News Summary
Generated by OK AI. Editorially reviewed.- खत्याड गाउँपालिका–८ र ११ का स्थानीयले देउडा गीतमार्फत मुख्यमन्त्री मंगलबहादुर शाहीसँग पहिरोले अवरुद्ध सडक तत्काल खुलाउन माग गरेका छन्।
- असोज ११ गते नुवाखेतमा गएको ठूलो पहिरोले बाजुराको हिमाली गाउँपालिकाबाट गमगढी जोड्ने मुख्य सडक, नहर र झोलुङ्गे पुलमा क्षति पुर्याएको छ।
- मुख्यमन्त्री शाहीले क्षतिको विवरण संकलन गरी लागत अनुमान तयार पारेर काम अघि बढाउने र भूगर्भविद् ल्याएर अध्ययन गराउने बताएका छन्।
१० कात्तिक, मुगु (खत्याड) । मुगुको खत्याड गाउँपालिका वडा नम्बर ८ र ११ का स्थानीयवासी देउडा नाच्दै गीतमार्फत आफ्ना पीडा र माग सुनाइरहेका थिए । उनीहरूका बीचमा थिए कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही ।
स्थानीयले देउडा गीतमा मुख्यमन्त्रीलाई पनि नचाए । तर, उनीहरूको नाचगान मनोरञ्जनका लागि मात्र थिएन, वर्षौंदेखि विकासको पर्खाइमा रहेको खत्याडको आवाज सरकारसम्म पुर्याउने माध्यम थियो ।
देउडाको भाकामा स्थानीयले खत्याडको समग्र विकास गर्न र पहिरोले अवरुद्ध सडक तत्काल खुलाउन माग गरे । गीत र नाचमार्फत उनीहरूले आफ्ना समस्या मुख्यमन्त्रीसमक्ष राखे । सडक अवरुद्ध हुँदा भोग्नुपरेको सास्ती र विकासका लागि गर्नुपरेको प्रतीक्षालाई स्थानीयले सांस्कृतिक प्रस्तुतिमार्फत व्यक्त गरेका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही कात्तिक ९–१० गते पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि खत्याड पुगेका बेला स्थानीयले देउडामार्फत आफ्ना माग राखेका हुन् ।
मुगुको खत्याड गाउँपालिका–८ नुवाखेतमा असोज ११ गते ठूलो पहिरो खसेपछि कर्णाली राजमार्गअन्तर्गत बाजुराको हिमाली गाउँपालिकाबाट मुगु सदरमुकाम गमगढी जोड्ने मुख्य सडक अवरुद्ध छ ।
सुदूरपश्चिमबाट कर्णाली जोड्ने यो महत्त्वपूर्ण सडक बन्द हुँदा स्थानीयवासीको आवागमन प्रभावित भएको छ भने रारा ताल पुग्ने यात्रुलाई समेत समस्या भएको छ ।

सडक अवरुद्ध भएपछि स्थानीयवासी झन्डै एक किलोमिटर जोखिमपूर्ण पहाडी उकालो पैदल हिँडेर आवतजावत गर्न बाध्य छन् । पहिरोले सडकसँगै नहर र झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ । पहाड चिराचिरा परेर ठूलो पहिरो खसेपछि सडक कहिले खुल्छ भन्ने अनिश्चितताले स्थानीयलाई थप चिन्तित बनाएको छ ।
यही समस्यालाई स्थानीयले मुख्यमन्त्रीसमक्ष पुर्याउन देउडालाई माध्यम बनाए ।
स्थानीयको माग सुनेपछि मुख्यमन्त्री शाहीले पहिरोबाट भएको क्षतिको विवरण संकलन गरी लागत अनुमान तयार पारेर काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले भूगर्भविद् ल्याएर प्रभावित क्षेत्रको अध्ययन गराउने र पहिरोको समस्या समाधानका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।
प्रतिक्रिया 4