News Summary
Generated by OK AI. Editorially reviewed.- द एटलान्टिकमा रोज होरोविचले प्रकाशित निबन्धले गहिरो पठनको क्रमिक ह्रासबारे प्रश्न उठाउँदै विश्वभर बहस र प्रतिक्रिया उत्पन्न गरेको छ।
- निबन्धले डिजिटल माध्यम, एल्गोरिदम र कृत्रिम बुद्धिमत्ताले पठन संस्कृति, आलोचनात्मक चिन्तन र लोकतान्त्रिक सहभागितामा जोखिम बढाएको तर्क गरेको छ।
- नेपालजस्ता विकासोन्मुख देशका लागि लेखले पठन संस्कृतिविना डिजिटल युगमा प्रवेश गर्दा बौद्धिक असमानता र शिक्षा गुणस्तर कमजोर हुने चेतावनी दिएको छ।
शताब्दीयौंदेखि साक्षरताको विस्तारलाई मानव सभ्यताको सर्वोत्कृष्ट उपलब्धि मानिँदै आएको छ। पढ्न–लेख्न सिक्नु केवल औपचारिक विद्यालयीय दक्षता होइन, मानवीय सम्भावनाको क्षितिज फराकिलो बनाउने रूपान्तरणकारी माध्यम पनि हो। यसले ज्ञानलाई अभिजात वर्गको घेराबाट मुक्त गरी आम नागरिकको पहुँचमा पुर्यायो।
साक्षरताले नै नागरिकलाई जीवनपर्यन्त सिक्ने क्रियामा सरिक रहन, लोकतान्त्रिक अभ्यासमा सक्रिय हुन, सत्तामाथि प्रश्न उठाउन, सामूहिक स्मृतिलाई अक्षुण्ण राख्न र आफ्ना तत्कालीन परिवेशभन्दा परका सम्भावनाहरूको परिकल्पना गर्न सक्षम बनाउँछ।
आधुनिक विकासको सम्पूर्ण अवधारणा पनि यही विश्वासमा आधारित छ। सम्पन्न तथा विकसित मुलुकलगायत विकासोन्मुख समाजहरूले शिक्षालाई आर्थिक समृद्धि, सामाजिक गतिशीलता र मानव विकासको आधारशिला मान्दै शिक्षामा लगानी गर्छन्। कुनै बालबालिकाले पढ्न सिक्नु भनेको एउटा सामान्य सीप हासिल गर्नु मात्र होइन; त्यसका माध्यमबाट ऊ एउटा फराकिलो बौद्धिक संसारमा प्रवेश गरिरहेको हुन्छ। पढ्न सिक्नु नै नयाँ विचारसँग साक्षात्कार गर्ने, ज्ञानसँग संवाद गर्ने र जीवनका सम्भावनाहरूलाई नयाँ गोरेटो दिने एउटा बलियो प्रस्थानविन्दु हो।
तर आज मानव इतिहास एउटा अनौठो मोडमा आइपुगेको छ। एकातिर, धेरै विकासोन्मुख देशहरू अझै पनि प्रत्येक बालबालिकालाई आधारभूत साक्षरता दिलाउने सङ्घर्षमा जुटिरहेका छन्। अर्कोतिर, संसारका शिक्षित वा उच्च साक्षरता हासिल गरिसकेका केही समाजहरू भने साक्षरोत्तर (पोस्ट-लिटरेट) युगतर्फ ढल्किँदै त छैनन् ? भन्ने प्रश्न उठिरहेको छ।
साक्षरोत्तर समाजको अवधारणा अहिलेसम्म पूर्ण विकसित र सर्वमान्य सिद्धान्तका रूपमा स्थापित भइसकेको छैन; तर पछिल्ला वर्षहरूमा भने सञ्चारमाध्यम, शिक्षा र सांस्कृतिक अध्ययनका क्षेत्रमा यससम्बन्धी बहस र विमर्शहरू बढिरहेका छन्।
यसको प्रारम्भिक प्रयोग क्यानडेली साहित्यविद् तथा सञ्चारमाध्यमका चिन्तक मार्सल म्याक्लुहानले सन् १९६२ मा गरेका थिए। मुद्रित शब्दमा आधारित साक्षर संस्कृतिबाट विद्युतीय माध्यमद्वारा पुनर्संरचित सामाजिक र सांस्कृतिक संसारतर्फ भइरहेको सङ्क्रमणलाई बुझ्न उनको विचार विशेष रूपमा उपयोगी देखिन्छ। आजको डिजिटल संस्कृतिले त्यस सङ्क्रमणलाई अझ तीव्र र व्यापक बनाएको छ।
साक्षरोत्तर समाज भन्नाले त्यस्तो सामाजिक अवस्थालाई जनाउँछ; जहाँ मानिसहरूमा पढ्न–लेख्न सक्ने क्षमता (साक्षरता) विकसित भइसकेको हुन्छ, तर संस्कृति, ज्ञान निर्माण, सार्वजनिक संवाद र सामाजिक जीवनलाई व्यवस्थित गर्ने मुख्य माध्यम अब मुद्रित पाठ मात्र रहँदैन। यस अवस्थामा पुस्तक, पत्रपत्रिका र लिखित सामग्रीको स्थान पूर्ण रूपमा समाप्त त हुँदैन, तर ज्ञान र सूचनाको प्रवाहमा दृश्य, ध्वनि, भिडियो, डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल तथा अन्य बहुमाध्यमीय माध्यमहरू प्रमुख बन्न थाल्छन्।

रेडियो, टेलिभिजन र पछिल्ला डिजिटल प्रविधिहरूले मानव सञ्चारको संरचनामै आधारभूत परिवर्तन ल्याएका छन्। मुद्रण संस्कृतिले विकास गरेका रैखिक, क्रमिक, विश्लेषणात्मक र गहिरो चिन्तनमा आधारित पठनका बानीहरू अब दृश्य, ध्वनि, तात्कालिकता, एकै समयमा धेरै सूचनाको ग्रहण र बहुइन्द्रिय अनुभवमा आधारित सञ्चार शैलीबाट चुनौतीमा परेका छन्। यस परिवर्तनले मानिसको ज्ञान प्राप्ति, अर्थ निर्माण, स्मरणशक्ति र सार्वजनिक विषयमा धारणा बनाउने तरिकालाई पुनः परिभाषित गरिरहेको छ।
