+
+
Shares

प्रतिनिधिसभाको शून्य समय : कुन सांसदले के विषय उठाए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाको शून्य समयमा सांसदहरूले बाढीपीडितको उद्धार, महिला सुरक्षा, लागुऔषध नियन्त्रण र पूर्वाधार विकासमा सरकारसँग तत्काल कदम माग गरे।
  • सांसद अनुष्का श्रेष्ठले जलवायु परिवर्तनमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय महासभा सम्बोधनको प्रशंसा गर्दै ‘जलवायु न्याय’ र क्षेत्रीय समन्वय कार्यान्वयनमा लैजानुपर्ने बताइन्।
  • सांसद अमृता विकले अविरल वर्षाबाट क्षति र विस्थापितको दयनीय अवस्था संसद्मा राख्दै तत्काल राहत र पुनःस्थापनाको माग गरिन्।

१२ असोज, काठमाडौं । सांसदहरूले मुलुकको पछिल्लो भू–राजनीतिक अवस्था, जलवायु परिवर्तनका प्रभाव र जनसरोकारका दैनिक मुद्दाहरूलाई प्रमुखताका साथ उठाएका छन् ।

सांसदहरूले बाढीपीडितको उद्धार, सार्वजनिक यातायातमा महिला सुरक्षा, लागुऔषध नियन्त्रण र दीर्घकालीन पूर्वाधार विकासका लागि सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका हुन् ।

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद अनुष्का श्रेष्ठले जलवायु परिवर्तनका सन्दर्भमा प्रधानमन्त्रीको संयुक्त राष्ट्र संघको महासभामा भएको सम्बोधनको प्रशंसा गर्दै नेपालले उठाएको ‘जलवायु न्याय’ र क्षेत्रीय समन्वयको एजेन्डालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन् ।

उनले विज्ञान, नीति र कुटनीतिको समन्वय गर्दै स्थानीय समुदायको आवाजलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

सांसद अमृता विकले आफ्नो निर्वाचन क्षेत्रमा अविरल वर्षाका कारण भएको क्षति र विस्थापितहरूको दयनीय अवस्थाबारे सदनलाई जानकारी गराइन् । उनले पीडितहरू जोखिमपूर्ण घरमा फर्कन बाध्य भएको भन्दै तत्काल राहत र पुन:स्थापनाको माग गरिन् ।

सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाका सञ्चालन गर्न र सो सडक निर्माणलाई द्रुत बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद अम्बिकादेवी सङ्ग्रौलाले साना जलविद्युत आयोजना भन्दा ठूला बाँधसहितका बहुउद्देश्यीय परियोजनामा जोड दिइन् ।

शहरी जनजीवनका समस्याबारे सांसद अप्सना बानुले पार्किङ व्यवस्थापनमा देखिएको दोहोरो मापदण्डप्रति असन्तुष्टि व्यक्त गरिन् । नले कानूनी राज्यमा कानूनको पालना दुवै पक्षबाट हुनुपर्नेमा जोड दिइन् ।

त्यस्तै, सार्वजनिक यातायातमा महिलाको सुरक्षा र असुरक्षाको विषय सांसद अशोककुमार चौधरीले उठाउँदै महिलामैत्री ब्लु बस सेवा कार्यान्वयनको माग गरे ।

लागुऔषध नियन्त्रणका लागि केवल पक्राउ मात्र पर्याप्त नहुने भन्दै सांसद आनन्दबहादुर चन्दले ग्लोवल स्कुल बेस्ड हेल्थ सर्भे जस्ता वैज्ञानिक अध्ययनको खाँचो औंल्याए ।

सांसद अर्विन साहले चाडपर्व नजिकिँदै गर्दा बजारमा कालोबजारी रोक्न र सुशासन कायम गर्न आग्रह गरे भने सांसद आशा झाले प्रधानमन्त्रीको भ्रमण र खोला किनारको मापदण्डबारे आफ्नो धारणा राख्दै संसद्मा उठेका विषयलाई शुन्यमा विलीन हुन नदिन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?