News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयका अनुसार १० भदौको रसुवाको भोटेकोशी बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा छन्।
- गृहसचिव केदारनाथ शर्माले होल्डिङ सेन्टर ३७ बाट १७ मा घटाइएको र प्रभावितलाई ट्रान्जिसनल सेल्टरमा लैजाने तयारी भइरहेको बताए।
- शर्माका अनुसार बाढीमा मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा छ।
२६ असोज, काठमाडौं । १० भदौको रसुवाको भोटेकोशी बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ ।
मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृहसचिव केदारनाथ शर्माले यस्तो जानकारी दिएका हुन् ।
उनले बाढी प्रधावित नागरिकको लागि अस्थायी आवास निर्माणको कार्य भइरहेको उल्लेख गर्दै होल्डिङ सेन्टरमा रहेका नागरिकहरू पहिलो प्राथमिकतामा पर्ने बताए ।
उनले होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावित अधिकांश नागरिक भाडामा सरेसँगै होल्डिङ सेन्टरको संख्या ३७ बाट घटाएर १७ मा सिमित गरिएको पनि बताए ।
‘होल्डिङ सेन्टरहरू ३७ बाट १७ वटामा झारिएका छन् । अहिले पनि होल्डिङ सेन्टरमा १ हजार ५० जना हुनुहुन्छ । हामी ट्रान्जिसनल सेन्टर सेल्टरमा लैजाने तयारी गरेका छौं । ती एक हजार ५० जना पहिलो प्राथमिकता पाउनुहुन्छ । हामीले सँगसँगै पुन: स्थापनको काम पनि अघि बढाइसकेका छौं । असोजको ८ र ११ गते फेरि पाँच जिल्लामा प्रभावित भए । कालीगण्डकी कोरिडोर लगायतका जिल्लाहरूका २० वटा स्थानीय तहलाई फेरि संकटग्रस्त क्षेत्र घोषणा गर्यौं,’ उनले जानकारी दिँदै भने ।
उनले भदौ १० गते, असोज ८ र ११ गतेको विपद्बाट प्रभावित ३५ वटा स्थानीय तहलाई संकटगस्त क्षेत्र घोषणा गरिएको समेत बताए । उनले यही असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट चार स्थानीय तह प्रभावित भएको भन्दै ती स्थानीय तहलाई पनि संटकग्रस्तक्षेत्र घोषणा गर्ने र घरभाडाको व्यवस्था गर्ने विषयमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा छलफल भइरहेको बताए ।
गृहसचिव शर्माका अनुसार बाढीमा मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा छ ।
बाढीमा परी बेपत्ता भएका व्यक्तिलाई मृतकका रूपमा प्रमाणित गरेपछि मात्रै उक्त राहत वितरण प्रक्रिया अघि बढ्ने गृहसचिव शर्माले बताए ।
‘पहिले १५ र पछि २० वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुका साथै उहाँहरूलाई घरभाडा दिने कुरा पनि भइ नै हाल्यो । जसरी भोटेकोशी नदीमा हामीले गरेका थियौं, असोज ८ देखि ११ को सम्ममा पनि पछि फेरि २० वटा स्थानीय तहलाई तीन महिनाको लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्यौैं । सँगसँगै घरभाडाको निर्णय गर्यौं । र असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट पनि हामी प्रभावित भएका छौं । त्यसबाट चार वटा स्थानीय प्रभावित भएका छन् । ती स्थानीय तहलाई पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने र भाडाको व्यवस्था गर्ने कि भन्ने दृष्टिकोणले प्राधिकरणमा छलफल भइराखेको छ,’ उनले भने ।
प्रतिक्रिया 4