सामान्यतया साक्षरोत्तर भन्नाले नवसाक्षर व्यक्तिहरूले आधारभूत पढ्ने–लेख्ने सीप सिकेपछि भर्खरै सिकेको सीपलाई जोगाउन, दैनिक जीवनमा साक्षरताको प्रयोग बढाउन र सिकाइलाई निरन्तर राख्न प्रवेश गर्ने पछिल्लो चरणलाई जनाउँछ। यस लेखमा छलफल गर्न खोजिएको साक्षरोत्तर समाजको अवधारणा साक्षरता र थप साक्षरता विस्तारको सन्दर्भमा प्रयोग हुने साक्षरोत्तरभन्दा फरक छ।
साक्षरोत्तर समाजमा ज्ञानको निर्माण, सञ्चार र सामाजिक विमर्शको आधार परम्परागत मुद्रित पाठद्वारा मात्र नरहेर डिजिटल, दृश्य–श्रव्य तथा कृत्रिम बौद्धिक माध्यमहरूद्वारा निर्देशित हुन्छ। यसको वास्तविक विशेषता भनेको अक्षरको ज्ञान भए पनि पठनमा हुने अरुचि वा पठन–उदासीनता हो। अर्थात्, मानिसहरू लिखित पाठ्यसामग्री बुझ्न र प्रयोग गर्न सक्षम हुन्छन्; तर उनीहरूको दैनिक जीवन, सूचना उपभोग, मनोरञ्जन, सामाजिक सहभागिता र सांस्कृतिक अनुभव क्रमशः गैरपाठ्य माध्यमद्वारा बढी निर्देशित हुन थाल्छ। छोटा भिडियो, तस्बिर, ध्वनि, सामाजिक सञ्जालका सामग्री, एल्गोरिदमद्वारा छनोट गरिएका सूचनाहरू र कृत्रिम बुद्धिमत्ताबाट उत्पादित सामग्रीहरूले सार्वजनिक चेतना र विचार निर्माणमा मुख्य भूमिका खेलेका हुन्छन्।
यस अर्थमा साक्षरोत्तर समाज पुस्तक वा साक्षरताको अन्त्य होइन; यो सञ्चारमाध्यम र ज्ञान प्रणालीमा आएको ऐतिहासिक विविधीकरण हो। मुख्य प्रश्न अब ‘मानिसहरू पढ्न सक्छन् कि सक्दैनन् ?’ भन्ने होइन; उनीहरूले गहिरो पठन, आलोचनात्मक चिन्तन, विश्लेषणात्मक तर्क र जटिल विचारसँग दीर्घकालीन संलग्नताको क्षमता कसरी कायम राख्छन् ? भन्ने हो।
सूचनाको तीव्र प्रवाहबीच मानिसलाई केवल सूचना उपभोक्ता होइन; विचारशील, विवेकशील र आलोचनात्मक ज्ञान निर्माणकर्ता कसरी बनाउने ? भन्ने नै डिजिटल युगको चुनौती हो।
यही चिन्ता पत्रकार तथा लेखिका रोज होरोविचले द एटलान्टिकमा हालै प्रकाशित आफ्नो व्यापक रूपमा चर्चित निबन्धमा व्यक्त गरेकी छन्। उनको निबन्धले संयुक्त राज्य अमेरिकामा मात्र होइन, विश्वभर नै व्यापक बहस र प्रतिक्रिया उत्पन्न गरेको छ। उनको प्रश्न छ- ‘के हामी पठनको अन्त्य तर्फ उन्मुख भइरहेका छौं ?’
यो लेखको उद्देश्य रोज होरोविचले उठाएका चिन्ताहरूलाई विकासोन्मुख समाजहरूको सन्दर्भमा थप विस्तृत रूपमा छलफल गर्नु, तिनका शैक्षिक तथा सामाजिक प्रभावहरूलाई विश्लेषण गर्नु र सम्भावित नीतिगत तथा व्यावहारिक दिशानिर्देशहरू पहिचान गर्नु हो।
होरोविचको तर्क ‘पुस्तकहरू अचानक हराउनेछन्’ वा ‘मानिसहरूले लिखित शब्द देख्नै वा हेर्नै छाड्नेछन्’ भन्ने होइन। बरु उनले अझ गहिरो प्रश्न उठाएकी छन्। त्यो के भने- यदि कुनै समाजले गहिरिएर अविच्छिन्न पढ्ने बानी नै गुमाउन थाल्यो भने के हुन्छ ? मानिसहरू जटिल विचारसँग लामो समयसम्म चिन्तन गर्न, विस्तृत तर्कहरूलाई क्रमबद्ध रूपमा पछ्याउन र आफ्नो कल्पनाशक्तिको सहायताले पाठबाट अर्थ निर्माण गर्न क्रमशः असमर्थ हुन थाले भने त्यसले समाजको बौद्धिक जीवनमा कस्तो प्रभाव पार्ला ?
साक्षरता लगभग सर्वव्यापी भइसकेका सम्पन्न समाजहरूका लागि यो एक प्रकारको सांस्कृतिक सङ्कट हो। तर नेपालजस्ता अझै पनि साक्षरता विस्तार र पठन संस्कृतिको निर्माणकै चरण पूरा भइनसकेको विकासोन्मुख देशहरूका लागि यो चुनौती अझ जटिल र बहुआयामिक छ।
एकातिर, उनीहरू साक्षरता क्रान्तिलाई पूर्णता दिने प्रयासमा छन्; अर्कोतिर, विश्व भने त्यही पठन संस्कृतिको केन्द्रीय भूमिकाबाट क्रमशः टाढिँदै गएको देखिन्छ, जसले आधुनिक साक्षरता आन्दोलनलाई अर्थ र उद्देश्य प्रदान गरेको थियो। यसरी, यी समाजहरू साक्षरताको अधुरो प्रतिज्ञा पूरा गर्न सङ्घर्ष गरिरहेका बेला विश्वका धेरै भागमा साक्षरताले सम्भव बनाएको गहिरो पठन, एकाग्र चिन्तन र बौद्धिक संलग्नताको संस्कृतिमाथि नै दबाब बढ्दै गएको छ।
