+
+
Shares

क्यानबेरामा के गर्दैछन् परराष्ट्रमन्त्री खनाल ?

प्रदीप तिमल्सिना प्रदीप तिमल्सिना
२०८३ असोज २३ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले क्यानबेरामा उच्चस्तरीय भेटघाट र स्थानीय नेपाली समुदायसँग अन्तरक्रिया गरे।
  • उपाध्यक्ष ललित मल्ल र प्रवक्ता अशोक बस्नेतले एनआरएनए एसीटी शाखाको ज्ञापनपत्र मन्त्री खनाललाई हस्तान्तरण गरे।
  • मन्त्री खनालले गभर्नर–जनरल साम मोस्टिनसँग भेटेर भोटेकोशी बाढीका पीडितप्रति सहयोग गरेकोमा अस्ट्रेलिया सरकार र जनताप्रति धन्यवाद व्यक्त गरे।
  • क्यानबेराका कार्यक्रम सकेपछि मन्त्री खनाल मेलबर्न प्रस्थान गरेका छन् र शनिबार स्वदेश फर्कने कार्यतालिका छ।

२३ असोज, क्यानबेरा । अस्ट्रेलिया भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले राजधानी क्यानबेरामा उच्चस्तरीय भेटघाट गर्नुका साथै स्थानीय नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।

भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र प्रस्तावित दूतावास भवन निर्माणस्थलको अवलोकन गरे । त्यसलगत्तै उनले अस्ट्रेलियामा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरे । छलफलमा सहभागीहरूले नेपाली समुदायका चासो, समस्या र सुझाव मन्त्रीसमक्ष राखेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) शाखाका तर्फबाट उपाध्यक्ष ललित मल्ल र प्रवक्ता अशोक बस्नेतले मन्त्री खनाललाई ज्ञापनपत्र हस्तान्तरण गरे ।

ज्ञापनपत्रमा अस्ट्रेलियामा रहेका नेपाली नागरिकको संरक्षण, आपत्कालीन सहायता कोषको स्थापना, गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा नेपाल–अस्ट्रेलियाबीचको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने विषय समेटिएका छन् ।

यसैबीच, मन्त्री खनालले शुक्रबार अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनसँग शिष्टाचार भेट गरे । भेटका क्रममा उनले भोटेकोशी क्षेत्रमा आएको अकल्पनीय बाढीबाट प्रभावित नेपाललाई सहयोग गरेकोमा अस्ट्रेलिया सरकार र त्यहाँका जनताप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री खनालले आफ्नो अस्ट्रेलिया भ्रमण फलदायी रहेको बताए । उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँगको भेटघाटमा प्राप्त सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

क्यानबेराका निर्धारित कार्यक्रम सम्पन्न गरेपछि मन्त्री खनाल आज मेलबर्न प्रस्थान गरेका छन् । मेलबर्नका कार्यक्रम सकेर उनी शनिबार स्वदेश फर्कने कार्यतालिका छ ।

लेखक
प्रदीप तिमल्सिना

तिमल्सिना अस्ट्रेलिया क्यान्बेरामा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?