+

एसियाली खेलकुदमा बाल प्रतिभाको चम्किलो उदय

२०८३ असोज  १२ गते १२:२२ २०८३ असोज १२ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानका ११ वर्षीय युकी कुरिहाराले आइची–नागोयामा ईस्पोर्ट्सतर्फ ‘पुयो पुयो च्याम्पियन्स’ जित्दै एसियाली खेलकुदको सबैभन्दा कम उमेरका जापानी च्याम्पियन बनेका छन्।
  • स्केटबोर्डिङमा ताइवानका १२ वर्षीय कु योङ–यानले पुरुष पार्क फाइनलमा रजत जिते भने जापानका १५ वर्षीय इजुरु नागाहाराले स्वर्ण जिते।
  • मानवअधिकारकर्मी कानेए दोईले बाल खेलाडीमाथि पर्ने दबाब र शारीरिक, मौखिक तथा यौन दुर्व्यवहारबारे चिन्ता व्यक्त गरेकी छन्।

१२ असोज, काठमाडौं । एसियाली खेलकुदले यसअघि पनि किशोर खेलाडीलाई च्याम्पियन बनाएको छ । तर यस संस्करणमा बाल प्रतिभाहरूले देखाएको सफलता निकै उल्लेखनीय बनेको छ । जसको प्रमाण ११ वर्षका युकी कुरिहाराले केवल ११ वर्षको उमेरमै स्वर्ण पदक जित्दै देखाएका छन् ।

जापानका प्राथमिक तहका विद्यार्थी कुरिहाराले आफ्नाभन्दा तीन गुणा उमेरका खेलाडीलाई समेत पछि पार्दै आइची–नागोयामा ईस्पोर्ट्सतर्फ ऐतिहासिक स्वर्ण जिते । उनी एसियाली खेलकुदको इतिहासमा जापानका सबैभन्दा कम उमेरका च्याम्पियन बनेका छन् । सम्भवत: उनी एसियाली खेलकुदकै इतिहासमा सबैभन्दा कम उमेरका च्याम्पियन पनि हुन् ।

शनिबार ‘पुयो पुयो च्याम्पियन्स’ को फाइनल जित्दा कुरिहाराले कुनै प्रतिक्रिया नै दिएनन् । यो खेलमा खेलाडीले एउटै रंगका गोलाकार आकृतिलाई मिलाएर फुटाउँदै आफ्नो स्क्रिन खाली गर्ने प्रयास गर्छन् । जुन महिनामा १२ वर्ष पुग्ने कुरिहाराले पछि आफूले जितपछि ‘लाज लागेको’ बताएका थिए ।

आइतबार जापानका राष्ट्रिय पत्रिकाहरूमा कुरिहाराको तस्बिर प्रमुखताका साथ प्रकाशित भयो । सन् १९५१ मा पहिलो पटक आयोजना भएको एसियाली खेलकुदमा सबैभन्दा कम उमेरमा पदक जित्ने खेलाडीहरूको आधिकारिक सूची सार्वजनिक रूपमा उपलब्ध छैन । तर पछिल्ला संस्करणमा युवा दर्शकलाई आकर्षित गर्ने उद्देश्यले नयाँ खेलहरू समावेश गरिएपछि बाल खेलाडीहरूले निकै प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।

स्केटबोर्डिङमा ताइवानका १२ वर्षीय कु योङ–यानले शुक्रबार पुरुष पार्क फाइनलमा रजत पदक जिते । स्वर्ण जित्ने जापानका इजुरु नागाहारा भने १५ वर्षका थिए । नागाहाराले चोटका कारण घुँडाको दुखाइ कम गर्न स्वर्ण जित्ने प्रदर्शनअघि एनेस्थेटिक इन्जेक्सनसमेत लगाएका थिए ।