साक्षरोत्तर समाजको उदयले शिक्षा प्रणालीमा गम्भीर संरचनात्मक जोखिम निम्त्याएको छ। डिजिटल माध्यमका तीव्र, अल्पकालिक र श्रव्य–दृश्य सङ्केतहरूले गर्दा विद्यार्थीहरूको गहिरो पठन क्षमता, जटिल तर्क–ग्रहण शक्ति र विश्लेषणात्मक धैर्य क्रमशः क्षय भइरहेको छ। यसले सिकाइको गुणस्तर खस्काउनुका साथै कक्षाकोठामा गम्भीर पठन, संवाद र सन्तुलन कायम राख्न प्रयासरत शिक्षकहरूलाई पर्याप्त नीतिगत र प्रणालीगत सहयोगको अभावमा थप असहाय बनाएको छ।
यदि शिक्षा नीतिले यस ज्ञानात्मक रूपान्तरणलाई समयमै सम्बोधन नगर्ने हो भने विद्यालयहरू सतही बुझाइ, गलत सूचना र एल्गोरिदम–निर्देशित परिस्थिति (इकोसिस्टम) सँग प्रतिस्पर्धा गर्न असमर्थ बन्नेछन्। अन्ततः यसले नागरिक चेतना, लोकतान्त्रिक सहभागिता र समाजको दीर्घकालीन बौद्धिक तथा पेसागत क्षमतामा अपूरणीय क्षति पुर्याउनेछ।
होरोविचको चेतावनी : गहिरो पठनको क्रमिक लोप

निबन्धको मूल तर्क के हो भने- आजको समस्या पठन क्रियाकलाप कम हुँदै जानु मात्र होइन। वास्तवमा, मानव इतिहासमा मानिसहरू आजजति धेरै लिखित सामग्रीले सायद कहिल्यै पनि घेरिएका थिएनन्। उनीहरू दिनभरि मोबाइलका सन्देश पढ्छन्, सामाजिक सञ्जालका टिप्पणी हेर्छन्, समाचारका शीर्षक स्क्रोल गर्छन्, खोज (सर्च) इन्जिनका नतिजा हेर्छन् र अनगिन्ती डिजिटल पाठसँग निरन्तर सम्पर्कमा रहन्छन्। समस्या त गहिरो पठनको क्रमिक ह्रास हुनु हो।
गहिरो पठन पढ्ने कार्य मात्र होइन; यो एउटा विशिष्ट बौद्धिक अभ्यास हो। यसका लागि एकाग्रता, धैर्य, व्याख्या गर्ने क्षमता, चिन्तन र कल्पनाशक्ति आवश्यक पर्छ। जब कुनै व्यक्तिले उपन्यास, इतिहासको गम्भीर विश्लेषण, दार्शनिक कृति वा गहन निबन्ध पढ्छ, तब उसको मस्तिष्कले सूचना ग्रहण मात्र गर्दैन; उसले ती सूचनाबीच सम्बन्ध स्थापित गर्छ, तिनको अर्थ निर्माण गर्छ र आफ्नै विचारको एउटा आन्तरिक संसार सिर्जना गर्छ।
पठनले मस्तिष्कलाई शान्त र सक्रिय बनाउँदै दुर्लभ सञ्ज्ञानात्मक पोषण दिन्छ। पाठसँगको निरन्तर साक्षात्कारले ध्यान, स्मरणशक्ति, भाषा र सहानुभूतिको दायरा फराकिलो पार्छ। विशेषगरी आख्यानले सामाजिक समझ, भावनात्मक सन्तुलन र जटिल तर्क क्षमता बढाउँछ। कल्पनाशक्ति र आत्मचिन्तनलाई मलजल गर्दै पाठकको आन्तरिक जीवनलाई समृद्ध बनाउँछ।
यो क्रममा पाठकले पात्रहरूको कल्पना गर्नुपर्छ, विभिन्न विचारहरूलाई आपसमा जोड्नुपर्छ, अस्पष्टता र बहुअर्थी अवस्थाको अर्थ लगाउनुपर्छ, पहिले प्रस्तुत गरिएका तर्कहरू सम्झेर पछिल्ला विचारसँग तुलना गर्नुपर्छ र अन्ततः सम्पूर्ण पाठको आशयबारे गहिरो रूपमा मनन गर्नुपर्छ।
यो अनुभव छोटो भिडियो हेर्ने वा छिटोछिटो परिवर्तन भइरहने डिजिटल सामग्री स्क्रोल गर्ने अनुभवभन्दा मौलिक रूपमा भिन्न हुन्छ। डिजिटल कोलाहलमा सूचना तुरुन्तै उपभोगका लागि प्रस्तुत गरिन्छ, ध्यान बारम्बार भङ्ग हुन्छ र विचारसँग लामो समयसम्म संवाद गर्ने अवसर अत्यन्त सीमित हुन्छ।
होरोविचको चिन्ता के हो भने- आधुनिक डिजिटल वातावरणले ज्ञानसँग मानिसको सम्बन्ध नै परिवर्तन गरिरहेको छ। कुनै विचारमा गहिरिएर प्रवेश गर्नुको सट्टा मानिसहरू सूचनाका असङ्ख्य टुक्राहरूको अन्त्यहीन प्रवाहमा एक विषयबाट अर्को विषयतर्फ निरन्तर सर्दै जान्छन्।
यसको परिणामस्वरूप यस्तो समाज निर्माण हुन सक्छ; जहाँ तथ्य र सूचनाको अभाव त हुँदैन, तर तिनलाई बुझ्ने, विश्लेषण गर्ने, आपसमा जोड्ने र तिनबाट विवेकपूर्ण निष्कर्ष निकाल्ने क्षमता क्रमशः क्षीण हुँदै जान्छ।
यहाँ बहस युवा पुस्ताको बौद्धिकतामाथि होइन। मूल प्रश्न त गहिरो चिन्तन, विश्लेषण र विवेक निर्माण गर्ने बौद्धिक वातावरण नै धराशायी बन्दै गएको हो कि ? भन्ने हो।
पठनले आकार दिएको विशिष्ट मानव चेतना
यस विमर्शको एउटा मुख्य पक्ष के हो भने- अध्ययन सूचना आदानप्रदानको साधन मात्र नभई मानवीय चिन्तन प्रक्रियालाई आकार दिने मूल आधार हो। मानव सभ्यताको विकासक्रममा मुद्रण र पठन संस्कृतिले बौद्धिक जीवनका केही आधारभूत बानीहरू निर्माण गर्यो।
