१३ असोज, काठमाडौं । सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)को छानबिनका क्रममा थप नयाँ तथ्यहरू पत्ता लागेकाले अनुसन्धान बाँकी रहेको जनाएको छ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एन्फामाथि अनुसन्धान जारी राखेको बताएका हुन्।
‘एन्फाबारे दुई जनालाई नियन्त्रणमा अनुसन्धान भइसकेपछि थप नयाँ कुराहरू आएको हुनाले सीआईबी अझ सक्रिय भएर लागेको छ,’ उनले भने, ‘प्राकृतिक तरिकाबाट नै अगाडि बढेर यसको छानबिन हुन्छ ।’
त्यस्तै उनले एन्फा निलम्बनका कारण नेपाली फुटबल गतिविधि ठप्प रहेको अवस्थामा घरेलु लिगहरु सञ्चालन गर्ने तयारी गरिरहेको उल्लेख गरे । उनले भने, ‘घरेलु लिग सञ्चालनका लागि तयारी गरिराखेका छौं ।’
ग्रासरुटमा लगानी गर्न नसकेका कारण नेपालले अन्तर्राष्ट्रिय स्तरमा मेडल ल्याउन नसकेको मन्त्री पोखरेलको ठम्याइ छ ।
‘मेडल ल्याउन नसक्ने भनेको हामीले ग्रासरुढमा राम्रोसँग लगानी गर्न सकेका छैनौं,’ उनले भने, ‘आजको दिनसम्म खेलकुद पूर्वाधार पनि राम्रो छैन । न त फुटबल खेल्ने ठाउँ छ न त क्रिकेट खेल्ने ठाउँ छ। न त कभर्डहल छ । खेलाडीले नखेलेर भन्दा पनि राज्यले राम्रोसँग लगानी गर्न नसकेको हो ।’
उनले ग्रासरुटबाटै खेलकुद विकासका लागि सरकारले सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको जानकारी दिए।
प्रतिक्रिया 4