१२ असोज, काठमाडौं । गोल्डेन स्टार किड्स इन्टरनेशनलको सेमिफाइनल शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
विश्वस्तरमा नेपाली बालप्रतिभालाई चिनाउने उद्देश्यसहित गोल्डेन स्टार किड्स इन्टरनेशनल आयोजना हुँदै आएको छ । प्रतियोगितामा गायन, नृत्यलगायत विभिन्न विधामा गरी कूल ४० बालप्रतिभा सहभागी छन् ।
सहभागीमध्ये २० जना जुनियर समूह (११ वर्षसम्म) र २० जना सिनियर समूह (१२ देखि १६ वर्षसम्म)का छन् ।
सेमिफाइनलमा विभिन्न विधाका प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । डान्सतर्फ खुसी भुजेलले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा पुग्न सफल भएकी छन् भने गायनतर्फ प्राज्ञ शिवाकोटी र पपुलर च्वाइसतर्फ श्लोक शाक्य उत्कृष्ट हुँदै फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको सेमिफाइनलबाट १० जना प्रतियोगी बाहिरिएका छन् । गोल्डेन स्टार किड्स इन्टरनेसनलको विशेष आकर्षण भनेको यसबाट छनोट हुने चार विजेताले टर्कीमा पुगेर नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउनु हो ।
बालबालिकाको प्रतिभालाई राष्ट्रिय मञ्चबाट अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी आइतबार, असोज १८ गते काठमाडौंको हेरिटेज प्लाजामा आयोजना हुँदैछ ।
फाइनलमा प्रथम हुने प्रतियोगीले ४ लाख रुपैयाँ नगदसहित ३ लाख रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । दोस्रो हुने प्रतियोगीलाई १ लाख रुपैयाँ नगद र १ लाख रुपैयाँ बराबरको उपहार प्रदान गरिनेछ ।
राइजिङ स्टार आइकनको प्रस्तुति रहेको यस प्रतियोगितामा गायक आनन्द कार्की, अभिनेत्री मिथिला शर्मा र अभिनेता रमेश उप्रेती निर्णायक छन् ।
प्रतिक्रिया 4