जस्तै- जटिल विषयवस्तुलाई धैर्यपूर्वक बुझ्ने सामर्थ्य; लामो र तार्किक शृङ्खलालाई निरन्तर पछ्याउने क्षमता; हरेक प्रश्नको तयारी र सतही जवाफ खोज्नुभन्दा अनिश्चितता तथा बहुअर्थी पक्षलाई आत्मसात् गर्न सक्ने दृष्टिकोण; अरूको विश्लेषणमा मात्र भर नपरी पाठको मौलिक अर्थ पहिल्याउने स्वतन्त्रता; र तुरुन्तै प्रतिक्रिया जनाउनुभन्दा पहिले गम्भीर मनन एवं आत्मचिन्तन गर्ने बानी।
यी बौद्धिक गुणहरू व्यक्तिगत विकासमा मात्र सीमित नरही आधुनिक समाजका आधारभूत संस्थाहरूको निर्माण तथा सञ्चालनका जगसमेत बने।
उदाहरणका लागि- विज्ञान प्रमाणको वस्तुपरक अध्ययन, आलोचनात्मक पठन र गहन विश्लेषणमा टिकेको हुन्छ। कुनै पनि वैज्ञानिक निष्कर्ष केवल सूचना वा तथ्यको सङ्ग्रहबाट प्राप्त हुँदैन; त्यसका लागि प्रमाणको सूक्ष्म परीक्षण र विवेचना अपरिहार्य हुन्छ। त्यस्तै, कानुन लिखित दस्ताबेज, संवैधानिक प्रावधान, कानुनी नजिर र तार्किक व्याख्यामा निर्भर हुन्छ- जहाँ एउटा शब्द वा पदावलीको अर्थले समेत न्यायको दिशा मोडिदिन सक्छ।
अर्कातर्फ, लोकतन्त्रको सफलता त्यस्ता सचेत नागरिकहरूमा निर्भर रहन्छ; जो भिन्नभिन्न विचारको तुलना, परीक्षण, प्रश्न र विवेकपूर्ण विश्लेषण गर्न सक्षम हुन्छन्। फलस्वरूप, लोकतन्त्रको स्तर नागरिकको पठन संस्कृति र वैचारिक क्षमतासँग प्रत्यक्ष रूपमा जोडिन्छ।
विश्वविद्यालयहरूको मूल दायित्व ज्ञानको उत्पादन, संरक्षण, परीक्षण, प्रसार र पुनर्सृजनमार्फत समाजको बौद्धिक तथा वैज्ञानिक विकासमा योगदान गर्नु हो। मुद्रित वा लिखित पाठमार्फत ज्ञान सुरक्षित रहन्छ; प्रश्न, आलोचनात्मक चेत र अनुसन्धानमार्फत त्यसको पुनर्विमर्श सम्भव हुन्छ; अनि मात्र ज्ञान पुस्तान्तरण हुँदै थप परिष्कृत बन्छ।
यही पृष्ठभूमिमा होरोविचको चेतावनी मननीय छ। समाज यदि गहिरो अध्ययन र विमर्शबाट विमुख हुँदै गयो भने विज्ञान, कानुन, लोकतन्त्र र प्राज्ञिक संस्थाहरू धान्ने आधारभूत बौद्धिक जग नै कमजोर हुनेछ। कुनै समाज सूचनाको दृष्टिले जतिसुकै सम्पन्न भए पनि त्यहाँ विवेक, गहन बोध र दूरदर्शिताको खडेरी पर्न सक्छ; किनकि तथ्यहरूको बाहुल्य मात्रै विवेकको परिचायक हुन सक्दैन।
सञ्चारको विकाससँगै बदलिँदो चिन्ता
होरोविचले वर्तमान सङ्कटलाई ऐतिहासिक परिप्रेक्ष्यमा पनि हेरेकी छन्। मानव इतिहास हेर्दा सञ्चारको हरेक नयाँ माध्यमको उदयसँगै समाजमा आशङ्का र बहस पनि जन्मिएका छन्।
जब पहिलोपटक लेखन प्रणाली विकसित भयो, केही प्राचीन दार्शनिकहरूले चिन्ता व्यक्त गरेका थिए। उनीहरूको तर्क के थियो भने- मानिसहरू आफ्नै स्मरणशक्तिभन्दा लिखित अभिलेखमा बढी निर्भर हुन थालेपछि स्मरणशक्ति कमजोर हुन जानेछ।
पछि समाचारपत्रहरूको व्यापक विस्तारसँगै आलोचकहरूले नागरिकमा सूचनाको भार थपिने चेतावनी दिए। ‘सूचनाको बाहुल्य हुनु नै ज्ञानको वृद्धि हुनु होइन’ भन्ने उनीहरूको ठम्याइ थियो।
रेडियो र टेलिभिजनको आगमनसँगै बौद्धिक वृत्तमा नयाँ चिन्ता थपियो- श्रव्यदृश्य माध्यमले गहिरो अध्ययन र मननलाई विस्थापित गरेर मानिसलाई पढ्ने पाठकबाट केवल हेर्ने र सुन्ने दर्शक–श्रोतामा सीमित गरिदिनेछ।
तर समयले के देखायो भने- यीमध्ये केही आशङ्काहरू अतिरञ्जित पनि थिए, यद्यपि केही चिन्ताहरू आज पनि सान्दर्भिक देखिन्छन्। नयाँ प्रविधिहरूका कारण कुनै कुरा गुम्न पुग्छन्, तर सँगसँगै नयाँ सम्भावनाहरू पनि सिर्जना हुन्छन्।
मुद्रण प्रविधिले ज्ञानलाई सीमित अभिजात वर्गको नियन्त्रणबाट बाहिर ल्यायो र सामान्य नागरिकसम्म पुर्यायो। रेडियो र टेलिभिजनले शिक्षा, समाचार र सार्वजनिक जानकारी करोडौं मानिससम्म पुर्याए; जसले भौगोलिक दूरी र निरक्षरताका केही सीमाहरूलाई समेत कम गरिदियो। इन्टरनेटले त विश्वव्यापी ज्ञानको पहुँचलाई इतिहासमै अभूतपूर्व रूपमा विस्तार गरिदियो। आज संसारको कुनै पनि कुनामा बसेर मानिसले केही सेकेन्डमै ज्ञानको विशाल भण्डारसम्म पुग्न सक्छ।
त्यसैले मूल प्रश्न ‘प्रविधि आफैं राम्रो हो कि नराम्रो ?’ भन्ने होइन। वास्तविक प्रश्न के हो भने प्रत्येक नयाँ प्रविधिले कस्तो प्रकारको सोचाइलाई प्रोत्साहित गर्छ र कस्तो प्रकारको सोचाइलाई क्रमशः कमजोर बनाउँछ ?
