News Summary
Generated by OK AI. Editorially reviewed.- निर्माण व्यवसायी महासंघले पूर्वअध्यक्ष शरदकुमार गौचनको नवौं स्मृति दिवसमा शुक्रबार अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
- महासंघ अध्यक्ष निकोलस पाण्डेले ‘एभरेज बिडिङ’ लागू गरी पूर्वाधार क्षेत्र व्यवस्थित बनाउने गौचनको सपना वर्तमान कार्यसमितिले साकार पारेको बताए ।
- गौचनको नवौं स्मृति दिवसका अवसरमा सातै प्रदेश र ७७ जिल्ला निर्माण व्यवसायी संघमा पनि विविध कार्यक्रम गरिएको छ ।
२३ असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको नवौं स्मृति दिवसका अवसरमा देशभरि विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरियो । सभामा वक्ताले नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा गौचनले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको स्मरण गरे ।
विगतमा संघका रूपमा रहेको नेपाल निर्माण व्यवसायी संघलाई महासंघमा रूपान्तरण गर्न गौचनले दिएको योगदान प्रशंसनीय रहेको वक्ताको भनाइ थियो ।
शोक सभामा महासंघ अध्यक्ष निकोलस पाण्डेले ‘एभरेज बिडिङ’ लागु गरी पूर्वाधार क्षेत्र व्यवस्थित एवं मर्यादित बनाउने गौचनको सपनालाई वर्तमान कार्यसमितिले साकार पारेको बताए ।
महासंघ पूर्वअध्यक्ष तथा सल्लाहकार जयराम लामिछानेले लो बिड निरुत्साहित गर्नुपर्ने गौचनको धारणालाई महासंघको वर्तमान कार्र्यसमितिले मूर्तरूप दिएको बताए ।
महासंघ वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ ले गौचनले निर्माण क्षेत्रमा लगाएको गुनलाई कसैले बिर्सन नसक्ने बताए । महासंघ महासचिव शिवहरि घिमिरेले गौचनको संक्षिप्त जीवनी सहित निर्माण उद्योगको विकास विस्तारमा उनको योगदानको चर्चा गरे । महासंघ नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाहीले गौचन सबै निर्माण व्यवसायीहरुको सच्चा अभिभावक भएको बताए ।
सभा अगाडि महासंघ परिसरमा रहेको गौचनको अर्धकदको शालिकमा महासंघ अध्यक्ष निकोलस पाण्डे, गौचनकी श्रीमती आशा गौचन, महासंघ सल्लाहकार, पूर्वअध्यक्ष तथा पदाधिकारी, कार्यसमिति सदस्य लगायतले मार्ल्यापण गरेका थिए ।
गौचनको नवौं स्मृति दिवसका अवसरमा आज सातै प्रदेश निर्माण व्यवसायी महासंघ तथा ७७ जिल्ला निर्माण व्यवसायी संघमा पनि विविध कार्यक्रम गरिएको छ ।
गौचनको २०७४ असोज २३ मा शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा निवास नजिकै गोली हाली हत्या गरिएको थियो ।
प्रतिक्रिया 4