठमाडौं । अमेरिकी सङ्घीय अदालतले ह्वाइट हाउसमा सीएनएन, एमएस नाउ र पोलिटिकोमाथि लगाइएको प्रतिबन्धलाई तत्कालका लागि रोकिदिएको छ।
न्युयोर्क टाइम्सका अनुसार, एक सङ्घीय न्यायाधीशले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त आदेश असंवैधानिक हुन सक्ने भन्दै ती तीनवटै सञ्चारमाध्यमको पहुँच तत्काल पुनर्बहाली गर्न ट्रम्प प्रशासनलाई आदेश दिएका हुन्।
वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश टिमोथी जे. केलीले १४ दिने अस्थायी आदेश जारी गर्दै ह्वाइट हाउसलाई ती तीन सञ्चारमाध्यमका कर्मचारीहरूको प्रेस पास तत्काल फिर्ता र पुनर्बहाली गर्न निर्देशन दिएका छन्।
अदालतको यो फैसलासँगै गत शुक्रबारदेखि सुरु भएको अस्तव्यस्त घटनाक्रम तत्कालका लागि रोकिएको छ। गत शुक्रबार राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै ती मिडिया हाउसहरूको रिपोर्टिङका कारण उनीहरूलाई ह्वाइट हाउसमा प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए।
ट्रम्पको उक्त घोषणापछि शनिबार सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउस परिसरमा प्रवेश गर्न रोक लगाइएको थियो।
ह्वाइट हाउसको उक्त कदमविरुद्ध सोमबार यी तीनवटै सञ्चारमाध्यमहरूले ट्रम्प प्रशासनले अमेरिकी संविधानको पहिलो संशोधनले दिएको अधिकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लङ्घन गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए।
अदालतको यो आदेशपछि अब प्रतिबन्धमा परेका सञ्चारमाध्यमका पत्रकारहरूले ह्वाइट हाउसमा पुनः प्रवेश र रिपोर्टिङ गर्न पाउने बाटो खुलेको छ।
प्रतिक्रिया 4