पुस्तकालयदेखि एल्गोरिदमसम्म

होरोविचको निबन्धको अर्को अत्यन्त शक्तिशाली अवधारणा विनाश र उपेक्षा बीचको भिन्नता हो। यसलाई स्पष्ट गर्न उनले प्रसिद्ध अलेक्जान्ड्रियाको पुस्तकालयको उदाहरण प्रस्तुत गरेकी छन्।
अलेक्जान्ड्रियाको पुस्तकालय प्राचीन इजिप्टको अलेक्जान्ड्रिया सहरमा रहेको विश्वकै प्रसिद्ध ज्ञान केन्द्रहरूमध्ये एक थियो; जहाँ हजारौं ग्रन्थ सङ्कलित थिए र विभिन्न क्षेत्रका विद्वान्हरूले अध्ययन तथा अनुसन्धान गर्थे।
यसको पतन कुनै एक मात्र विनाशकारी घटनाको परिणाम नभई लामो ऐतिहासिक प्रक्रियाको उपज थियो; जसमा राजनीतिक उथलपुथल, संरक्षणको कमी र संस्थागत उपेक्षाले मुख्य भूमिका खेलेका थिए। यसको क्रमिक पतनले के कुरा स्मरण गराउँछ भने ज्ञानका धरोहरहरू केवल विनाशबाट होइन, उपेक्षाबाट पनि लोप हुन सक्छन्।
होरोविचको उद्देश्य केवल एउटा प्राचीन पुस्तकालयको विनाशको ऐतिहासिक कथा सुनाउनु होइन। उनले के स्मरण गराउँछिन् भने कुनै पनि सभ्यताका सांस्कृतिक सम्पदाहरू प्रायः एउटै ठूलो दुर्घटनाले मात्र समाप्त हुँदैनन्; समाजले तिनको हेरचाह गर्न छाडेपछि तिनीहरू बिस्तारै ओझेल पर्दै जान्छन्।
पुस्तकालयहरू कसैले आगो लगाइदिएर मात्र नासिँदैनन्। ती तब लोप हुन थाल्छन्; जब समाजले नयाँ पुस्तकालय निर्माण गर्न छाड्छ; जब तिनलाई राज्यले पर्याप्त आर्थिक स्रोत उपलब्ध गराउन छाड्छ; जब मानिसहरू त्यहाँ जान छाड्छन्; र जब पुस्तकालयलाई सार्वजनिक जीवनका लागि अपरिहार्य संस्थाका रूपमा सम्मान गर्न छाडिन्छ।
आजको सन्दर्भमा यो रूपक अत्यन्त सान्दर्भिक छ। आजको वास्तविक खतरा ‘कसैले संसारका सबै पुस्तक जलाइदिन्छ’ भन्ने होइन। बरु मुख्य चिन्ता ‘पुस्तकहरू सांस्कृतिक रूपमै अप्रासङ्गिक बन्दै जालान् कि ?’ भन्ने हो। समाजमा पुस्तकालयहरू अझै अस्तित्वमा रहन सक्छन् र छन् पनि; तर पुस्तकालयभित्र प्रवेश गर्ने मानिसको सङ्ख्या बिस्तारै घट्दै जान सक्छ।
विद्यालयहरूले अझै पनि विद्यार्थीलाई पुस्तक पढ्न लगाउन सक्छन्, तर विद्यार्थीहरू मूल पुस्तक पढ्नुको सट्टा सारांश, सङ्क्षिप्त टिप्पणी वा डिजिटल नोटमै सीमित हुन सक्छन्। वास्तवमा आज त्यही भइरहेको छ।
विश्वविद्यालयहरूले अनुसन्धानलाई अझै पनि उच्च प्राथमिकतामा राख्न सक्छन्; तर विद्यार्थीहरू विचारसँग प्रत्यक्ष जुध्ने, मौलिक तर्क निर्माण गर्ने र गहिरो बौद्धिक मन्थन गर्ने प्रक्रियामा सामेल नभई कृत्रिम बुद्धिमत्ताको सहायताले निबन्ध वा प्रतिवेदन तयार गर्न थाल्न सक्छन्। यसरी हेर्दा, पठन संस्कृतिको पतन कुनै आकस्मिक विपत्ति वा नाटकीय घटनाजस्तो नहुन सक्छ; यो त माटोको क्रमिक क्षयीकरण जस्तै हुन सक्छ।
जसरी कुनै भवनको जग एक्कासि भत्किँदैन, बरु वर्षौं लगाएर बिस्तारै कमजोर बन्छ र मानिसले पत्तो पाउने बेलासम्म भवन नै असुरक्षित भइसकेको हुन्छ; त्यसरी नै पठन संस्कृतिको क्षय पनि सुस्त गतिमा हुन्छ। बाहिरबाट हेर्दा सबै कुरा सामान्य देखिए पनि समाजको बौद्धिक जग क्रमशः खोक्रो बन्दै गइरहेको हुन सक्छ।
साक्षरोत्तर परिवेशमा राजनीति
होरोविचको निबन्धले उठाएको अर्को विचारोत्तेजक प्रश्न राजनीति र लोकतान्त्रिक संवादसँग सम्बन्धित छ। उनका अनुसार आजको राजनीतिक सञ्चारले क्रमशः मुद्रित संस्कृतिको साटो मौखिक संस्कृतिको स्वरूप लिन थालेको छ।
मुद्रित संस्कृतिको प्रभुत्व रहेको समाजमा राजनीतिक विचारहरू प्रायः भाषण, समाचारपत्र, प्रचार सामग्री, निबन्ध, घोषणापत्र र पुस्तकहरूका माध्यमबाट विस्तारपूर्वक प्रस्तुत गरिन्छन्। नागरिकहरूले विभिन्न विचारधारा, नीतिगत बहस र तर्कहरूलाई पढेर बुझ्ने अवसर पाउँछन्। कुनै राजनीतिक विचारको मूल्य त्यसको गहिराइ, तर्कसङ्गतता र वैचारिक स्पष्टताबाट निर्धारण हुन्छ।
तर आजको राजनीतिक वातावरण फरक दिशातर्फ उन्मुख देखिन्छ। विश्वभरि नै राजनीतिक सञ्चार बढ्दो रूपमा छोटा सन्देश, आकर्षक तस्बिर, भावनात्मक प्रतीक, भाइरल हुने वाक्यांश, सामाजिक सञ्जालका पोस्ट र व्यक्तिगत छवि निर्माण वरिपरि केन्द्रित हुँदै गएको छ।
अहिलेको परिवेशमा राजनीतिक सफलता अब जटिल नीतिहरूलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्ने क्षमतामा भन्दा सार्वजनिक ध्यान आकर्षित गर्न सक्ने क्षमतामा बढी निर्भर देखिन्छ। यसको अर्थ आधुनिक नागरिकहरू गम्भीर रूपमा सोच्न सक्दैनन् भन्ने होइन। बरु यसको अर्थ के हो भने- आजको प्रमुख सञ्चार वातावरणले पहिलेभन्दा भिन्न गुणहरूलाई पुरस्कृत गर्न थालेको छ। विस्तृत र जटिल तर्कभन्दा सङ्क्षिप्त, स्मरणयोग्य र भावनात्मक नाराले जनमानसमा धेरै परसम्म प्रभाव पार्न सक्छ।
विश्लेषण र प्रमाणको तुलनामा भावना निकै तीव्र गतिमा फैलिन्छ। फलस्वरूप, कतिपय अवस्थामा नीतिको स्पष्ट व्याख्या गर्नेभन्दा आफ्नो सार्वजनिक छवि व्यवस्थापनमा माहिर व्यक्ति नै सामाजिक विमर्शमा बढी प्रभावशाली देखिन्छ।
विशेषगरी नवोदित तथा विकासोन्मुख लोकतन्त्रहरूका लागि यो परिदृश्य अझ बढी जोखिमपूर्ण छ। यी मुलुकहरूमा लोकतान्त्रिक संस्थाहरू अझै संस्थागत विकासको नाजुक चरणमै हुन्छन्। त्यस्ता संरचनालाई सुदृढ तुल्याउन सार्वजनिक दाबीको परीक्षण गर्न सक्ने, सत्तासँग जवाफदेहिता माग्न सक्ने, प्रमाणको वस्तुपरकता तौलन सक्ने र राजनीतिक छलछामबाट सचेत रहन सक्ने आलोचनात्मक नागरिकको खाँचो पर्छ।
