२० असोज, काठमाडौं । अबको चार दिनपछि घटस्थापना छ । घटस्थापनाका दिनदेखि दसैं सुरु हुन्छ । विगतका वर्षहरूमा झैं अहिले पनि काठमाडौंका नयाँ बानेश्वर, न्युरोड, असन र भृकुटीमण्डप जस्ता बजारमा किनमेलका लागि चहलपहल सुरु भइसकेको छ ।
दसैंका लागि भनेर यही एक सातामा कपडा, जुत्ताचप्पल, ब्याग लगायत सामान उपभोक्ताले किन्न थाल्छन् । तर, यस वर्ष बजारमा चहलपहल त छ, तर व्यापारी र उपभोक्ता दुवैको अनुहारमा खासै खुसीको भाव भने छैन ।
अघिल्लो महिना १० भदौमा रसुवामा आएको बाढीले चीनतर्फका नाकामा पुर्याएको क्षति र ढुवानीमा भएको अचाक्ली मूल्यवृद्धिको प्रत्यक्ष असर यतिबेला सडक पेटीदेखि ठूला सपिङ कम्प्लेक्ससम्म देखिएको छ ।
शान्तिनगरकी सीता घिमिरे आइतबार साँझ नयाँ बानेश्वरको खुला बजारमा आफ्ना १० वर्षका छोरा र ७ वर्षकी छोरीका लागि दसैंको कपडा छान्दै थिइन् ।
दुई/चार वटा पसल चहारेपछि पनि उनले आफूले खाजेजस्तो कपडा भेट्टाउन नसकेको गुनासो गरिन् ।
‘पोहोर सालको तुलनामा कपडाको भाउ पनि महँगिएको रहेछ,’ उनले भनिन्, ‘अघिल्लो दसैंमा छोराका लागि पाइन्ट र टिसर्ट १५ सयमै किनेकी थिएँ, अहिले त एक सेटलाई २२–२५ सय भन्छन्, छोरीको कुर्ता सुरुवालको भाउ पनि उस्तै छोइसक्नु छैन, महँगीले गर्दा यसपालि केटाकेटीलाई लुगा किनिदिनै गाह्रो भयो ।’
सोही बजारमा कुर्ता सुरुवाल, पाइन्ट र जुत्ताचप्पल किन्न आइपुगेकी सुमी थापालाई पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष सामान महँगो लाग्यो ।
‘अघिल्लो वर्ष पनि मैले यहीँबाट बहिनी र आफूलाई कपडा किनेर लगेकी थिएँ, त्यसबेला १ हजारमै किनेको पाइन्टलाई त अहिले धेरै बार्गेनिङ गरेर पनि १४ सय पर्यो,’ उनले सुनाइन्, ‘अझै आमालाई कुर्ता सेट किन्नुपर्ने छ, त्यसमा पनि बढेर आएको छ भन्छन् व्यापारी, त्यस हिसाबले अहिले कम खर्चमा लुगा किन्न सकिएला जस्तो छैन ।’

नयाँ लुगा लगाएर दसैं मनाउने नेपालीको परम्परा सहज बनाइरहेको चिनियाँ कपडा महँगो हुँदा अहिले सीता र सुमीजस्ता हजारौं ग्राहक र व्यापारी दुवै मर्कामा परेका छन् ।
नयाँ बानेश्वरमै तीन वर्षदेखि खुला बजारमा लत्ताकपडा व्यापार गर्दै आएका गौतम साह पसलमा सोधपुछ भए पनि व्यापार खासै नभएको बताउँछन् ।
‘पोहोर सालको तुलनामा यसपालि ग्राहकको चाप नै छैन, मान्छे आउँछन्, भाउ सोध्छन् अनि महँगो भयो भन्दै फर्किन्छन्,’ उनले भने, ‘यसपालि चाडबाड मनाउन धेरैलाई जाँगर चलेजस्तो पनि देखिएन, देशमा यति ठूलो विपत्ति पनि आइलाग्यो ।’
होलसेलमै सामानको मूल्य बढेर आएका कारण आफूहरूले पनि भाउ बढाउनु परेको साहको भनाइ छ । ‘सस्तो सामानमा २५ देखि ५० रुपैयाँ र अलि महँगो सामानमा १०० देखि २०० रुपैयाँसम्म त होलसेलमै बढेर आएको छ,’ साहले गुनासो पोखे, ‘अनि, हामीले पनि थोरै नाफा त राख्नै पर्यो नि !’
