News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको उखु अनुसन्धान सुदृढीकरण र चिनीमा आत्मनिर्भर बनाउने उद्देश्यले भारतबाट चार उन्नत जातका उखुका बिउ नेपाल ल्याइएको छ।
- काठमाडौंमा भारतीय दूतावासकी प्रथम सचिव निशाले नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई ती उन्नत जातका बिउ हस्तान्तरण गर्नुभयो।
- नार्कले दुई वर्षसम्म विभिन्न अनुसन्धान केन्द्रमा परीक्षणपछि उपयुक्त जात दर्ता गरेर किसानसम्म पुर्याउने योजना बनाएको छ।
२६ असोज, काठमाडौं । नेपालको उखु अनुसन्धान तथा विकास सुदृढीकरण गर्दै चिनी उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले भारतबाट उखुका चार उन्नत जात नेपाल ल्याइएको छ ।
सोमबार आयोजित एक औपचारिक कार्यक्रमबीच काठमाडौंस्थित भारतीय दूतावासकी प्रथम सचिव निशाले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई ती उन्नत जातका उखुका बिउ हस्तान्तरण गरिन् ।
नार्क अन्तर्गत बारा जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम र भारतीय कृषि अनुसन्धान परिषद् अन्तर्गत भारतीय उखु अनुसन्धान संस्थान (आईसीएएआर–आईएसआरआई) लखनउको सहकार्यमा यी जात नेपाल ल्याइएको हो ।
भारतबाट ल्याइएका यी नयाँ जातका उखुमा उत्पादन क्षमता र चिनीको मात्रा (सुक्रोज) उच्च रहेको पाइएको छ । अगौटे, मध्यम र पछौटे गरी फरक–फरक अवधिमा परिपक्व हुने यी सबै जात उखुमा लाग्ने भयानक ‘रातो सडन’ (रेड रट) रोग प्रतिरोधी समेत छन् ।
हस्तान्तरण गरिएका चार उन्नत जातमध्ये ‘सिओएलके १६२०२’ को उत्पादन क्षमता ९३.२ टन प्रतिहेक्टर र सुक्रोज (चिनीको मात्रा) १७.७ प्रतिशत छ । यो जात रातो सडन रोग प्रतिरोधी हुनुका साथै मध्य–ढिलो अवधिमा परिपक्व हुन्छ ।
त्यस्तै ८२.५ टन प्रतिहेक्टर उत्पादन क्षमता र १७.४ प्रतिशत सुक्रोज रहेको ‘सिओएलके १६४७०’ पनि रातो सडन रोग प्रतिरोधी र मध्य–ढिलो परिपक्व हुने जात हो ।
यसैगरी चाँडो परिपक्व हुने ‘सिओएस १७२३१’ जातको उत्पादन क्षमता ९१.५ टन प्रतिहेक्टर र चिनीको मात्रा १७.७ प्रतिशत छ । चाँडै पाक्ने अर्को जात ‘सिओएस १८२३१’ को उत्पादन क्षमता ९२.५ टन प्रतिहेक्टर र चिनीको मात्रा १८ प्रतिशत छ । यी सबै जात रातो सडन रोग लाग्नबाट सुरक्षित मानिने बताइएको छ ।
हाल नेपालमा करिब ५३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ, जसबाट वार्षिक करिब २७ लाख टन उखु उत्पादन हुने गरेको छ ।
उत्पादित उखुलाई सञ्चालनमा रहेका करिब एक दर्जन चिनी मिलमार्फत प्रशोधन गरी चिनी उत्पादन गरिन्छ । तर, नेपालमा उखुको औसत उत्पादकत्व करिब ५० टन प्रतिहेक्टर मात्र छ, जुन छिमेकी मुलुक भारतको औसत उत्पादकत्व (८२ टन प्रतिहेक्टर) को तुलनामा निकै कम हो ।
कम उत्पादकत्वकै कारण नेपालले आफ्नो कुल चिनी खपतको करिब ३० प्रतिशत माग पूर्ति गर्न बर्सेनि चिनी आयात गर्नुपर्ने अवस्था छ ।
नेपालको प्राकृतिक हावापानीमा उखुको प्रजनन सम्भव नभएको र यसका लागि ‘फाइटोट्रोन’ जस्तो वातावरण नियन्त्रित संरचना आवश्यक पर्ने भएकाले नार्कले भारतीय उखु अनुसन्धान संस्थानलाई उन्नत जात उपलब्ध गराउन अनुरोध गरेको थियो । सोही माग बमोजिम यी जात नेपाल ल्याइएको हो ।
भारतबाट ल्याइएका यी चार वटै उन्नत जातलाई राष्ट्रिय उखु अनुसन्धान कार्यक्रमले अब विभिन्न अनुसन्धान केन्द्रमा दुई वर्षसम्म बिउ उत्पादन र तुलनात्मक अध्ययन गर्ने छ ।
परीक्षणबाट उपयुक्त नतिजा आएपछि यी जातलाई औपचारिक रूपमा उन्मोचन तथा दर्ता गरिने छ । त्यसपछि बिउ वृद्धि गरी चिनी मिलहरूसँगको समन्वयमा किसानको खेतसम्म पुर्याइने योजना रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
यी उन्नत जात प्रवर्द्धनपछि गुणस्तरीय उखु उत्पादनमा वृद्धि भई किसानको आयआर्जन बढ्ने र चिनी मिलले पनि धेरै चिनी उत्पादन गर्न सक्नेछन् ।
यी जातको सफल विस्तारपछि उखु उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई नेपाल चिनीमा आत्मनिर्भर हुने विश्वास नार्कले लिएको छ ।
प्रतिक्रिया 4