यदि समाजमा पठन संस्कृतिको ह्रास हुँदै गयो भने त्यसले शिक्षा प्रणालीलाई मात्र होइन, लोकतन्त्रको गुणस्तरलाई पनि कमजोर बनाउन सक्छ। यस अर्थमा पठन संस्कृतिको सङ्कट अन्ततः लोकतन्त्रकै सङ्कट बन्न सक्छ।
विकासोन्मुख विश्वको विरोधाभास
यो विमर्शलाई सम्पन्न मुलुकहरूको परिधिबाट बाहिर निकालेर विकासोन्मुख विश्वको आँखाबाट हेर्दा समस्या झनै पेचिलो देखिन्छ। युरोप, उत्तर अमेरिका र पूर्वी एसियाका विकसित मुलुकहरूले जसरी साक्षरता क्रान्तिलाई संस्थागत गरे; धेरै विकासोन्मुख समाजहरू त्यो ऐतिहासिक यात्राको आधारभूत चरणमै अल्झिरहेका छन्।
आज पनि विश्वभरका लाखौं बालबालिकाहरू यस्ता विद्यालयहरूमा अध्ययन गरिरहेका छन्; जहाँ कक्षाकोठाहरू या त अत्यधिक भिडभाडयुक्त छन् या विद्यार्थीविहीन। शिक्षकहरूले पर्याप्त व्यावसायिक तयारी वा तालिम पाएका छैनन्; पाठ्यपुस्तकहरूको अभाव छ वा तिनको गुणस्तर कमजोर छ; विद्यालयमा पुस्तकालय नै छैन र पाठ्यपुस्तकबाहेक अन्य पठन सामग्रीहरू अत्यन्त दुर्लभ छन्। यी बालबालिकाका हकमा सङ्कट पठन संस्कृतिको क्षयीकरण होइन, बरु पठन संस्कृतिको बलियो जग नै कहिल्यै बस्न नसक्नु हो।
यही बीचमा अर्को महत्त्वपूर्ण परिवर्तन भएको छ। डिजिटल प्रविधि परम्परागत शैक्षिक पूर्वाधारको विकासभन्दा धेरै छिटो गतिमा विकासोन्मुख समाजहरूमा पुगेको छ। आज कुनै बालबालिकाले पुस्तकालय देख्नुअघि स्मार्टफोन प्रयोग गर्न सिक्न सक्छ। कुनै परिवारसँग टेलिभिजन, मोबाइल फोन र इन्टरनेट डाटा हुन सक्छ, तर घरमा एउटा पनि पुस्तक नहुन सक्छ। कुनै विद्यार्थीले अनलाइन शैक्षिक भिडियो सहजै हेर्न सक्छ, तर पाठ्यपुस्तकको एउटा गम्भीर अनुच्छेद बुझ्न भने कठिनाइ अनुभव गर्न सक्छ।
यसरी विकासोन्मुख समाजहरू एउटा ऐतिहासिक विरोधाभास को सामना गरिरहेका छन्। उनीहरू पठन युगलाई पूर्ण रूपमा अनुभव गर्न नपाउँदै डिजिटल युगमा प्रवेश गरिरहेका छन्। मानव इतिहासमा यस्तो अवस्था सम्भवतः पहिलोपटक देखा परेको हो।
पठन संस्कृतिविना डिजिटल युगमा प्रवेशको जोखिम
विकास केवल नयाँ प्रविधि उपलब्ध हुँदैमा स्वतः हुने प्रक्रिया होइन। एउटा सानो स्मार्टफोनले सारा संसार र ज्ञान समेटेको भए तापनि यो पुस्तकालयको वास्तविक विकल्प हुन सक्दैन। सूचनामा पहुँच हुनु र सूचना बुझ्न सक्ने क्षमता हुनु एउटै कुरा होइन। कृत्रिम बुद्धिमत्ताले केही सेकेन्डमै उत्कृष्ट देखिने पाठ तयार गर्न सक्छ; तर त्यसले स्वतः जिज्ञासा, आलोचनात्मक विवेक, नैतिक निर्णय क्षमता वा बौद्धिक स्वतन्त्रता सिर्जना गरिदिँदैन।
यदि शिक्षा प्रणालीले विद्यार्थीमा गहिरो पठनको बानी विकास गर्न सकेन भने डिजिटल उपकरणहरूले सिकाइलाई अझ प्रभावकारी बनाउनुको सट्टा सतही बनाउने जोखिम पनि उत्तिकै रहन्छ। विद्यार्थीहरू सूचना खोज्न अत्यन्त दक्ष हुन सक्छन्, तर त्यसको अर्थ बुझ्न र विश्लेषण गर्न भने कमजोर हुन सक्छन्। उनीहरूले विशाल मात्रामा सूचना उपभोग गर्न सक्छन्, तर त्यसलाई ज्ञान, बुझाइ र विवेकमा रूपान्तरण गर्न नसक्ने अवस्था आउन सक्छ। उनीहरू निरन्तर सञ्चारमा जोडिन त सक्छन्, तर गहिरो संवाद, तर्कपूर्ण बहस र विचारमूलक छलफलमा सहभागी हुन कठिनाइ महसुस गर्न सक्छन्।
यो प्रविधिको विरोधमा प्रस्तुत गरिएको तर्क होइन। बरु यसको मूल सन्देश के हो भने प्रविधिले आफ्नो पूर्ण सम्भावना देखाउनका लागि बौद्धिक आधार आवश्यक पर्छ। पठन संस्कृति, आलोचनात्मक चिन्तन, विश्लेषणात्मक क्षमता र स्वतन्त्र विचार विकास नगरी केवल डिजिटल उपकरणको विस्तारले ज्ञानमा आधारित समाज निर्माण गर्न सक्दैन। अन्ततः गम्भीर पाठकहरूको जमात तयार नगरी कुनै पनि समाजले वास्तविक अर्थमा ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न सक्दैन।
विश्वव्यापी असमानताको नयाँ रूप : पाठक र उपभोक्ताबीचको विभाजन
आगामी दिनहरूमा विश्वले असमानताको एउटा भिन्न आयामको सामना गर्नेछ। यो विभाजन अब प्रविधिमा पहुँच भएका र पहुँच नभएकाहरू बीच मात्र सीमित रहनेछैन। बरु यो क्रमशः प्रविधिलाई विवेकपूर्ण रूपमा प्रयोग गर्न जान्ने र डिजिटल सामग्रीको निष्क्रिय उपभोक्ता मात्र बनेर रहनेहरूबीचको विभाजनमा रूपान्तरण हुन सक्छ।
सुविधासम्पन्न परिवारका बालबालिकाहरूले भविष्यमा पनि पुस्तक, पुस्तकालय, सङ्ग्रहालय, शिक्षित पारिवारिक संवाद र बौद्धिक वातावरणमा सहज पहुँच पाउनेछन्। उनीहरूले सूचना प्राप्त गर्ने मात्र होइन; सूचनाको विश्लेषण गर्ने, स्रोतको विश्वसनीयता परीक्षण गर्ने, तर्कहरूको तुलना गर्ने र आफैं निष्कर्ष निर्माण गर्ने क्षमता पनि विकास गर्नेछन्।
यसको विपरीत विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाको हातमा डिजिटल उपकरण पुग्यो नै भने पनि बलियो शिक्षा प्रणाली र बौद्धिक–सांस्कृतिक वातावरणको अभावमा उपलब्ध सूचनालाई ज्ञान, विवेक र आलोचनात्मक बोधमा रूपान्तरण गर्ने आधार कमजोर नै रहन सक्छ। यहीँ एउटा गहिरो विडम्बना देखिन्छ। त्यो के भने प्रविधिले सूचनासम्मको भौतिक पहुँचको दूरी घटाउन सक्छ; तर ज्ञानमा रूपान्तरण गर्ने क्षमता समान रूपमा विकास नगरेमा त्यसले विद्यमान बौद्धिक असमानतालाई उल्टै अझ गहिरो बनाउन सक्छ।
विकासोन्मुख देशहरूले अब के गर्नुपर्छ ?

