+
+
Shares

मिडियन सम्पत्तिमा अस्ट्रेलिया तेस्रोमा उक्लियो, भारतमा ९ लाख ४४ हजार डलर करोडपति

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ७:२२

१४ असोज, सिड्नी । प्रति वयस्क मिडियन सम्पत्तिका आधारमा अस्ट्रेलिया विश्वमै तेस्रो स्थानमा रहेको छ। स्वीस बहुराष्ट्रिय बैंक यूबीएसले सार्वजनिक गरेको ग्लोबल वेल्थ रिपोर्ट २०२६ अनुसार अस्ट्रेलियामा प्रति वयस्क मिडियन सम्पत्ति २ लाख १० हजार ७८३ अमेरिकी डलर पुगेको छ।

मिडियन सम्पत्तिका आधारमा लक्जेम्बर्ग ३ लाख ९४ हजार ५ अमेरिकी डलरसहित पहिलो र बेल्जियम २ लाख ७७ हजार १६६ डलरसहित दोस्रो स्थानमा छन्। अस्ट्रेलियापछि न्युजिल्यान्ड २ लाख ६ हजार ६१७ डलरसहित चौथो र डेनमार्क २ लाख ३ हजार ७७१ डलरसहित पाँचौँ स्थानमा छन्।

औसत सम्पत्तिमा अस्ट्रेलिया पाँचौँ

मिडियन र औसत सम्पत्ति फरक सूचक हुन्। मिडियन सम्पत्तिले वयस्क जनसंख्याको बीचको तहको सम्पत्तिको अवस्था देखाउँछ भने औसत सम्पत्तिमा अत्यन्त धनी व्यक्तिहरूको सम्पत्तिले समेत प्रभाव पार्न सक्छ।

औसत सम्पत्तिका आधारमा पनि अस्ट्रेलिया विश्वका शीर्ष पाँच बजारमा परेको छ। अस्ट्रेलियामा प्रति वयस्क औसत सम्पत्ति ६ लाख १६ हजार ३०६ अमेरिकी डलर छ।

यसमा स्विट्जरल्यान्ड ९ लाख १० हजार ३८२ डलरसहित पहिलो, अमेरिका ६ लाख ९६ हजार २७७ डलरसहित दोस्रो, लक्जेम्बर्ग ६ लाख ५४ हजार ७३२ डलरसहित तेस्रो र हङकङ ६ लाख ४८ हजार २६७ डलरसहित चौथो स्थानमा छन्।

अस्ट्रेलियामा १६ लाख ३४ हजार डलर करोडपति

रिपोर्टअनुसार अस्ट्रेलियामा १० लाख अमेरिकी डलरभन्दा बढी खुद सम्पत्ति भएका १६ लाख ३४ हजार व्यक्ति छन्। यसले अस्ट्रेलियालाई विश्वमा धेरै डलर करोडपति भएका बजारमध्ये सातौँ स्थानमा राखेको छ।

सन् २०२५ मा मात्रै अस्ट्रेलियामा थप २५ हजार ८९ जना डलर करोडपति थपिएका छन्। यो अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशत वृद्धि हो।

यूबीएसको मिलेनियर डेन्सिटी सम्बन्धी तथ्यांकअनुसार अस्ट्रेलियामा वयस्क जनसंख्याको करिब ८ प्रतिशत डलर करोडपति वर्गमा पर्छन्। यस्तै, अस्ट्रेलिया र बेल्जियममा १ लाख अमेरिकी डलरभन्दा बढी खुद सम्पत्ति भएका वयस्कको हिस्सा ७० प्रतिशतको निकै नजिक रहेको रिपोर्टले जनाएको छ।

सम्पत्तिमा घरजग्गाको ठूलो हिस्सा

अस्ट्रेलियालीहरूको कुल सम्पत्तिमा गैर-वित्तीय सम्पत्तिको हिस्सा ठूलो छ। कुल सकल सम्पत्तिमा वित्तीय सम्पत्ति, जस्तै सेयर, नगद तथा अन्य वित्तीय लगानीको हिस्सा ४६.६ प्रतिशत छ। बाँकी ५३.४ प्रतिशत गैर-वित्तीय सम्पत्ति हो।

यसमा आवासीय सम्पत्तिको महत्वपूर्ण भूमिका छ। त्यसैले अस्ट्रेलियामा डलर करोडपति हुनु भनेको ठूलो मात्रामा बैंकमा नगद रहेको भन्ने आवश्यक छैन। घर तथा अन्य सम्पत्तिको बजार मूल्य पनि कुल खुद सम्पत्तिको गणनामा समावेश हुन्छ।

रिपोर्टले घरजग्गा स्वामित्व र निजी अवकाश बचतजस्ता विषयले पनि कुनै बजारमा डलर करोडपतिको संख्या प्रभावित गर्ने बताएको छ।

अर्कोतर्फ, अस्ट्रेलियाको कुल सकल सम्पत्तिको १८ प्रतिशत बराबर ऋण रहेको छ। यो मुख्यतः मोर्टगेज तथा अन्य व्यक्तिगत ऋणसँग सम्बन्धित छ।

५६ प्रमुख बजारको अध्ययन

यूबीएसको ग्लोबल वेल्थ रिपोर्ट २०२६ ले विश्व सम्पत्तिको ९२ प्रतिशतभन्दा बढी हिस्सा प्रतिनिधित्व गर्ने ५६ वटा प्रमुख बजारलाई अध्ययनमा समेटेको छ। रिपोर्टमा प्रयोग गरिएका सम्पत्ति वृद्धि र वितरणका धेरै तथ्यांक यूबीएसका अनुमानमा आधारित छन्।

दक्षिण एसियाबाट भारत मात्र अध्ययनमा समावेश छ। भारतमा करिब ९ लाख ४४ हजार अमेरिकी डलर करोडपति रहेको रिपोर्टले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?