कुर्ता सेट भारतबाट आउँछन् । व्यापारीका अनुसार भारतबाट आउने लुगा यसै पनि महँगो नै हुन्छ । यसपालि बाटोले झन घिउ थप्ने काम गरेको उनीहरूको गुनासो छ ।
अर्का व्यापारी विनोद ओलीको अनुभव पनि गौतमको भन्दा फरक छैन । कुर्ता सेट, टप्स लगायत कपडा व्यापार गर्ने उनका अनुसार बजारमा चिनियाँ सामान अभाव छ र जे जति सामान आएका छन्, तिनको मूल्य अचाक्ली बढेको छ ।
होलसेलबाटै महँगोमा सामान किन्नुपरेपछि ग्राहकलाई चित्त बुझाउन निकै गाह्रो भएको ओली बताउँछन् ।
‘पहिले १५ सयदेखि १७ सयसम्ममा आउने कुर्ता–सुरुवाल सेट अहिले हामीलाई नै २२ सयदेखि २५ सय रुपैयाँसम्म पर्न थालेको छ,’ उनी भन्छन्, ‘होलसेलवालाहरू बाटो बिग्रिएर ढुवानी भाडा बढेको बताउँछन्, हामीले दुई–तीन सय फाइदा राखेर बेच्दा ग्राहक महँगो भयो भनेर गाली गर्छन्, फर्केर हिँड्छन्, व्यापार त चौपट नै छ ।’

अघिल्लो वर्षको तुलनामा यसपालि दसैंमा लत्ताकपडामा मात्रै होइन, जुत्ताचप्पलमा पनि उस्तै मूल्यवृद्धि भएको छ । बजारमा जुत्ता हेरिरहेका कोटेश्वरका रमेश थापा मनपरेको जुत्ता महँगो भएका कारण पसलेसँग मोलामोलाई गरिरहेका थिए ।
‘दसैंका लागि भनेर एउटा साम्बा जुत्ता हेरेको, पोहोर १२ सयमा पाइने जुत्तालाई अहिले १५ सयभन्दा कममा दिँदै दिन्न भन्छन्,’ उनले सुनाए, ‘अरू सामान पनि किन्नु छ, बजेटले भ्याउँदैन जस्तो पो देखियो ।’
रमेशलाई जुत्ता बेच्न खोजिरहेका व्यापारी मुकेश विश्वकर्मा जुत्ताको मूल्य बढेरै आएका कारण कम मूल्यमा बेच्न नसकेको गुनासो गर्छन् ।
‘सामान बाटोमै रोकिएको छ, उपभोक्ताले खोजे अनुसार दिन सकिएको छैन,’ उनले भने, ‘जुन सामान अलिकति बजारमा झरेको छ, त्यसको भाउ ढुवानीले गर्दा महँगो पर्न गयो ।’
साढे २ वर्षदेखि बानेश्वरकै खुला बजारमा व्यापार गर्दै आएकी अर्चनाको पनि उस्तै गुनासो छ । दसैंका लागि अर्डर गरेको नयाँ सामान बाटोमै रोकिएकोले पुरानै स्टक बेच्नुपरेको उनी बताउँछिन् ।
‘नयाँ डिजाइनका सामान आउनै पाएका छैनन्, पोहोर २४ सयमा पाइने ह्याभी सेटलाई अहिले २६ सय पर्न थालेको छ,’ उनले भनिन्, ‘ग्राहक आएर पहिला लुगाको मोल गर्छन्, महँगो लागेपछि अरू दुई–चार ठाउँमा बुझेर आउँछु भन्दै हिँड्छन् ।’
बजारमा अहिले देखिएको यो महँगी र सामान अभावको मुख्य जरो भने उत्तरी सीमानाकामा छ । गत भदौमा भोटेकोशीमा आएको बाढीले रसुवागढी र तातोपानी नाकाको सडक भत्किएपछि दसैंका लागि व्यापारीले अर्डर गरेका अर्बौंका सामान बाटोमै अलपत्र परेका छन् ।

यता कोरला नाकातर्फबाट केही सामान आयात भए पनि एक साताअघिको अविरल वर्षाका कारण सडक र पुल भत्किएकाले उक्त नाका पनि अहिले बन्द छ । सडक र पुल निर्माणको काम चलिरहेको छ ।
