+
+
Shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वर्षाले धान उत्पादन क्षति जोखिम बीमालेख जारी

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर कम्पनीले ‘अत्यधिक वर्षाको सूचकांंकमा आधारित धान उत्पादनमा हुने ह्राससम्बन्धी बीमालेख’ जारी गरेको हो । यो बीमालेख ७ असोजदेखि ७ मंसिरसम्म लागु हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १९:५०

१२ असोज, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने क्षतिको जोखिम वहन गर्ने गरी सूचकांकमा आधारित बीमालेख जारी गरेको छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर कम्पनीले ‘अत्यधिक वर्षाको सूचकांंकमा आधारित धान उत्पादनमा हुने ह्राससम्बन्धी बीमालेख’ जारी गरेको हो । यो बीमालेख ७ असोजदेखि ७ मंसिरसम्म लागु हुनेछ ।

कम्पनीका अनुसार कैलाली, कञ्चनपुर, धनुषा, सिरहा, सर्लाही, बाँके, बर्दिया, दाङ र कपिलवस्तुका धान उत्पादक किसानलाई बीमालेखमा समेटिएको छ । बीमालेख जारी गर्न कम्पनीले प्लान्ट्सस्याट बाइ सिड इनोभेसन प्रालिसँग साझेदारी गरेको जनाएको छ ।

बीमालेखमा प्रतिकट्ठा १ हजार ५ सय ९५ रुपैयाँ बीमांक रकम कायम गरिएको छ । बीमालेख जारी भएको पहिलो दिन अर्थात् असोज ७ मै करिब १ हजार ३ सय ५ किसानको धानको बीमा गरिएको कम्पनीले जनाएको छ । उनीहरूको करिब ३ हजार ३ सय ४ कट्ठा क्षेत्रफलमा लगाइएको धान बीमामा समेटिएको छ ।

यो बीमालेखको मुख्य विशेषता किसानको खेतमा भएको वास्तविक क्षति मूल्यांकन गरेर नभई तोकिएको वर्षा सूचकांकका आधारमा क्षतिपूर्ति उपलब्ध गराउनु हो । तीन दिनको अधिकतम सञ्चित वर्षा (मिलिमिटर) को सूचकांक तोकिएको सीमाभन्दा माथि पुगे बीमा भुक्तानीका लागि किसान योग्य हुनेछन् ।

कम्पनीका अनुसार सूचकांकमा आधारित बीमा भएकाले किसानले छुट्टै दाबी फारम भर्न वा क्षतिको प्रमाण तथा अन्य कागजात बुझाउनुपर्ने छैन । तोकिएको सूचकांक अनुसार भुक्तानीका लागि योग्य अवस्था सिर्जना भए बीमा रकम स्वत: निर्धारण भई किसानको बैंक खातामा जम्मा हुनेछ ।

कम्पनीले यस व्यवस्थाले बीमा दाबीका लागि आवश्यक कागजी प्रक्रिया र समय घटाउने जनाएको छ । अत्यधिक वर्षाका कारण धान उत्पादनमा कमी आउँदा किसानले बेहोर्नुपर्ने आर्थिक जोखिम सरल, पारदर्शी र प्रविधिमा आधारित प्रक्रिया मार्फत व्यवस्थापन गर्न बीमालेख सहयोगी हुने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?