News Summary
Generated by OK AI. Editorially reviewed.- गीत सार्वजनिक भएपछि राजनीतिक दलसँग जोडिएका व्यक्तिहरूले आपत्ति जनाएपछि शर्माले युट्युबबाट हटाएका थिए।
सर्वसाधारण महँगी र बेरोजगारीले आक्रान्त थिए। बिरामी बुबाआमाको औषधोपचार गराउन, साना लालाबालालाई ठिकठाककै शिक्षादीक्षा दिन युवाहरू विदेशिन बाध्य थिए। विदेशिने युवाको यो संख्या दैनिक ३६ सयको हाराहारीमा थियो।
खेतीकिसानी गर्नेलाई न बिउबिजन, न सिँचाइ सुविधा, न मलखाद। दुःखजिलो गरेर उब्जाएको सागसब्जी र अन्नले बजार पाउँदैनथ्यो। देशमै केही उद्यमव्यवसाय गर्न चाहनेहरू अनेक झमेलाले हत्तुहैरान हुन्थे। जागिर खान नेता– मन्त्रीको अगाडि साष्टाङ्ग दण्डवत् गर्नुपर्ने स्थिति थियो ।
सर्वसाधारणका हातगोडा मात्र होइन, सपना पनि शिथिल हुँदै गएका थिए । यता नेता–मन्त्रीहरू भने विलासी जीवन बिताउन मस्त थिए। सबैतिर बिचौलियाको राज थियो।
ठीक त्यही बेला एउटा गीत बजारमा आयो,
‘लुट्न सके लुट कान्छा
लुट्न सके लुट
अरू देशमा पाइँदैन
नेपालमै हो छुट।’
सर्वसाधारणलाई यो गीतभन्दा बढी यथार्थपरक अरू केही लागेन । उनीहरूलाई आफ्नै मनको कुरा कसैले भनिदिएजस्तो लाग्यो । गीत सार्वजनिक भएलगत्तै सर्वत्र फैलियो।
यो गीत पशुपति शर्माले गाएका थिए । गीतकार र सङ्गीतकार पनि उनी नै थिए । गीतका शब्दमा नेपालीहरूको दैनिक जीवन भोगाइको कथा थियो।
जस्तो,
‘हजुरबा नि यसै मरे, बाउ नि यसै मर्छन्
हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् ?
गर्ने काम केही हैन, ठूला–ठूला भाषण…’
हरेक अन्तरामा राजनीतिप्रतिको चरम वितृष्णा छ। मुलुकमा व्याप्त बेथिति र विसङ्गतिमाथि तिखो व्यङ्ग्य छ । अन्ततः मुलुक नै यस्तो गतिमा अघि बढेपछि सर्वसाधारणको के हाल हुन्छ भन्ने निष्कर्षमा गीतले पुर्याउँछ।
अन्तिम पङ्क्तिहरू यस्ता छन्,
‘ड्याङडुङ गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन्
तँलाई सोझो भन्दैनन्, भाइ, नामर्द हो भन्छन्
अब गर्न छोड्दे कान्छा, आदर्शको खेती
केही न केही त बुझिस् होला, भनेपछि यति
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरू देशमा पाइँदैन, नेपालमै हो छुट।’
खासमा पशुपति शर्माले यो गीतमार्फत लुट्न प्रेरित गरेका थिएनन् । झट्ट सुन्दा त लाग्छ, सकेजति लुटौँ भनेर गायकले आह्वान गरिरहेका छन् । तर, यसको अन्तर्य फरक थियो। राजनीतिप्रतिको वितृष्णा बढेपछि, मुलुकको बेथिति र विसङ्गतिले दिक्क भएपछि एउटा सामान्य मान्छेमा पैदा हुने विद्रोहको आवाज थियो यो गीत । उनी गीतमार्फत ती विसङ्गतिमाथि कटाक्ष गरिरहेका थिए र सुधारका लागि आह्वान गरिरहेका थिए।
जसै गीत बजारमा आयो, चर्चा र विवाद दुवै भयो । गीतमा प्रयोग भएका केही दृश्य र शब्दप्रति राजनीतिक दलका कार्यकर्ताले कडा आपत्ति जनाए । उनलाई धम्कीसमेत दिइयो । अन्ततः बाध्य भएर शर्माले युट्युबबाट गीत नै हटाए।
दुई वर्षपछि बल्ल उनले उक्त गीत फेरि आफ्नो युट्युब च्यानलमा राखे।
रमाइलो कुरा भनिहालौँ, ‘लुट्न सके लुट’ गीतले यति धेरै चर्चा पाएपछि उनले यसको अर्को भाग पनि निकाले । तर, अर्को भागमा के छ ? त्यो चाहिँ उनकै च्यानलमा गएर हेर्नुहोला।
प्रतिक्रिया 4