सरकारले तातोपानी नाका खुलाउन कूटनीतिक पहल गरिरहे पनि त्यसमा अझै समय लाग्ने देखिन्छ ।
राजधानीको मुख्य व्यापारिक केन्द्र न्युरोडका व्यापारीहरू पनि ढुवानी भाडा दोब्बर भएका कारण सामानको भाउ बढ्न पुगेको बताउँछन् ।
न्युरोडका व्यापारी रत्न श्रेष्ठ दसैं नजिकिँदै गर्दा ग्राहकको चहलपहल त बढेको तर किन्ने धेरै नभएको बताउँछन् ।
‘होलसेलमा पनि धेरै सामान आएको छैन, आएको सामान पनि खुद्रा व्यापारीले महँगोमा बेच्न सकिँदैन भनेर खासै लैजान रुचि देखाएका छैनन्, केहीले लगिराखेका पनि छन्,’ उनले भने ।
उनका अनुसार दसैं अफर र छुट राख्दा पनि खासै ग्राहकले रुचि नदेखाएको उनको भनाइ छ ।
न्युरोडस्थित आरबी कम्प्लेक्स व्यवसायी संघ अध्यक्ष परशुराम दाहाल अहिले बजारमा देखिएको महँगीको सम्पूर्ण कारण उत्तरी नाकाको अस्तव्यस्तता र ढुवानीमा भएको दोब्बर मूल्यवृद्धि भएको बताउँछन् ।
‘अहिले बजारमा थप नयाँ सामान कसैको पनि आएको छैन, बाटो सबै बन्द छ,’ अध्यक्ष दाहाल भन्छन्, ‘मैले त सधैं भन्दै आएको छु, यो उत्तरी नाका भनेको व्यापारीको लागि एम्बुस भयो, जहिले पनि माल ल्याउने, त्यहाँ फसाउने ।’
चाडबाडका सामान बाटोमै फस्दा व्यापारीहरूले बेहोर्नुपरेको आर्थिक क्षतिको हिसाब गरेर नसकिने उनी बताउँछन् ।
‘चीनबाट सामान ल्याएका झन्डै २ सय वटा ट्रक कन्टेनर बाढीमै बगे, यत्रो पैसा डुबेको छ, कसैले वास्ता गर्दैन,’ उनले भने, ‘चीनबाट आउने सामानको बीमा नहुने हुँदा बाढीले बगाएको र बाटोमा कुहिएको सम्पूर्ण घाटा व्यापारी आफैंले सहनुपरेको छ ।’

बजारमा सामान महँगो हुनुमा व्यापारीको दोष नभई ढुवानी व्यवसायीले बढाएको भाडा मुख्य कारण रहेको दाहालको बुझाइ छ ।
‘कन्टेनरले नै ढुवानी भाडा डबल गरिदिएको छ, सामानमा ५ देखि ७ प्रतिशत मूल्य त ढुवानीकै कारण बढेको छ, भाडा बढेपछि व्यापारीले खल्तीबाट हालेर त दिँदैन, मूल्य बढाउनैपर्यो,’ अध्यक्ष दाहाल भन्छन्, ‘तर, बजारमा अहिले एकाधिकार छैन, प्रतिस्पर्धी बजार छ, जसले सस्तो दियो त्यसैको बिक्ने हो, त्यसैले व्यापारीले धेरै नाफा खाएका छैनन् ।’
हरेक वर्ष चाडपर्वका बेला उत्तरी नाकामा कि त बाढीपहिरो आउने, कि त अघोषित नाकाबन्दी हुने समस्याबाट आजित भएका व्यवसायीहरू अब सरकारले गम्भीर कदम चाल्नुपर्ने बताउँछन् ।
चाडपर्वको बेला सर्वसाधारण सस्तोमा राम्रो सामान पाइन्छ कि भनेर सडक पेटी र खुला बजार आइपुग्छन् । तर, यसपालि प्राकृतिक विपत्ति, महँगी र राज्यको कमजोरीले गर्दा बजारमा न त व्यापारी खुसी छन्, न त उपभोक्ता ।
पहिले पहिले दसैंका बेला खाना खाने फुर्सद नपाउने व्यापारीहरू अहिले पसलमा बसेर मोबाइल चलाउँदै ग्राहक कुरिरहेको गुनासो गरिरहेका छन् ।
तस्विरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4