यस चुनौतीको समाधान डिजिटल रूपान्तरणलाई अस्वीकार गर्नु होइन। त्यो न सम्भव छ, न त वाञ्छनीय नै। प्रविधिले शिक्षाका क्षेत्रमा असाधारण सम्भावनाहरू खोलिदिएको छ। डिजिटल पुस्तकालय, अनलाइन पाठ्यक्रम, खुला शैक्षिक स्रोत, कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ उपकरण तथा अन्य डिजिटल नवप्रवर्तनहरूले परम्परागत शिक्षाका सीमाहरूलाई तोड्न मद्दत गरेका छन्।
तर विकासोन्मुख देशहरूले एउटा महत्त्वपूर्ण गल्तीबाट जोगिनुपर्छ। उनीहरूले पठन संस्कृतिको स्थानमा प्रविधिलाई प्रतिस्थापन गर्ने होइन, पठन र प्रविधि दुवैलाई सँगसँगै विकास गर्ने रणनीति अपनाउनुपर्छ। प्रत्येक बालबालिकालाई इन्टरनेट र डिजिटल पहुँच चाहिन्छ, तर त्यससँगै पुस्तक पनि चाहिन्छ। हरेक विद्यार्थीले प्रयोग जान्नु जति आवश्यक छ, आलोचनात्मक चेत, स्वतन्त्र विश्लेषण र प्रश्न गर्ने सामर्थ्य विकास गर्नु पनि त्यत्तिकै अपरिहार्य छ।
केही युरोपेली राष्ट्रहरू मात्र नभई दक्षिण कोरियाजस्ता प्राविधिक रूपमा अत्यन्त उन्नत देशहरू पनि अहिले विद्यालयमा डिजिटल स्क्रिनको अत्यधिक प्रयोग घटाउँदै मुद्रित पाठ्यपुस्तक र हस्तलेखनतर्फ फर्किरहेका छन्। यो नीतिगत बदलाव प्रविधिको बहिष्कार नभई विद्यार्थीहरूको घट्दो एकाग्रता, कमजोर बन्दै गएको पठन क्षमता र सञ्ज्ञानात्मक विकासलाई पुनः सन्तुलनमा ल्याउने सचेत प्रयास हो।
हरेक विद्यालयका लागि डिजिटल पूर्वाधार आवश्यक छ; तर प्रविधिले उपलब्ध गराउने सूचनालाई ज्ञान, विवेक र सिर्जनात्मक सोचमा रूपान्तरण गर्न जीवित र सक्रिय पठन संस्कृति त्यत्तिकै वा अझ बढी महत्त्वपूर्ण हुन्छ। यसका लागि केही प्राथमिकताहरू विशेष रूपमा आवश्यक छन् :
- सबैभन्दा पहिले, सरकारले पठनलाई सार्वजनिक पूर्वाधारका रूपमा स्वीकार गर्नुपर्छ। पुस्तकालयहरू केवल औपचारिक भवन वा सजावटका प्रतीक होइनन्; तिनीहरू समुदायको बौद्धिक जीवनको सक्रिय केन्द्र बन्नुपर्छ; जहाँ सबै उमेर समूहका नागरिकले नियमित रूपमा अध्ययन, छलफल र सिकाइका अवसर प्राप्त गर्न सकून्।
- दोस्रो, विद्यालयहरूले परीक्षामुखी साक्षरताको सीमाबाट बाहिर निस्कनुपर्छ। विद्यार्थीहरूले परीक्षाका लागि तयार पारिएका सामग्री मात्र होइन; कथा, उपन्यास, जीवनी, निबन्ध, इतिहास, विज्ञान र अन्य विविध विधाका पुस्तकहरू पनि नियमित रूपमा पढ्ने अवसर पाउनुपर्छ। पठनलाई अङ्क प्राप्त गर्ने माध्यम होइन, जीवनभर सिक्ने संस्कृति का रूपमा स्थापित गर्न आवश्यक छ।
- तेस्रो, शिक्षक तयारी कार्यक्रमहरूले पढाउन जान्ने शिक्षक मात्र नभई पाठक–शिक्षक निर्माणलाई प्राथमिकता दिनुपर्छ। शिक्षक स्वयं पुस्तकसँग टाढिएका छन् भने उनीहरूले विद्यार्थीमा पठन संस्कृति विकास गराउन सक्दैनन्। पुस्तक पढ्ने, विचार गर्ने र निरन्तर सिक्ने शिक्षक नै पठन संस्कृतिका सबैभन्दा प्रभावकारी प्रेरक हुन्।
- चौथो, शिक्षा प्रणालीले रटान र यान्त्रिक स्मरणभन्दा छलफल, व्याख्या, तर्क, विश्लेषण र बहुअर्थी सोचलाई प्रोत्साहन दिनुपर्छ। ज्ञान केवल सही उत्तर सम्झिनु होइन; त्यसको अर्थ बुझ्नु, प्रश्न गर्नु र नयाँ सन्दर्भमा प्रयोग गर्न सक्नु पनि हो।
- अन्ततः समाजले ध्यानलाई पनि संरक्षण गर्नुपर्छ। बालबालिकालाई यस्तो वातावरण उपलब्ध गराइनुपर्छ; जहाँ उनीहरूले निरन्तर डिजिटल अवरोधविना लामो समयसम्म एकाग्र भएर पढ्न, सोच्न र मनन गर्न सकून्। गहिरो पठनका लागि समय, शान्त वातावरण र अविच्छिन्न ध्यान अपरिहार्य हुन्छ।
हाम्रो अगाडिको चुनौती
नेपालजस्ता देशहरूका लागि यो बहस विशेष रूपमा सान्दर्भिक र तात्कालिक महत्त्वको छ। पछिल्ला केही दशकमा नेपालले शिक्षामा पहुँच विस्तार गर्न र साक्षरता दर बढाउन उल्लेखनीय प्रगति गरेको छ। अघिल्ला पुस्ताको तुलनामा आज धेरै बालबालिका विद्यालय पुगेका छन् र शिक्षाको अवसर पनि व्यापक भएको छ।