स्केटबोर्डिङमै फिलिपिन्सकी माजेल पेरिस पनि सहभागी थिइन् । जो अघिल्लो एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दा केवल नौ वर्षकी थिइन् । सन् २०२३ को हाङझाउ एसियाली खेलकुदपछि आफूमा के परिवर्तन आएको छ भनेर सोध्दा १२ वर्षीया पेरिसले भनिन्, ‘निश्चित रूपमा म अग्ली भएकी छु ।’ यसै साता भारतका १५ वर्षीय क्रिकेटर वैभव सूर्यवंशी पनि एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दैछन् ।

दुर्व्यवहारको चिन्ता

तर अन्तर्राष्ट्रिय स्तरमा वयस्क खेलाडीहरूसँगै बालबालिकाले प्रतिस्पर्धा गर्नु र आफ्नो देशका लागि जित्नुपर्ने दबाबमा रहनुले केही चिन्ता पनि जन्माएको छ । ह्युमन राइट्स वाचकी जापान निर्देशक कानेए दोईले खेलकुदअघि लेख्दै भनेकी थिइन्, ‘विजयका क्षणहरू सहजै प्राप्त हुँदैनन् । ती वर्षौंको अनुशासित प्रशिक्षणबाट निर्माण हुन्छन् । जुन प्राय: बाल्यकालमै सुरु हुन्छ ।’

उनका अनुसार यस्तो यात्राले बालबालिकालाई खेल र प्रतिस्पर्धाको आनन्दसँगै शारीरिक, मानसिक तथा व्यक्तिगत विकासका अवसर दिनुपर्ने हो । तर धेरै युवा खेलाडीले आफूलाई विकास गर्न सहयोग गर्ने भनिएका वातावरणमै शारीरिक, मौखिक तथा यौन दुर्व्यवहारसमेत सामना गर्ने गरेको उनले उल्लेख गरेकी छन् ।

कानेए दोईका अनुसार एसियाली खेलकुदको आयोजक जापानमै विद्यालय, खेल महासंघ तथा उच्चस्तरीय खेलकुद कार्यक्रमअन्तर्गत प्रशिक्षण लिने क्रममा बालबालिकाले बारम्बार दुर्व्यवहारको सामना गर्ने गरेका छन् ।

सन् २०२४ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले ओलम्पिक खेलकुदमा सहभागी युवा खेलाडीसम्बन्धी सहमति दस्तावेज सार्वजनिक गरेको थियो । त्यसमा सामान्य मानसिक स्वास्थ्यसम्बन्धी समस्यामध्ये ५० प्रतिशत १८ वर्षको उमेरअघि नै देखापर्ने उल्लेख गरिएको थियो ।

किशोर खेलाडीहरू केही प्रकारका चोटप्रति पनि बढी संवेदनशील हुने बताइएको थियो । चिनियाँ पौडी खेलाडी यु जिदीले गत वर्ष विश्व च्याम्पियनसिपमा १२ वर्षको उमेरमा कांस्य पदक जित्दै विश्व च्याम्पियनसिपको इतिहासमा सबैभन्दा कम उमेरकी पदक विजेता बनेकी थिइन् ।

अहिले उनी किशोरी भइसकेकी छन् र सन् २०२८ को लस एन्जलस ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना बोकेकी खेलाडीका रूपमा हेरिएकी छन् । नागोया एसियाली खेलकुदमा पनि उनी चर्चाको केन्द्रमा छिन् । उनले तीन स्वर्ण जितिसकेकी छन् र तीनवटैमा कीर्तिमान समय निकालेकी छन् । तर पौडीका स्पर्धापछि पत्रकारहरूले उनलाई घेर्दा उनी आफ्नो १३ वर्षको उमेरअनुसारकै देखिन्थिन् । उनले भनिन्, ‘अन्तर्वार्ता दौडभन्दा धेरै गाह्रो छ ।’

एएफपीबाट

२०औं एसियन गेम्स एसियन गेम्समा युवा प्रतिभा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय