केही दिनयता सामाजिक सञ्जालमा ओशो तपोवनभित्रका दृश्यहरू भन्दै फैलाईएका फोटो चर्चामा रहेका छन् । धेरैले यसलाई लिएर ओशो तपोवनभित्र अर्काका श्रीमान वा श्रीमतीहरूसँग यौनाचार हुने गरेको भन्दै दाबी गरेका थिए ।
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यी फोटोहरू वास्तविक मानेर ओशो आश्रमप्रति आरोप लगाइरहेका छन् भने कतिपयले नियतपूर्वक तपोवनको साख गिराउनलाई यी फोटोहरू भाइरल बनाइएको बताएका छन् । त्यस्तै केही प्रयोगकर्ताले भने यी फोटोहरू जहाँको भए पनि ओशोसँग सम्बन्धित हुनुका कारणहरू खोज्नु पर्ने बताएका छन् ।
यसै विषयको चर्चालाई लिएर शोभिता सिम्खडाले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेकी छिन् । उक्त भिडियो ओशो तपोवनको नभएको भन्दै झुटो दाबी र अफवाहमा नलाग्न आग्रह गरेकी छिन् ।
“ओशो तपोवन तथा यससँग आबद्ध आश्रमहरूमा त्यस्ता गतिविधिहरू हुँदैनन्।सामाजिक सञ्जालमा कुनै सामाग्री देख्नेबित्तिकै त्यसको स्रोत, सत्यता र आधिकारिकता नबुझी शेयर गरिदिनु आजको गम्भीर समस्या हो। एउटा गलत क्याप्सन, एउटा झुटो दाबी र एउटा हतारमा गरिएको शेयरले वर्षौँदेखि निर्माण भएको कुनै संस्था, आश्रम वा व्यक्तिको विश्वास, प्रतिष्ठा र सामाजिक साखमाथि अनावश्यक चोट पुर्याउन सक्छ,” उनले लेखेकी छिन् ।
बाहिर बसेर अनुमान, हल्ला र अफवाहको आधारमा धारणा बनाउनुभन्दा कम्तीमा एक हप्ता समय निकालेर स्वयं ओशो आश्रममा आएर आफ्नो धारणा बनाउन आग्रह गरेकी छिन् ।
के छन् ती सामग्रीहरूमा ?
सामाजिक सञ्जालमा भाइरल भएको फोटोमा एक महिला र पुरुष एकअर्काको आलिङ्गनमा बाधिएर बसेका देखिन्छन् । उनीहरूले सेतो कपडा लगाएका छन् । र सोही रङ्गको आशनमा बसिरहेका छन् ।
वरिपरि त्यस्ता अन्य जोडीहरू पनि रहेका छन् । त्यस्तै अर्को एउटा तस्वीरमा सेतो कपडामा सज्जित केही युवक र युवतीहरू उभिएरै आलिङ्गनबद्ध देखिन्छन् । अर्को फोटोमा एकजना युवती हातमा माइक बोकेर आफ्नो प्रश्नको उत्तर सुनिरहेकी देखिन्छिन् र त्यहाँ पनि एक जोडी युवायुवती अँगालोमा बाधिएर बसेका छन् ।
यी फोटोहरूको कोलाज पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् । त्यस्तै गरि यससम्बधी टिकटक भिडियोहरू पनि भाइरल भएका छन् ।
केही रिपोर्टको दाबी अनुसार, गत अगस्ट १ देखि ५, २०२६ सम्म थाइल्यान्डको फुकेटस्थित कारोन बीचमा ५ रात ६ दिनको ‘ओशो मेडिटेसन क्याम्प’ आयोजना गरिएको थियो । ‘ओशो लभर्स थाइल्यान्ड’ को व्यवस्थापन र ओशो साधक स्वामी आनन्द दिनेश तथा मा शोभिता (शोभिता सिम्खडा)को उपस्थितिमा अन्तर्राष्ट्रिय ध्यान शिविर भएको हो ।
के हो वास्तविकता ?
यसबारे शोभिता सिम्खडासँग कुराकानी गर्दा बाहिर आएका ती समाचारमा सत्यता नभएको दाबी गरिन्।
थाइल्याण्डमा वर्षेनी ध्यान शिविरहरू सन्चालनमा ल्याइए पनि सामाजिक सञ्जालमा भाइरल भएका फोटोहरू शिविरका नभएको उनले जनाइन् । साथै त्यस किसिमको साधनाहरू तपोवनमा नगराइने पनि बताइन् ।
“यो कुरालाई अनावश्यक बढी प्राथमिकता दिइयो । सञ्चारमाध्यमहरू यी तस्वीरहरू हाम्रो शिविरमा भएको भनेर अफवाह पनि फैलाए । तर वास्तवमा त्यो तस्वीर हाम्रो शिविरको होइन । त्यस्ता किसिमका साधनाहरू तपोवनले गराएको छैन,” शोभिता भन्छिन् ।
यद्यपि त्यस्ता तन्त्रहरू प्रचलनमा भने छन् । तिनलाई सामान्य रूपमा लिनुपर्ने सिम्खडाको भनाइ छ ।
“एक्काइसौं शताब्दीमा आएर पनि नयाँ साधनाविधिहरूबारे अनर्गल बोल्नु अनावश्यक नै हो । हामीले अभ्यासमा नल्याए पनि त्यस्ता साधनाहरू छन्,” उनले अनलाइनखबरलाई जानकारी दिइन्।
ओशो तपोवनका सामाजिक सञ्जालका आधिकारिक पेजहरूमा यी तस्वीर र भिडियोहरू पाइएन । थप प्रमाणको लागि यस विषयमा अनलाइनखबरले ओशो तपोवनसँग सम्पर्क गर्दा ती तस्वीर र भिडियोहरू तपोवनको नभएको जानकारी पाइयो ।
तपोवनको अनुसार, यी सामग्रीहरू अन्य देशहरूका ओशो सम्बन्धित संस्थाहरू हुन सक्ने भए पनि यकिन बताउन नसकिएको जानकारी दिए ।
प्रतिक्रिया 4