तर विद्यालयमा पहुँच विस्तार हुनु मात्रले सशक्त पठन संस्कृति स्वतः निर्माण हुन सक्दैन। धेरै विद्यालयमा पाठ्यपुस्तकहरू छन्, तर पर्याप्त र सक्रिय पुस्तकालय छैनन्। सीमित सङ्ख्यामा रहेका सामुदायिक पुस्तकालयहरू जीर्ण अवस्थामा छन्। धेरै विद्यार्थीहरूले परीक्षा उत्तीर्ण गर्ने उद्देश्यले अध्ययन गर्छन्; तर जीवनभर पढिरहने बानी भने विकास गर्न सक्दैनन्।
अर्कोतर्फ, स्मार्टफोन, सामाजिक सञ्जाल र डिजिटल माध्यमहरू युवा पुस्ताको दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका छन्। यस अर्थमा नेपाल पनि धेरै विकासोन्मुख देशहरूजस्तै एउटा ऐतिहासिक दोबाटोमा उभिएको छ।
के द्रुत रूपले भइरहेको डिजिटल रूपान्तरणले शिक्षा प्रणालीले दशकौँको प्रयासबाट निर्माण गर्न खोजिरहेको पठन संस्कृतिलाई थप कमजोर बनाउने जोखिम ल्याउँछ ? वा, उचित नीति र प्रयोगमार्फत यही डिजिटल प्रविधि नयाँ पुस्तामा अझ बलियो पठन संस्कृति निर्माण गर्ने प्रभावकारी साधन बन्न सक्छ ? यस प्रश्नको उत्तर कुनै पूर्वघोषित नियतिमा होइन; यो मुख्यतः हामीले आज लिने नीतिगत निर्णयमा निर्भर रहनेछ।
निष्कर्ष
आज देखिएको पठन सङ्कटलाई नयाँ प्रविधिविरुद्ध पुराना पुस्ताको भावुक प्रतिरक्षाका रूपमा बुझ्नु उचित हुँदैन। मानव सभ्यताले सधैं आफ्ना सञ्चारका माध्यम र ज्ञान आदानप्रदानका विधिहरू परिवर्तन गर्दै आएको छ। परिवर्तन स्वाभाविक हो र प्रविधि त्यस परिवर्तनको महत्त्वपूर्ण संवाहक पनि हो। तर प्रत्येक सञ्चार क्रान्तिले सूचना आदानप्रदानको तरिका मात्र परिवर्तन गर्दैन; त्यसले हामी कसरी सोच्छौं, हामी कस्ता नागरिक बन्छौं र समाजले कस्तो बौद्धिक संस्कृतिको निर्माण गर्छ ? भन्ने कुरालाई पनि गहिरोसँग प्रभावित गर्छ।
द एटलान्टिकको चेतावनी मानव जातिले एक दिन पढ्नै छाड्नेछ भन्ने होइन। यस चेतावनीको मूल मर्म धैर्य, एकाग्रता, कल्पनाशक्ति र विवेकपूर्ण निर्णय क्षमता निर्माण गर्ने गहन पठन संस्कृति नै कतै सङ्कटमा पर्ने त होइन ? भन्ने प्रश्न उठाउनु हो।
विकसित समाजहरूका लागि यसले सांस्कृतिक क्षयबारे गम्भीर प्रश्न उठाएको छ। तर विकासोन्मुख समाजहरूका लागि यसले अझ आधारभूत र अत्यावश्यक प्रश्न खडा गर्छ। जस्तै: के साक्षरोत्तर युगतर्फ अघि बढ्नुअघि उनीहरूले साक्षरताको अधुरो प्रतिज्ञा पूरा गर्न सक्लान् ?
यो प्रश्नको उत्तर अत्यन्त महत्त्वपूर्ण छ। किनभने पढ्नु भनेको विद्यालयमा सिकाइने एउटा सामान्य सीप वा शैक्षिक प्रविधि मात्र होइन। यो त्यस्ता नागरिक निर्माण गर्ने प्रक्रिया हो; जसले वैकल्पिक सम्भावनाको कल्पना गर्न सक्छन्, सत्तालाई प्रश्न गर्न सक्छन्, अरूका अनुभव र दृष्टिकोणलाई बुझ्न सक्छन् र लोकतान्त्रिक समाजमा जिम्मेवार, विवेकशील तथा अर्थपूर्ण सहभागिता जनाउन सक्छन्।
आज विश्वका धेरै समाजहरू साक्षरोत्तर युगतर्फ अघि बढ्ने सम्भावना र त्यसका प्रभावबारे बहस गरिरहेका छन्। तर, त्यही समयमा संसारका असङ्ख्य समाजहरू अझै पनि पूर्ण साक्षर समाज निर्माण गर्ने यात्रामै छन्। उनीहरूले कुन कुरामा ध्यान दिनु जरुरी छ भने डिजिटल संसारमा अन्धाधुन्ध प्रवेश गर्दा गम्भीर र गहन पठनले प्रदान गर्ने बौद्धिक स्वतन्त्रता, आलोचनात्मक चेतना र कल्पनाशीलताको जग गुमाउनु नपरोस्। अन्यथा, उनीहरूले ज्ञान र सूचनाको डिजिटल संसार त प्राप्त गर्नेछन्, तर त्यसलाई गहिरो रूपमा बुझ्ने, अर्थ निर्माण गर्ने र विवेकपूर्ण उपयोग गर्ने क्षमता भने गुमाउन सक्छन्।
साक्षरताको क्रान्ति अधुरै छाडेर साक्षरोत्तर युगमा प्रवेश गर्नु मानव सभ्यताको बौद्धिक यात्राकै एउटा अधुरो अध्याय हुनेछ।
प्रतिक्रिया 4